स्वास्थ्य मन्त्रालयले माग्यो बीपी स्वास्थ्य प्रतिष्ठानका पदाधिकारीसँग स्पष्टीकरण

स्वास्थ्य मन्त्रालयले बैठकमा उपस्थित नभएको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारसँग स्पष्टीरकण माग गरेको छ।

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीसँग २४ घण्टे स्पष्टीकरण मागेको छ। मन्त्रालयले डाकेको बैठकमा अनुपस्थित भएको भन्दै प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारसँग स्पष्टीकरण मागिएको हो।‍

मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. कृष्णप्रसाद पौडेलका अनुसार बीपी प्रतिष्ठानका निर्देशक र रजिस्ट्रारलाई विकास समस्या समाधान उपसमितिको बैठकमा किन उपस्थिति नभएको भन्दै स्पष्टीकरण सोधिएको हो। पुस १२ गते मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिको बैठक बसेको थियो। सो बैठकमा बीपी प्रतिष्ठानका पदाधिकारी उपस्थिति थिएनन्।

"मन्त्रालय स्तरीय विकास समस्या समाधान उपसमितिजस्तो महत्त्वपूर्ण बैठकमा के कति कारणले उपस्थित हुन नसकेको हो सो को स्पष्टीकरण पत्र प्राप्त भएको २४ घण्टाभित्र पठाउनुहुन यस मन्त्रालय सचिव स्तरको निर्णयअनुसार जानकारी गराइन्छ", पत्रमा भनिएको छ।

त्यस्तै, मन्त्रालयलेले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र महाराजगन्जका निर्देशकसँग स्पष्टीकरण माग गरेको छ। केन्द्रका निर्देशक पनि मन्त्रालयको सो बैठकमा उपस्थित भएका थिएनन्।