सशस्त्रभित्रको बेथिति बाहिर ल्याउँदा जेल परेका साहुले पाए सफाइ

सशस्त्र प्रहरीभित्रको अनियमितता सार्वजनिक गर्दा जेल परेका प्रहरी नरेशसिंह साहुले सफाइ पाएका छन्।

काठमाडौँ- दार्चुलाको महाकाली नगरपालिका–२ मुल्लामा रहेको सशस्त्र प्रहरीको ४४ नम्बर गणको रासन भत्ता प्रकरण मिडियामा ल्याउने प्रहरी हवलदार नरेशसिंह साहुले सफाइ पाएका छन्। उनले सशस्त्रको ४४ नम्बर गण मुख्यालयमा भएको रासन भत्ता सम्बन्धी अनियमितता बाहिर ल्याएका थिए। सोही प्रकरणमा उनलाई झुटा मुद्दा लगाई कारागार चलान गरिएको थियो।

गणभित्रको हाजिरी विवरण मात्र सार्वजनिक गरेका उनमाथि हातहतियार र गोलीगठ्ठासहितको विवरण अनधिकृत व्यक्तिलाई उपलब्ध गराइएको झुटो अभियोग लगाइएको थियो। सशस्त्रको उच्च अदालतबाट सफाइ पाएर नरेश साहु भोलि घर फर्किन लागेको उनका वकिलले जानकारी दिएका छन्।

के थियो घटना?
पर्वत दरबन्दी भएका साहुले घर व्यवहार मिलाउनुपर्ने भएकाले दार्चुलामा काज मिलाएका थिए। स्थानीय निर्वाचनको बेला नौगाड गाउँपालिकाका निर्वाचन अधिकृतको अंगरक्षक भएर खटिएका नरेशले त्यहाँ भेटिएका एक स्थानीय पत्रकारलाई सशस्त्र प्रहरीभित्रको बेथितिबारे जानकारी दिएको बताइन्छ। सशस्त्र प्रहरीभित्रको बेथिति उजागर भएपछि सुधार हुने आशा नरेशले पत्रकारलाई विवरण उपलब्ध गराएका थिए।

विश्वासमा उपलब्ध गराएको दैनिक हाजिरी विवरणबारे पत्रकारले नै सशस्त्र प्रहरीलाई सघाउ पुग्नेगरी लिखित बयान गरिदिएपछि नरेशका लागि यो प्रकरण प्रत्युत्पादक हुन पुगेको थियो।

घटना बाहिर पुगेपछि गत जेठ ३० गते नरेशलाई दार्चुलाबाट धनगढीको अत्तरियास्थित बाहिनी हुँदै सशस्त्रको हेडक्वार्टर हल्चोक पुर्‍याइ कारागार पठाइएको थियो।

नरेशका श्रीमती, एक छोरा र एक छोरी छन्। दाइको मृत्यु भएपछि तिनका ३ सन्तानको पालनपोषण पनि नरेशले नै गर्दै आएका थिए।