महान् फुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन

महान् फुटबलर पेलेको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको छ।

काठमाडौँ– महान् पूर्वफुटबलर पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ। ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा पेलेको निधन भएको हो। 

मिर्गौला र प्रोस्टेटको समस्याबाट पीडित पेलेको बिहीबार राति निधन भएको उनकी छोरी केली नासिमेन्टोले पुष्टि गरेकी छन्। पेलेले सन् २०२१ सेप्टेम्बरमा आफ्नो पेटबाट ट्युमर हटाउन शल्यक्रिया गरेका थिए। स्वास्थ्यमा समस्या भएपछि एक महिनाअघि उनलाई पु:न अस्पताल भर्ना गरिएको थियो। 

ब्राजिलका फरवार्ड पेलेले खेल जीवनमा एक हजार ३६३ खेलमा एक हजार २८१ गोल गरेर कीर्तिमान बनाएका छन्। जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

सन् १९५८, १९६२ र १९७० मा तीन पटक विश्वकप जित्ने एकमात्र खेलाडी पेले सन् २००० मा फिफाको प्लेयर अफ द सेन्चुरी घोषित भएका थिए।