फुटबलका अद्भूत खेलाडी एडसन अरेन्टेस डो नासिमेन्टो उर्फ पेलेको निधन भएको छ। खेललाई कलात्मक र रोमाञ्चक बनाउन सिपालु पेलेको निधनसँगै फुटबलको एउटा युगको पनि अन्त्य भएको छ।
यदि फुटबल खेल्नु कला हो भने उनीभन्दा ठूलो कलाकार संसारमा शायद अरू कोही छैनन्/हुँदैनन् होला। तीन विश्वकप उपाधि विजेता, ७८४ मान्यता प्राप्त गोल र विश्वभरका फुटबल समर्थकहरूका लागि प्रेरणाको स्रोत। उनको लोकप्रियता यस्तो थियो कि, सन् १९६० को दशकमा उनको खेल हेर्न नाइजेरिया भइरहेको गृहयुद्ध ४८ घण्टाको लागि रोकिएको थियो। उनी अर्थात् ब्राजिलका महान् फुटबलर एडसन अरेन्टेस डो नासिमेन्टो उर्फ पेले।
उनै पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको छ। छोरी केली नासिमेन्टोले सामाजिक सञ्जालमार्फत उनको निधन भएको जानकारी दिएकी हुन्। उनी पेटको क्यान्सरसँग जुधिरहेका थिए। उनलाई २९ नोभेम्बरमा साओ पाउलोको अल्बर्ट आइन्स्टाइन अस्पतालमा भर्ना गरिएको थियो। उनको केमोथेरापीमार्फत् उपचार गरिएको थियो। तर, उनको स्वास्थ्यमा कुनै सुधार आउन सकेको थिएन। त्यसपछि केमोथेरापी बन्द गरी उनलाई दुखाइ कम गर्ने औषधि दिइएको थियो। उनको मिर्गौला र मुटुमा पनि समस्या थियो।
पेलेकी छोरी केलीले इन्स्टाग्राममा लेखेकी छन्, “हामी जे छौँ, त्यो तपाईंको कारणले हो। हामी तपाईंलाई धेरै माया गर्छौं। तपाईंको आत्माले शान्ति पाओस्।” २५ डिसेम्बरमा परिवारले पेलेसँग अस्पतालमा क्रिसमस मनाएका थिए।
पेलेको जन्म अक्टोबर २३, १९४० मा ब्राजिलको सानो शहर मिनास गेराइसमा भएको थियो। उनी फुटबलको लोकप्रियतालाई चरम सीमामा पुर्याउने र यसको लागि ठूलो बजार सिर्जना गर्ने अग्रगामी थिए। उनका बुबा जाओअ रामोस (डोन्डिन्हो) क्लबस्तरका फुटबलर र आमा सेलेस्टे अरान्तेस गृहिणी थिइन्। आमाबाबुले उनको नाम राखेका थिए एडसन। यो नाम राख्नुको कारणबारे पेलेले आफ्नो संस्मरण ‘ह्वाइ सकर म्याटर्स’मा लेखेका छन्, “जब म जन्मिएँ, हाम्रो शहरमा बिजुलीको बल्ब आएको थियो। मेरा आमाबुवाले बल्बको बत्ती चलाउनुहुन्थ्यो, उहाँ छक्क पर्नुभयो। त्यसैले उहाँहरूले यसको निर्माता थोमस अल्भा एडिसनको सम्मानमा मेरो नाम राख्नुभयो। तर, एडिसनको हिज्जे गलत लेखेर।”
यसरी पेले आफ्नो नाम एडसन लेख्थे। पूरा नाम एडसन अरेन्टेस डो नासिमेन्टो। हुन् त ब्राजिलमा लम्बाचौडा नामहरू राख्ने प्रचलन छ। ब्राजिलमा सामान्यतः प्रत्येक व्यक्तिको एक या दुईवटा उपनामहरू हुन्छन्, जसद्वारा उनीहरूको परिवारका सदस्यले बोलाउँछन्।
एडसन अर्थात् पेलेलाई ‘डिको’ उपनाम पनि दिइएको थियो। पेलेका बाबुआमा, दाजुभाइ र उनलाई चिन्ने साथीहरूले डिकोको नामले बोलाउँथे। डिकोका बुबा आफैँ पनि फुटबल खेल्थे। तर, २५ वर्षको उमेरमा घुँडाको चोटका कारण उनको फुटबल करियर क्लबस्तरभन्दा अगाडि बढ्न सकेन। त्यसैले उनले छोरालाई फुटबलर बनाउने निधो गरे। उनको परिवार पछि साओ पाउलोको बउरू शहरमा बसाइँ सर्यो।
घरको आर्थिक अवस्था यति नाजुक थियो, पेलेलाई फुटबल एकेडेमीमा भर्ना गर्ने पैसासमेत उनका बुबासँग थिएन। त्यसैले उनका बुबाले पहिला पेलेलाई आफूले सिकेको सबै कुरा घरमै सिकाए। तर, आर्थिक अभाव कारण पेलेले मोजाको बल बनाएर खालि खुट्टाले खेल्न थालेका थिए। यति मात्र होइन, पेले स्थानीय चिया पसलमा वेटरको काम पनि गर्थे।
९/१० वर्षको उमेरमा पेलेले आफ्ना साथीहरूलाई अद्भूत कलाकौशल देखाउन थालिसकेका थिए। सानैदेखि पाएको फुटबल ज्ञानका कारण सडकमा पेलेको विशेषताको चर्चा हुन थाल्यो। उनमा यस्तो प्रतिभा थियो कि बललाई खुट्टा, घुँडा, छाती र टाउकोमा घुमाएर भुइँमा खस्न दिँदैनथे। सडकमा फुटबल खेलेको भन्दै उनलाई पटक-पटक गाली गरिन्थ्यो, कहिलेकाहीँ कुटाइँसमेत खान्थे।
कालान्तरमा उनी मैदान उत्रिँदा उनको खुट्टामा परेको बललाई कसैले खोस्न नसक्ने भए। त्यसैले उनको नयाँ नाम राखिएको थियो, गैसोलिना। उनी छिटो दौडन्थे। पेलेका अनुसार उनलाई पनि केही हदसम्म यो नाम मन परेको थियो। तर, उनको नाम पेले कसरी भयो? यस सम्बन्धमा धेरै प्रकारका दाबीहरू गरिन्छ। पेलेको अर्थ ‘गेलिक’ भाषामा ‘फुटबल’ हो भन्ने दाबी गरिन्छ।
तर, यो दाबीलाई सत्य मान्न सकिँदैन। गेलिक आयरल्याण्डको वरिपरिको भाषा हो र त्यसको कुनै पनि शब्द त्यस समयमा हजारौँ माइल टाढा रहेको ब्राजिलमा कसरी पुग्यो भन्ने ठोस आधार छैन। ‘पेले’ शब्द हिब्रु भाषामा पनि छ, जहाँ यसको अर्थ ‘चमत्कार’ हो। तर, त्योबेला प्यालेस्टाइन र इजरायलको कुनै पनि शब्द ब्राजिलमा पुग्न असम्भव थियो।
यस्तो अवस्थामा पेलेको नाम पेले कसरी भयो भन्ने प्रश्न उठ्ने गरेको छ। त्यसबेला ब्राजिलमा पोर्चुगिज भाषा प्रचलित थियो र यसमा पेले शब्दको कुनै अर्थ थिएन। तर, त्यसको बाबजुद १५ वर्षको उमेरमा ब्राजिलको चर्चित क्लब सेटन्समा आबद्ध हुँदा उनको नाम पेले राखियो। यसबाहेक उनलाई बिलेको उपनाम पनि दिइएको थियो।
पेलेले भनेका छन्, “पेले नाम कहाँबाट आएको हो भनेर कसैले पनि ठ्याक्कै भन्न सक्दैन। तर, मेरो काका जर्जले मलाई भनेको कुरामा विश्वास गर्न सकिन्छ।” जर्जका अनुसार बउरूको स्थानीय फुटबल टोलीका एक गोलकिपरको नाम बिले थियो, जुन क्लबबाट पेलेका बुबाले पनि खेलेका थिए। “बिले आफ्नो उत्कृष्ट गोलकिपिङका कारण निकै लोकप्रिय थिए।

“बाल्यकालमा पेलेले धेरै खेलमा गोलकिपरको भूमिका निर्वाह गर्नुपरेको थियो। उनी उत्कृष्ट डिफेन्स गर्थे। मानिसहरूले उनी अर्कै बिले हो भन्न थाले। त्यसैले मैले उनलाई बिले मान्न थाल्यो”, जर्ज भन्थे।
यो बिले केही समयमै पेलेमा परिणत हुन्छ भनेर कसैले अनुमान गरेका थिएनन्। तर, उनलाई यो नाम मन नै पर्दैन थियो। यो नामले बोलाउँदा उनी आफ्ना साथीहरूसँग झगडासमेत गर्थे। तर, छिमेकीले उनलाई पेलेको नामबाट चिन्थे। आधिकारिक रूपमा सान्तोस क्लबमा आएपछि मात्रै उनलाई पेलेको नामबाट बोलाउन शुरू गरियो। सान्तोसले १६ वर्षको उमेरमा सिर्जना गरेको ‘पेले ब्रान्ड’ करिब ६ दशकसम्म चम्किरह्यो।
उनले क्लब करिअरमा १२ सयभन्दा बढी गोल गरे। तर, फुटबलको सर्वोच्च निकाय फिफाले ७८४ गोलको मात्रै मान्यता दिएको छ। तर, पेलेका आलोचकहरू भन्छन्- उनले युरोपको कुनै पनि क्लबबाट खेलेनन्, यो उनका लागि फाइदाजनक साबित भयो।
पेले फुटबलमा हाम फ्याँक्दा अन्य धेरै ठूला र साना ब्राजिलियन खेलाडीहरू करियरको शिखरमा थिए। पेलेलाई विदेश जानबाट रोकिएको थियो। सान्तोस क्लबले रियल मड्रिड र एसी मिलानजस्ता क्लबलाई पेले सुम्पिन अस्वीकार गर्यो। त्यतिबेला खेलाडीले कहाँबाट खेल्ने? भन्ने निर्णय क्लबले नै गर्थ्यो। उनलाई ब्राजिलमै राख्न सरकारबाट दबाब पनि आएको थियो।
सन् १९६१ मा तत्कालीन राष्ट्रपति जानियो क्वाड्रोसले पेले ‘राष्ट्रिय सम्पत्ति भएको र बाहिर पठाउन नसकिने’ घोषणा गरे। सन् १९७५ मा पेले विदेशी क्लबको हिस्सा भए र न्यूयोर्क कोसमोस नामको टोलीबाट खेले। उनले ३७ खेलमा ६६ गोल गरे।
बुबाको आँशुले फुटबलर बनेका पेले
दोस्रो विश्वयुद्ध पछि सन् १९५० मा पहिलो पटक ब्राजिलमा विश्वकप आयोजना भएको थियो। पुरै देश फुटबलको रंगमा रंगिएको थियो। उक्त विश्वकमा १३ टोलीको सहभागिता थियो। जसमा ब्राजिलले उत्कृष्ट प्रदर्शन गरेको थियो। ब्राजिलले स्विडेन र स्पेनलाई क्रमशः ७-१ र ६-१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। अब ब्राजिललाई विश्वकप फुटबलको ट्रफी जित्नको लागि एक जित मात्र आवश्यक थियो।
फाइनलको दिन १६ जुलाई उनका बुबा डोन्डिन्होले रेडियोमा कमेन्टरी सुन्दै आफ्ना साथीहरूसँग पार्टी गर्ने निर्णय गर्ने तरखरमा थिए। त्यसैले उनले आफ्नो परिवारसहित करिब १५ जना साथीहरूलाई पनि बोलाएको थिए। विश्वकप फुटबलको फाइनलमा ब्राजिलले उरुग्वेलाई सजिलै हराउने आकलन गरिएको थियो। कोठामा बस्ने ठाउँ थिएन, त्यसैले पेले कमेन्टरी सुन्न बेला-बेलामा आउँथे र त्यसपछि फुटबल खेल्न बाहिर जान्थे।
उरुग्वेविरुद्ध गोल गर्दै ब्राजिलले शुरूआती अग्रता लिएको थियो। ब्राजिलको पहिलो गोलसँगै शहरमा आतिशबाजी शुरू भयो। तर, खेल सकिएपछि अन्ततः सम्पूर्ण ब्राजिलमा शोकको माहोल छायो। पेले दौडेर बुबाकहाँ पुगे। कोठामा पुगेपछि बुबा र उनका साथीहरू रोइरहेको देखे।
उनले सोधे- के भयो..?
मधुरो जवाफ आयो- ब्राजिल हार्यो।
विभिन्न प्रकारका अभावका बाबजुद पनि पेलेले यस्तो दुःख, निराशाको सामना यसअघि कहिल्यै गरेका थिएनन्। तालीको गर्जन, पटाका र रेडियोको चर्को आवाजले पराजयको सन्नाटा कतै हराएको देखिन्थ्यो। उनले पहिलो पटक आफ्नो बुबा रोएको देखेका थिए। के गर्ने उनले भेउ पाउन सकेनन्। उनले बुबालाई सम्हाल्न भनिदिए, “एक दिन म ब्राजिललाई विश्वकप जिताउनेछु।”
त्यो हार र शोकको क्षण पेले घरभित्र कतै बसेका थिए। उनलाई थाहा थिएन त्यो दिन ब्राजिलमा कतिले ज्यान गुमाए। त्यो दिन पेले पनि बेस्सरी रोए। बन्द कोठामा उनी बरबराउँदै थिए, “हामीसँग राम्रो टोली थियो, हामी कसरी हार्यौँ? यदि म त्यहाँ थिएँ भने ब्राजिलले हार्ने थिएन। मेरो बुबा खेल्दै हुनुहुन्थ्यो भने ब्राजिलले चाहिएको गोल गर्ने थियो।”
भनिन्छ, यदि मनबाट कसैले केही चाहन्छ भने त्यो पाउनबाट कसैले रोक्न सक्दैन। बुबाको त्यो आँशुले उनको जीवन परिवर्तन गर्यो। समय बित्दै गयो र ६ वर्ष मात्र लाग्यो उनलाई ब्राजिलको टोलीमा पुग्न। सन् १९५८ मा विश्वकपको समय पनि आयो। छोरा छनोट भएको खबर रेडियोमा बुबाले सुने। तर, पत्याउनै सकेनन्। उनले सान्तोस क्लबमा रहेका छोरालाई फोन गरेर भने, “मैले रेडियोमा तिम्रो नाम सुने नि।”
पेलेले भने हो, “तपाईंले सही सुन्नुभयो।” पेले १७ वर्षको उमेरमा विश्वकप खेल्नका लागि ब्राजिलियन टोलीमा छनोट भए। उनी पहिलो पटक युरोप जान २४ मे १९५८ मा विमानको सिँढी चढे। यो यात्राको बीचमा पेलेले फुटबल भनेको के हो?, ब्राजिलमा यसलाई किन पुजिन्छ? भन्ने बुझिसकेका थिए। उनलाई करिब ८ वर्षअगाडि बुबासँग गरेको वाचा पनि पूरा गर्नु थियो।
उनले त्यही सम्झेर शानदार खेल खेले र फाइनलमा स्विडेनलाई ५-२ ले पराजित गर्दै ब्राजिललाई विश्वकप जिताए। पेलेले फाइनलमा ब्राजिलका लागि दुई उत्कृष्ट गोल गरेका थिए। यसपछि पेलेले कहिल्यै पछाडि फर्केर हेरेनन्। त्यस दिन १७ वर्षीय पेलेलाई सारा संसारले चिनेको थियो र उनी चर्चामा थिए। ब्राजिललाई फुटबल विश्वकप च्याम्पियन बनाउन नेतृत्व गरेपछि पेले ब्राजिल फर्किए र विश्वकै महान् फुटबलर बन्ने चाहनामा दत्तचित्त भई अभ्यास गर्न थाले।
सन् १९६२ मा चिलीमा भएको विश्वकपमा ब्राजिलले सहभागिता जनाउँदा पेले २१ वर्ष पुगिसकेका थिए। मेक्सिकोविरुद्धको पहिलो खेलमा उनले उत्कृष्ट गोल गरेका थिए। तर, अर्को खेलमा चोट लागेपछि उनी प्रतियोगिताभर बेन्चमा बस्नुपर्यो। तर, गारिन्चाको उत्कृष्ट प्रदर्शनका कारण ब्राजिल उपाधि रक्षा गर्न सफल भयो। त्यसको चारवर्षपछि इंगल्यान्डमा भएको विश्वकपमा उनको प्रदर्शन सम्झनलायक रहेन र ब्राजिल समूह चरणबाटै बाहिरियो।
तर, सन् १९७० मा मेक्सिकोमा आयोजित विश्वकपमा उत्कृष्ट पुनरागमन गर्दै उनले आफ्नो टोलीलाई च्याम्पियन बनाए। इटालीविरुद्धको फाइनल खेलमा ४-१ को जित निकाल्दा पेलेले ब्राजिलको लागि शुरूआती गोल गरेका थिए। उनी तीन विश्वकप जित्ने पहिलो खेलाडी बने र यी सबै खेलमा १२ गोल गरे।
पहिलो विश्वव्यापी खेलकुद सुपरस्टारमध्ये एक पेलेको लोकप्रियता भौगोलिक सीमाले बाँधिएको थिएन। सन् १९६० को दशकमा पेलेको सान्तोस एफसी विश्वको सबैभन्दा प्रसिद्ध फुटबल क्लबहरू मध्ये एक थियो। यो टोलीले विश्वभर धेरै मैत्रीपूर्ण खेल खेल्ने गर्दथ्यो। यस्तै एउटा खेल ४ फेब्रुअरी १९६९ मा नाइजेरियाको युद्धग्रस्त क्षेत्रमा खेलिएको थियो। उक्त खेलमा सान्तोसले स्थानीय क्लब बेनिनी सिटीलाई २-१ ले पराजित गरेको थियो।
त्यतिबेला नाइजेरियामा रक्तपातपूर्ण गृहयुद्ध चलिरहेको थियो। इतिहासकार गुरमान गोर्चेका अनुसार ब्राजिलका खेलाडी र अधिकारीहरू सुरक्षाको बारेमा चिन्तित थिए, त्यसैले दुवै पक्षले युद्धविराम गर्ने निर्णय गरे। लागोस सिटी स्टेडियममा खेल हुने भएपछि सुरक्षाको लागि सैन्य अधिकारीहरू खटिएका थिए। उक्त खेलमा पेलेले सान्तोसका लागि दुई गोल गरे र खेल २-१ मा सकियो। खेल सकिएपछि स्टेडियममा उपस्थित दर्शकले ताली बजाएर खुशी व्यक्त गरेका थिए।
खेल चलिरहेको समयमा सरकार र बियाफ्रान सैनिकबीच कुनै झडप भएन, कसैलाई प्रहरीले पक्राउ गर्नुपरेन। खेल सकिएपछि सान्तोस क्लबका खेलाडीहरू नाइजेरियाबाट सुरक्षित रूपमा बिदा भए।
यो पेले र उनको सुन्दर खेलको नतिजा थियो। उक्त खेलले अस्थायी रूपमा विभिन्न पृष्ठभूमि र मानसिकताका मानिसहरूलाई एकताबद्ध गर्ने काम गर्यो र नाइजेरियाली जनतालाई इतिहासको डरलाग्दो क्षणमा पनि खुशीयाली मनाउने अवसर जुरायो।
यद्यपि, त्यसको केही दिनपछि नाइजेरियाली सरकार र बियाफ्रान सैनिकबीचको लडाइँ पुन: शुरू भयो।
यसको सत्यताको बारेमा अहिले पनि विभिन्न अड्कलबाजी गरिन्छ। सन् १९७७ मा प्रकाशित पेलेको पहिलो आत्मकथामा यसबारे केही लेखिएको थिएन।
तर, ३० वर्षपछि प्रकाशित अर्को आत्मकथामा उनले यो कुरा उल्लेख गरेका छन्। उनले लेखेका छन्, “मैत्रीपूर्ण खेलले गृहयुद्ध समाप्त हुनसक्छ भनेर खेलाडीहरूलाई भनिएको थियो। यो पूर्णतया सही हो या होइन भन्ने मलाई थाहा छैन। तर, नाइजेरियाले हामी त्यहाँ भएको समयमा कुनै घुसपैठ नभएको सुनिश्चित गर्यो।”
पेले, डिएगो म्याराडोना र अहिलेको लियोनेल मेस्सीमध्ये को महान् खेलाडी भन्ने बहस वर्षौंदेखि फुटबल जगतमा चलिरहेको छ। म्याराडोनाले दुई वर्षअघि विश्वलाई अलबिदा भनिसकेका छन्। उनकै देशका अर्का स्टार मेस्सीले दुई साताअघि विश्वकप जित्ने आफ्नो सपना पूरा गरेका छन्।
सन् २०२० मा बीबीसी स्पोर्ट्स पोलमा उनलाई सबैभन्दा महान् घोषणा गरिएको थियो। उनको निधनमा विश्वभरका फुटबलरहरूले आफ्नो प्रतिक्रिया दिएका छन्। यसै भर्खरै विश्वकप जितेका मेस्सीले पेलेसँगको आफ्नो तस्वीर सेयर गर्दै लेखेका छन्, “रेस्ट इन पिस, पेले।”
वर्तमान समयका अर्का उत्कृष्ट खेलाडी क्रिस्टियानो रोनाल्डोले लेखेका छन्, “पेले लाखौँ मानिसका लागि प्रेरणा बनेका छन्। उनको उदाहरण हिजो पनि दिइयो, आज पनि दिइन्छ र सधैँ दिइनेछ।”
नेयमारले लेखेका छन्, “पेले आउनुअघि १० केवल एक संख्या थियो, तर अब यो एक शीर्षकजस्तै बनेको छ। पेलेले फुटबलमा परिवर्तन ल्याएका छन्। उनले फुटबललाई कलात्मक र मनोरञ्जनात्मक बनाएका छन्। पेलेले गरिब अश्वेतलाई आवाज दिएका छन्। पेलेले बिदा लिएका हुनसक्छन्, तर उनले आफ्नो जादु संसारमा छोडेका छन्। पेले सधैँभरि बाँच्नेछन्।”
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
