राहदानी वितरण सहज बनाउन विज्ञको टोली गठन

विज्ञ टोलीले दिएको प्रतिवेदनका आधारमा सुधारका कदम चाल्ने गृह मन्त्रालयले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– गृह मन्त्रालयले राहदानी वितरण सहज बनाउन विज्ञ टोली गठन गरेको छ।

गृह मन्त्रालयले राहदानी, नागरिकता र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउन सूचना प्रविधिका विज्ञहरूको टोली गठन गरेको हो। 

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलका अनुसार टोलीले अध्ययन सुरु गरिसकेको छ। अध्ययन प्रतिवेदनका आधारमा मन्त्रालयले आवश्यक कदम चाल्ने उनको भनाइ छ।

गृहमन्त्री रवि लामिछानेले राहदानीलगायत महत्त्वपूर्ण परिचयपत्र वितरणलाई सहज बनाउने र लाइन लाग्नु पर्ने बाध्यता हटाउने बताएका थिए। उनले राहदानी भागमा अनुगमन समेत गरेका थिए।