माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव आएको छैन: जगन्नाथ खतिवडा

एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले अध्यक्ष नेपाललाई नेकपा एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताएका छन्।

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव कुनै पार्टीले नगरेको बताएका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले पार्टी अध्यक्ष नेपाललाई नेकपा एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको बताए। उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुचि पनि नरहेको स्पष्ट पारे।

उपमहासचिव खतिवडाले पार्टीको सबैभन्दा धेरै रुचि वाम एकतामा रहेको र अहिले पार्टी सुदृढीकरणमा जोड दिएको बताए। उनले पार्टी एकता हुने भन्ने हल्ला निराधार रहेको पनि बताए। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलोपटक प्रधानमन्त्री बन्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नदिएपछि गठबन्धनले अर्कै मोड लिएको उनको भनाइ छ।

उपमहासचिव खतिवडाले सरकारमा सहभागी बन्ने वा नबन्ने भन्नेबारेमा पार्टीको पोलिटब्युरोको बैठकसम्म छलफल पुग्ने बताए। स्थायी कमिटीको बैठक अहिले पनि पार्टी केन्द्रीय कार्यालयमा जारी रहेको छ।