प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हरेक दिन सुशासन र विकासको पक्षमा काम गर्दै जाने बताएका छन्। नारायणी नमुना मावि भरतपुरको हीरक महोत्सवलाई शनिबार चितवनमा सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता लिएको बताएका हुन्।
प्रधानमन्त्री दाहालले भने, “मैले बाँकी जीवन विकास र सुशासनका निम्ति समर्पित गर्ने भनेर भनेको छु।” आफू अहिले धेरै भाषण गर्ने मनस्थितिमा नरहेको उल्लेख गर्दै उनले भने, “यो कार्यकालमा मैले भाषण कम, काम धेरै र जनताको सेवा धेरै गरेर प्रस्तुत हुने प्रतिज्ञा गरेको छु।” अर्थतन्त्रमा देखिएको समस्यालाई पार लगाउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सुशासन, भ्रष्टाचार र बेथिति नियन्त्रण गर्नुपर्ने बताए।
उनले भने, “जनताले विभिन्न क्षेत्रमा पाइराखेका सास्तीलाई नियन्त्रण गर्ने, त्यो सास्तीबाट मुक्त हुने आवश्यकतालाई इङ्गित गरेर मैले निर्णय गरेको छु।” जनताका पिर मर्कालाई सम्बोधन गर्न कुनै पनि निर्णयमाथि कठोर कदम चलाएर राष्ट्रको पक्षमा नै जाने सङ्कल्प लिएको प्रधानमन्त्री दाहालको भनाइ थियो। राजधानीबाहिर पहिलो कार्यक्रम शिक्षा क्षेत्रको भएको जिकिर गर्दै उनले भने, “यस मञ्चबाट देशभरिका आम नेपाली जनतालाई सुशासन र समृद्धिको नयाँ युगको सूत्रपात गर्न हामी एक जुट होऔँ भनेर अपिल पनि गर्न चाहन्छु।”
शिक्षाको गुणस्तरले नै राष्ट्र र समाजमा आम नागरिकको जीवन पद्धति निर्धारण गर्ने प्रधानमन्त्री दाहालको भनाइ थियो। कुनै पनि राष्ट्रको सभ्यता र संस्कृतिको, अनुशासन र विकासको आधारशिला भनेको शिक्षा नै भएको भन्दै उनले थपे, “शिक्षाको गुणस्तरद्वारा नै एउटा अनुशासित र सत्य समाजको निर्माण गर्न सकिन्छ र विकासलाई पनि दिगो रूपमा अघि बढाउन सकिन्छ।” युगको आवश्यकताअनुसार हामीले रूपान्तरित गर्दै लानुपर्ने उनको भनाइ थियो।
स्वर्ण वर्षको कार्यक्रममा आफू उपस्थित भएको स्मरण गर्दै प्रधानमन्त्री दाहालले विद्यालयका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार लगायतका कुरामा आफ्नो ठाउँबाट सहयोग पुर्याउने बताए। कार्यक्रममा उनले विद्यालयमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तिलाई सम्मान गरेका थिए। सोही अवसरमा हीरकद्वार, हीरक स्तम्भको अनावरण, निर्माण गर्न लागिएको भवनको शिलान्यास, हीरक स्मारिकाको विमोचनसमेत उनले गरे।
कार्यक्रममा प्रधानाध्यापक पूर्णप्रसाद दवाडीले विद्यालयको प्रतिवेदन प्रस्तुत गरेका थिए। विसं २०२० जेठ ६ गते चार विद्यार्थी लिएर रात्रिकालीन रूपमा पठनपाठन शुरू गरिएको यस विद्यालयमा हाल तीन हजार पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्। हाल यहाँ कक्षा १ देखि १२ सम्म पढाइ हुँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
