पृथ्वी र पर्यावरण जोगाउन सादा जीवन

पुनः प्रयोग एक उत्कृष्ट अवधारणा हो। प्रकृतिप्रेमी अभियानका रूपमा विकसित देशमा समेत चलेको छ यो।

सुटकेसको पिँधमा दुई थान किम्ती पहिरन थन्किएर बसेको चार वर्ष नाघिसक्यो। हामी जोई–पोइका लागि ती कुनै 'साधारण' पहिरन होइनन्। बिहेमा मैले दुलाहाका रूपमा लगाएको ढाकाको दौरा–सुरुवाल र श्रीमतीले बेहुली बन्दा लगाएको गह्रुङ्गो सारी लगायतका पहिरन। बिहेको मण्डपमा एकचोटी मात्र लगाइएको यो पहिरन अन्य कुनै कार्यक्रममा लगाइएन। 'कामकाज, अन्य सभा–समारोहमा ढाकाको दौरा–सुरुवाल लगाएर जगत् हँसाउने' काम गर्नु भएन! श्रीमतीले पनि कहीँकतै त्यो 'घुम्ती'सहितको 'बेहुली सेट' लगाएको मेरो जानकारीमा छैन।

युवाहरू माझ निक्कै लोकप्रिय भारतीय र्‍यापर 'बादशाह'ले एक कुराकानीका क्रममा बडो रवाफका साथ भने– मसँग ३५० जोरभन्दा बढी जुत्ताको संकलन छ। अर्को समाचारअनुसार,भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीसँग एक सयभन्दा बढी मोटरसाइकलको संकलन छ। पैसावालाहरूका रवाफ र सोख पनि विचित्रका छन्। यिनीहरूकै खबर सुनेर या पढेर देखासिकी गर्नेहरू उत्तिकै होलान्। कतिपयले आदर्श मान्ने यस्ता सेलिब्रिटीका बहुलठ्ठी महत्त्वाकाङ्क्षाले भने प्रकृतिलाई सिधै मार परेको छ। 

'लिनियर इकोनोमी' र मनपरी उपभोग
उत्पादन र उपभोग शृङ्खलाको परम्परागत अवधारणा हो, सरल-रेखीय अर्थतन्त्र (लिनियर इकोनोमी)। यस अर्थतन्त्रका तीन चरण छन्। ’टेक, मेक एन्ड डिस्पोज’ अर्थात् प्रकृतिबाट कच्चा पदार्थ लिएर सामान बनाउने, निश्चित समय उपभोग गर्ने र फ्याँक्ने। प्रकृतिमा असीमित स्रोत छ र जति प्रयोग गर्दा पनि त्यो सकिँदैन भन्ने 'बुद्धु' सोच हो यो। तर, प्रकृतिमा हरेक कुरा सीमित छ। पानी, खनिज, जङ्गल, धातु, जीवाश्म–इन्धन (कोइला तथा पेट्रोलियम) लगायत सबै प्राकृतिक स्रोतहरू सीमित छन्। 

यस्तो उत्पादन र उपभोगको बेलगाम शृङ्खलाबाट पर्ने पर्यावरणीय क्षतितर्फ 'सरल रेखीय' अवधारणाले पूर्ण बेवास्ता गर्छ। सीमित प्राकृतिक भण्डारमाथि निरन्तरको दोहनले प्राकृतिक संसाधनको नवीकरणीय क्षमतामै ह्रास आइरहेको छ। शुरूमा दिएका तीनवटै उदाहरणहरू सरल रेखीय अर्थतन्त्रका हिस्सा हुन्। उल्लेखित बेहुला–बेहुलीको पोसाक, जुत्ता र मोटरसाइकलको प्राकृतिक आयुअनुसार पूर्ण क्षमतामा प्रयोग भएको छैन, प्रयोग हुने देखिन्नँ।

सर्कुलर इकोनोमी र थाङ्नो
उत्पादन र उपभोग शृङ्खलाको अर्को नवीनतम अवधारणा छ– चक्रीय अर्थतन्त्र (सर्कुलर इकोनोमी)। यस अवधारणाअनुसार कुनै पनि वस्तुको प्राकृतिक आयु रहँदासम्म त्यसको प्रयोग गरिरहनुपर्छ। यस अवधारणाले  मूलतः आर्थिक चक्रबाट सिर्जित पर्यावरणीय लागत न्यूनीकरणको वकालत गर्छ। सर्कुलर इकोनोमीका मूलतः तिन आयाम छन् : प्रयोग, पुनः प्रयोग र  पुनः प्रशोधन।

जस्तो कि– हामी सानो छँदा तीन भाइमध्ये जेठोको लुगा अलि साँघुरो भयो भने माइलोले लगाउने, माइलोको लुगा साँघुरो भयो भने कान्छोले लगाउने चलन थियो। यसरी एउटा पहिरन नफाट्दासम्म लगाइन्थ्यो। प्राय: सबैले त्यसै गर्थे। त्यसो हुँदा पुरानो लुगा निरन्तर लगाउँदा "इज्जत" जाने डर पनि थिएन। उपभोक्तावाद यो हदसम्म जागेको थिएन।देखासिकी कम थियो। फाटेर कपडा लगाउन अयोग्य नै भयो भने पनि त्यसबाट बिछ्याउने चकटी वा थाङ्नो बनाइन्थ्यो। दिगो प्रयोगको यो एउटा गतिलो उदाहरण थियो। 

मोबाइल फोन
अचेल हामी एउटा स्मार्ट फोनको प्राकृतिक आयु नसकिँदै अर्को खरिद गरिहाल्छौँ। ग्राहकको खल्तीमा पैसा छ, कम्पनीहरू नयाँ मोडेल र थप सुविधा सहितका स्मार्ट फोन पस्किएर हामीलाई लोभ्याइरहन्छन्। तर एउटा स्मार्ट फोनमा निओडिमियम, प्लास्टिक, स्टिल, कोबाल्ट, निकेल म्याग्निज मात्रै हुँदैन, डिस्प्रोसियम, प्रेसिओडियम, टर्बियमजस्ता दुर्लभ धातुहरू प्रयोग हुन्छन्। यी दुर्लभ धातुहरूको उत्खनन् र प्रशोधनमा ठूलो मात्रामा पर्यावरणीय लागत लाग्छ। खानी उत्खनन् गरेर यी धातुहरू निकालिएका हुन्छन्।

त्यसो हुँदा एउटै मात्र फोन प्रयोग गर्दा पनि हामी प्रकृति दोहनमा अप्रत्यक्ष रूपमा संलग्न भइरहेका हुन्छौँ। चक्रीय अर्थप्रणालीको अभ्यास गर्ने हो भने अत्यावश्यक नहुँदासम्म नयाँ स्मार्ट फोन खरिद नगरौँ। गर्नै परे पुरानोलाई पुनः प्रयोग हुने गरी ’एक्सचेन्ज सेन्टर’मा दिऔँ अथवा पुनः प्रशोधनको लागि रिसाइकल सेन्टरमा दिऔँ।

रिसाइकल (पुन: प्रयोग)
एउटा प्रयोजनको लागि निर्मित वस्तुको आंशिक उपभोग सकिएपछि त्यसको प्रयोग अन्यत्र पनि हुनसक्छ। जस्तो: पिउने पानीको प्लास्टिक बोतलको प्रयोग अन्य वस्तु भण्डारण गर्नसमेत उपयोगी हुन्छ। धाराको पानी घरसम्म लैजान या त्यही बोतल नफुटुन्जेलसम्म पानी भर्नकै लागि पनि प्रयोग गर्न सकियो। पुनः प्रयोग गर्ने मिल्ने वस्तुहरूको सूची अनगिन्ती छ।

प्रयोजन सकिएको कुनै वस्तु अर्को वस्तुका लागि कच्चा पदार्थ हुन सक्छ। धातु, प्लास्टिकजन्य वस्तु, कागज इत्यादिको ठूलो हिस्सा पुनः प्रशोधन (रिसाइकल) गर्ने ठाउँसम्म पुर्‍याउन सकियो भने प्रकृतिबाट हुने दोहन कम गर्न त्यसले सहयोग पुर्‍याइहाल्ने भयो। त्यसो हुँदा कच्चा पदार्थ निकाल्न र ढुवानीमा लाग्ने इन्धन ज्वलन पनि कम हुने भयो।

तर, सर्कुलर इकोनोमिका केही सीमाहरू पनि छन्। बारम्बार पुनः प्रयोग वा पुनः प्रशोधन गर्दा वस्तुको गुणस्तर घट्न सक्ने, औद्योगिक प्रतिष्ठानहरूको लागि पुनः प्रयोग हुने गरी वस्तु उत्पादन गर्ने संयन्त्र बनाउन र आफ्ना उत्पादनबाट सिर्जित वस्तुहरूको पुनः प्रशोधन गर्न महँगो पर्न सक्छ पनि भन्ने गरिन्छ। यसको लागि पर्यावरणीय पक्षलाई ध्यानमा राखी राज्य संयन्त्रबाटै पहल हुन जरुरी छ।

नेपालमा पनि बेलाबेला पेय पदार्थ, चाउचाउ र चिप्स निर्माण गर्ने कम्पनीहरूलाई ती उत्पादनका खोलहरू बजारबाट फिर्ता ल्याइ पुनः प्रयोग वा प्रशोधन गर्ने भन्ने समाचार सुनिन्छन् तर प्रगति भएको भने कतै देखिँदैन। प्लास्टिकजन्य प्रदूषण कम गर्नका प्लास्टिकका खोलजन्य सबैजसो पदार्थमा यस्ता खालका सिर्जनात्मक र अर्थपूर्ण अभियान अत्यन्तै जरुरी देखिन्छ। किनभने प्लास्टिकदेखि माइक्रो-प्लास्टिकहरू आजको पर्यावरणका चुनौती हुन्।

भाडाको कपडा र बरबरीको बर्बरता
शुरूमा दिएको दृष्टान्ततर्फ फर्कौं। बिहेमा १ दिनका लागि मात्र प्रयोग गर्ने कपडा पर्यावरणीय क्षति हो। यसको उत्पादन, ढुवानी, बिक्रीसम्म धेरै प्राकृतिक संसाधनहरूको प्रयोग हुन्छ तर प्रयोगचाहिँ एक दिन मात्र हुन्छ। आजभोलि यस्ता ’सिङ्गल युज’ कपडा भाडामा पनि पाइन थालेको छ। तर, अनावश्यक रूपमा भावुक हुँदै हामी 'भाडाको कपडा प्रयोग नगर्ने' भनिदिन्छौँ। गहनाको हकमा पनि त्यही कुरा लागू हुन्छ। तर, यो पृथ्वी र पर्यावरणको हित चाहने हो भने हामीहरू कम उपभोग र कम दोहनतर्फ जानै पर्छ। आजैबाट सादा जीवन अपनाउनेतर्फ लम्कनुपर्छ। 

बीबीसीको एक रिपोर्टअनुसार सन २०१८ मा बेलायती लक्जरी फेसन ब्रान्ड बरबरीले ३ करोड ६८ लाख अमेरिकन डलर बराबरको आफ्नो उत्पादन जलाएर नष्ट गरेको थियो। यी उत्पादनमा केही समस्या आएर जलाइएका भने होइनन्। ’फास्ट फेसन’ अन्तर्गतका यी वस्तु छोटो–छोटो समयमै नयाँ डिजाइनमा आइरहन्छन्। नयाँ डिजाइन आउनेबित्तिकै पुरानो वस्तु बजारबाट फिर्ता ल्याइन्छन् र नष्ट गरिन्छन्। यी बिलासी वस्तुको ’बिलासिता’ जोगाइराख्न यिनको मूल्य घटाएर बिक्रीसमेत गरिँदैन, बरु नष्ट गरिन्छन्। धेरै बिलासी वस्तु उत्पादक कम्पनीहरू यस्तो अभ्यास गरिरहेका हुन्छन्। पर्यावरणीय हिसाबले यो अपराध हो। तर, अनेकन् वातावरण अभियन्ताहरूको निरन्तरको दबाबले यस्ता अभ्यासमा सुधारका केही प्रयास पनि भएका छन्, हुँदै छन्।

त्यसो हुँदा औद्योगिक र व्यापारिक स्तरमा सर्कुलर इकोनोमीको अभ्यास हुनु अपरिहार्य छ भने व्यक्तिगत स्तरमा पनि यस्ता अभ्यास अत्यावश्यक भइसकेको छ। नेपालमा विभिन्न ठाउँमा कपडा बैंकको अवधारणा आए। आफूसँग बढी भएको र  प्रयोगमा नआएका कपडाहरू कपडा बैंकको मध्यस्थताबाट विपन्न समुदायमा वितरण गर्ने जमर्कोहरू भए। यसमा कपडा दिने र लिनेको बीचमा सिधा सम्पर्क हुँदैनथ्यो। पुराना सामानको खरिदबिक्री गर्ने अभ्यास अनलाइनमार्फत हुने गरेको छ। यो राम्रो अभ्यास हो। 

खोसेको रोटी र सादा जीवन
तर, पनि पुराना र प्रयोग भइसकेको सामानप्रति आमरूपमा सम्मान छैन। किनकि हामी पर्‍यौँ गोपाल योन्जनको खोसेको रोटीले मेरो पेट भरिन्न! मागेको धोतीले मेरो लाज छोपिन्न गीत सुनेको पुस्ता! उहिले साहु महाजन र मुखियाले आफ्ना सेवकहरूलाई पुराना र झुत्रा कपडा कृपास्वरूप दिने गर्थे। त्यो विशुद्ध ’जडौरी’ प्रथा थियो। यो प्रसंगमा गोपाल योन्जनको सो गीत सान्दर्भिक थियो। तर, मानिसले कपडा बैंकको अवधारणालाई समेत पनि अपमानजनक ठाने। ’जडौरी बहिस्कार’सम्म भनिदिए। तर, पुनः प्रयोग एक उत्कृष्ट अवधारणा हो। प्रकृतिप्रेमी अभियानका रूपमा विकसित देशमा समेत चलेको छ यो।

हामीले दैनिक डस्टबिनमा राखेर नगरपालिकाको फोहोर उठाउने गाडीमा हुत्त्याउने सामानहरू फलाम, तामा, जस्ता, धातु, प्लास्टिक, बोतल, कागज, प्लास्टिक, झोला, पुराना लुगा, जुत्तामध्ये कति प्रतिशत सामानहरू पुन:प्रयोगयोग्य होलान्, त्यसमा घोत्लिऊँ। व्यक्तिगत स्तरमा पनि कसरी हामी सर्कुलर इकोनोमीको हिस्सा बन्न सक्छौँ, एकपटक आत्ममन्थन गरौँ। 

त्यसो हुँदा 'सक्ने र हुनेले कुस्त लगाउने हो' भन्ने जडाउरी चिन्तनबाट मुक्त होऊँ। पृथ्वीको भण्डार सकिँदै जाँदा यस्तो दिन नआओस् कि भोलिका दिनमा हुनेहरूका दरसन्तानले पनि प्रकृतिका स्रोतसाधन प्रयोग गर्न नपाउने दिन आउन सक्छ। अतः दोहनको यो "हाँडी घोप्टे" अभ्यासले अहिले नै पृथ्वी बिरामी परिसकिन्। पर्यावरणीय संकटमा मान्छेको कहालीलाग्दो उपभोग जिम्मेवार छ। यसो हुँदा बिरामी पृथ्वीलाई 'मरण'बाट जोगाउन पनि हामीले सादा जीवन जिउने अभ्यास गर्नुपर्छ। आजैबाट।


व्यवस्थापनमा स्नातकोत्तर आचार्य दाङमा रहेर उद्यम गर्छन्।