अमेरिकी कंग्रेसद्वारा ९ अर्ब डलर विदेशी सहायता कटौती अनुमोदन

यस कटौतीले खासगरी रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशका लागि तय भएका कार्यक्रम प्रभावित भएका छन्।

तस्वीर: द न्युयोर्क टाइम्स

अमेरिकी रिपब्लिकनले राष्ट्रपति डोनाल्ड ट्रम्पको विदेशी सहायता र सार्वजनिक प्रसारणका लागि ९ अर्ब डलर कोष रद्द गर्ने योजनालाई अनुमोदन गरेका छन्। संघीय बजेट कटौती गर्न कंग्रेसले गरेको व्यापक प्रयासको शुरूआतका रूपमा यसलाई लिइएको छ। 

भर्खरै अमेरिकी ऋणमा ३० खर्ब डलरभन्दा बढी थप्ने अपेक्षा गरिएको घरेलु नीति विधेयक पारित गरेका रिपब्लिकनले यो मतदानले बेलगाम खर्चलाई नियन्त्रण गर्ने ट्रम्पको चुनावी प्रचार प्रतिज्ञालाई सम्मान गरेको बताएका छन्।

“राष्ट्रपति ट्रम्प र सदनका रिपब्लिकनले वित्तीय जिम्मेवारी र सरकारी दक्षताको प्रतिज्ञा गरेका थिए,” सभामुख माइक जोन्सनले मतदानपछि भने, “आज, हामी फेरि एक पटक त्यो प्रतिज्ञा पूरा गर्दैछौँ।”

कंग्रेसका दुवै सदन रिपब्लिकन–नियन्त्रित छन्। हाउस अफ रिप्रेजेन्टेटिभ्समा मध्यरातमा भएको मतदानले योजना अनुमोदन गरेको थियो। 

कटौतीले खासगरी रोग, युद्ध र प्राकृतिक प्रकोपले प्रभावित देशका लागि तय भएका कार्यक्रम प्रभावित भएका छन्। यो कदमले आगामी दुई वर्षमा कर्पोरेसन फर पब्लिक ब्रोडकास्टिङले प्राप्त गर्ने भनिएको १ अर्ब १० करोड डलर पनि खारेज गर्छ।

कन्जर्भेटिभहरूले प्रायः एक हजार ५०० भन्दा बढी स्थानीय सार्वजनिक रेडियो र टिभी स्टेसनका साथै सार्वजनिक प्रसारणकर्ता एनपीआर र पीबीएसमा जाने कोष अनावश्यक भएको र पक्षपातपूर्ण कभरेजलाई वित्त पोषित गरेको बताएका छन्।(रासस/एएफपी)