तेस्रो मुलुक निर्यात हुन थाल्यो नेपाली गलैँचा

संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा गलैँचा निर्यात हुन थालेको हो। उद्योगले यसअघि भारतमा मात्रै आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो।

वीरगन्ज– बारा–पर्सा औद्योगिक कोरिडोरमा अवस्थित  प्रेस्टिज कार्पेट इन्डस्ट्रिजले आफ्ना उत्पादन तेस्रो मुलुक निर्यात गर्न थालेको छ। इन्डस्ट्रिजले बिहीबार ३० हजार वर्गमिटर गलैँचा सुक्खा बन्दरगाहबाट निर्यात गरेको हो। 

इन्डस्ट्रिजका युनाइटेड सञ्चालक अमन साहका अनुसार संयुक्त अरब इमिरेट्स, अफ्रिकी मुलुक केन्या र संयुक्त राज्य अमेरिकालगायत मुलुकमा गलैँचा निर्यात हुन थालेको हो। उद्योगले यसअघि भारतमा मात्रै आफ्ना उत्पादन निर्यात गर्दै आएको थियो।

“करिब १ करोड रुपैयाँ बराबरको गलैँचा सुक्खा बन्दरगाहबाट तेस्रो मुलुक निर्यात गरिएको छ,” लामो प्रयासपछि यो सम्भव भएको हो,” उनले भने।

जितपुर–सिमरा उपमहानगर–२३ मा रहेको उक्त उद्योगले १०० जनालाई रोजगारी दिएको छ। उद्योगको  वार्षिक २० लाख वर्गमिटर उत्पादन गर्ने क्षमता छ। उद्योगका अनुसार प्रतिवर्गमिटर मिटर ९०० रुपैयाँदेखि ४ हजार रुपैयाँसम्मका गलैँचा उत्पादन हुने गरेको छ। विगत पाँचवर्षदेखि सञ्चालनमा रहेको उद्योगमा ४० करोड रुपैयाँ लगानी भएको छ।

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गरी पुनः विदेश निर्यात गर्नु खुशीको कुरा भएको बताए।