नवनियुक्त मन्त्री न्यौपानेले लिइन् शपथ

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मंगलबार संघीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएकी छन्। राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उनलाई शपथ दिलाएका हुन्।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रियसभा सदस्य न्यौपानेलाई मंगलबार संघीय मामिला मन्त्रीमा नियुक्त गरेका थिए।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिहरू, सुरक्षा निकायका प्रमुख, संवैधानिक निकायका प्रमुख, मुख्यसचिव, राजनीतिक दलका नेता तथा कार्यकर्तालगायत सरिक थिए। 

यसअघि उनी नेकपा (एमाले)का तर्फबाट राष्ट्रियसभामा सचेतकको भूमिकामा थिइन्। एमालेको केन्द्रीय सदस्यसमेत रहेकी नवनियुक्त मन्त्री न्यौपानेले आजै सिंहदरबार पुगेर पद वहाली गर्ने कार्यक्रम छ।

एमालेकै प्रतिनिधिसभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला मन्त्री थिए। ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएपछि उनको ठाउँमा न्याैपानेलाई ल्याइएको हो।