सन् २०२२ मा रुसले युक्रेनमाथि गरेको आक्रमणदेखि विश्वकप फुटबलसम्मले खुबै चर्चा पाए। बेलायतको राजनीतिक उतारचढाव पनि रोचक रह्यो।
सन् २०२२ मा विश्व राजनीति र विविध क्षेत्रमा थुप्रै महत्त्वपूर्ण घटनाहरूले चर्चा पाए। वर्षको शुरूआतमै रुसले युक्रेनमाथि गरेको आक्रमणले सर्वत्र चर्चा पायो। रुस-युक्रेन युद्धको प्रभाव अहिले अर्थतन्त्रमा देखिएको छ। यो वर्ष कतारमा सम्पन्न विश्वकप २०२२ले पनि खुबै चर्चा पायो। सर्वाधिक महँगो विश्वकप पनि बन्यो। त्यस्तै, पाकिस्तानमा बाढी पहिलो, अफगानिस्तानमा तालिबान सरकारले महिलामाथि लगाएका प्रतिबन्ध लगायतका घटनाले विश्वको ध्यान तान्यो। हेरौँ यस्तै विश्वमा सन् २०२२ मा चर्चामा रहेका २२ घटना:
१. रुस–युक्रेन युद्ध
रुसले यस वर्षको फेब्रुअरी २४ का दिन युक्रेनमाथि आक्रमण गर्यो। छोटो समयमै रुसले युक्रेनमाथि कब्जा गर्ने अड्कल गरिए पनि दुई देशबीचको युद्ध अहिलेसम्म जारी छ।
युक्रेन युरोपियन युनियन र उत्तर एट्लान्टिक सन्धि संगठन नेटोको सदस्यता लिन चाहेको विषय रुसको टाउको दुखाइ बन्दै आएको थियो। युक्रेनले अमेरिका र इयूसँग सम्बन्ध बढाएको रुसलाई मन परिरहेको थिएन। दुवै देशबीचको आरोप–प्रत्यारोप चलिरहेकै बेला युक्रेनले नेटो सेना सीमा क्षेत्रमा तैनाथ गराएको, अमेरिकासँग मिलेर रुसविरोधी गतिविधि गरेको, युरोपेली युनियनमा जान चाहेको लगायतका कारण देखाएर रुसले एकाएक युक्रेनमाथि आक्रमण गरेको थियो। रुसले युक्रेनलाई निःशस्त्रीकरण गर्ने र नाजीको चङ्गुलबाट मुक्त गराउने बताउँदै आएको छ।
युद्धका क्रममा १३ हजार सैनिक मारिएको युक्रेनी तथ्यांक छ। त्यस्तै, उसले युद्धमा रुसका १ लाख सैनिक मारिएको दाबी गरेको छ। यस्तै, रुसले युक्रेनी भू-भाग खेर्सन, जापोरिजिया, लुहान्स्क र दोनेत्स्क आफ्नो भूमिमा गाभेको छ।
युद्धका क्रममा रुसले युद्ध अपराध गरेको भन्दै युक्रेनले निष्पक्ष छानबिन गर्न माग गरेको छ। यस्तै, अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघ-संस्थाले सम्भावित युद्ध अपराधबारे अनुसन्धानका लागि वातावरण बनाउन रुससमक्ष आग्रह गरेका छन्। रुसले युद्ध अपराध नगरेको दाबी गर्दै आएको छ।

रुस-युक्रेन युद्धकै सन्दर्भको कुरा गर्दा टर्की र राष्ट्रसंघको मध्यस्थतामा रुस र युक्रेनबीच भएको खाद्य निर्यात सम्झौता, युक्रेन युद्धमा भारत र चीनको मौनता, रुसमाथि युरोपियन युनियन र अमेरिकाको प्रतिबन्ध, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको अमेरिका भ्रमण, युक्रेनी प्रथम महिलाले बेलायती संसद्मा गरेको सम्बोधनजस्ता विषय यस वर्षभर चर्चामा रहे।
यता, रुसले भने पछिल्लो समय युक्रेनसँग सम्झौता गर्ने मनसाय गरेको थियो तर अमेरिकी संसद्मा पुगेर युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुससामु आत्मसमर्पण नगर्ने वाचासमेत गरेका थिए। राष्ट्रपति जेलेन्स्कीको अमेरिका भ्रमण र बाइडेनसँगको वार्ता महत्त्वपूर्ण उपलब्धि समेत बन्यो। अमेरिकाले युक्रेनलाई अर्बौँ डलर बराबरको सैन्य तथा मानवीय सहायता गर्ने प्रतिबद्धता जनाएको छ।
२. विश्वव्यापी आर्थिक तथा मानवीय संकट
रुस–युक्रेन युद्धका कारण विश्वव्यापी प्रभाव परेको छ। कोरोना महामारीको प्रभावका कारण शिथिल बनेको विश्व अर्थतन्त्र रुस–युक्रेन युद्धले यस वर्ष थप संकटमा पर्यो। रुस र युक्रेनबाट खाद्यान्न निर्यात नहुँदा विश्वभर नै महँगी चुलियो भने इन्धन र आर्थिक संकट निम्तियो।
सन् २०२१ मा ४.७ प्रतिशतबाट बढेर विश्वको मुद्रास्फीति सन् २०२२ मा ८.८ प्रतिशत पुग्ने प्रक्षेपण भएको थियो। सन् २०२२ मा युक्रेनी अर्थतन्त्रमा ४५ प्रतिशत र रुसी अर्थतन्त्रमा ११.२ प्रतिशतले गिरावट आउने विश्व बैंकको प्रक्षेपण थियो। यस्तै, युद्धका कारण यस वर्ष विश्वको अर्थतन्त्र ३५ प्रतिशतले खुम्चिने पनि विश्व बैंकको तथ्यांक छ।
रुस–युक्रेन युद्धले आर्थिकका साथै मानवीय संकटसमेत निम्त्याएको छ। यसले विश्वभर शरणार्थी समस्यासमेत बढाएको छ। हालसम्म विश्वभर ३ करोड २० लाख मानिस शरणार्थीका रूपमा रहेको राष्ट्रसंघको तथ्यांक छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय (युएनएचसीआर)ले सन् २०२२ मा विश्वका एक करोड मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ। द्वन्द्व, विपत्ति र जलवायु संकटका कारण विश्वका एक करोड मानिस विस्थापित भएका छन्।
युक्रेन, इथियोपिया, बुर्किना फासो, सिरिया र म्यान्मारलगायत विश्वका धेरै भागहरूमा हिंसा, गरिबी र लामो द्वन्द्वका कारण विस्थापित भएका हुन्। रुसले युक्रेनमाथि आक्रमण गरेपछि युरोपभर ७८ लाखभन्दा बढी युक्रेनी शरण लिन पुगेको संयुक्त राष्ट्रसंघीय शरणार्थी निकायको तथ्यांकले देखाएको छ।
३. इरानी हिजाब आन्दोलन
इरानको कुर्दिस क्षेत्रको साकेज गाउँकी २२ वर्षीया महसा अमिनीको प्रहरी हिरासतमै मृत्यु भएपछि इरानभर चर्कियो। महिला नेतृत्वको इरानी सरकारविरोधी बृहत् आन्दोलनले विश्वकै ध्यान खिच्यो। महिलाले कपाल छोप्न प्रयोग गर्ने वस्त्र हिजाब राम्रोसँग नलगाएको भन्दै त्यहाँको प्रहरीले अमिनीलाई हिरासतमा लिएको ३ दिनपछि उनको मृत्यु भएको थियो।
प्रहरीको कुटपिटले उनको मृत्यु भएको परिवारले दाबी गरेपछि इरान सरकारले त्यसको खण्डन गर्दै आएको छ। अमिनीको मृत्युपछि महिलाहरूले आफ्नो स्वतन्त्रता र पहिरनमाथि अकुंश लगाएको र यो सह्य नभएको भन्दै सरकारविरोधी नारा चर्काएका थिए। हिजाब हाम्रो संस्कार होइन, महिला अधिकार रक्षा गर, महिला जीवन र स्वतन्त्रता भन्दै नाराबाजी गरेका थिए। आन्दोलनको समर्थनमा विश्वका धेरै देशमा प्रदर्शनसमेत भएका थिए। तर, इरानले आन्दोलन रोक्न सुरक्षाकर्मी खटाएर हस्तक्षेप गरेपछि आन्दोलन हिंसात्मक बनेको थियो।

इरान सरकारले विदेशी शक्तिको आडमा आन्दोलन भइरहेको दाबी गर्दै आएको छ। आफ्नो देशमा आन्दोलन चर्किनुलाई इरानी नेतृत्वले विशेष गरी अमेरिकालाई दोष दिने गरेको छ।
आन्दोलनका क्रममा ६३ बालबालिका, २९ महिलासहित कूल ४५८ जनाको मृत्यु भएको नर्वेस्थित मानवअधिकारवादी संस्था इरान ह्युमन राइट्सको तथ्यांक छ। सिस्तान, बलुचिस्तान, कुर्दिस्तान, पश्चिमी अजरबैजान, तेहरान, माजान्दारन र केरमान्शाह प्रान्तमा धेरै जनाले ज्यान गुमाएको स्थानीय गैर सरकारी संस्थाहरूको तथ्यांक छ। यस्तै, प्रदर्शनका क्रममा साढे १८ हजारभन्दा बढी प्रदर्शनकारी पक्राउ परेको बताइएको छ।
सरकारले प्रदर्शनकारीविरुद्ध मुद्दा चलाउँदै जेल सजाय र मृत्युदण्डको सजाय सुनाइरहेको छ। हालसम्म २ जनालाई मृत्युदण्ड पाएका छन् भने ११ जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ। मानवअधिकारवादी संस्थाहरूले इरान सरकारले नागरिकमाथि ज्यादती र दमन गरेकाले उसमाथि प्रतिबन्ध लगाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्दै आएका छन्।
इरानी महिलाहरूले आफ्नो अधिकार र स्वतन्त्रताको पक्षमा सरकारविरोधी बृहत् आन्दोलन गरेको इरानी इतिहासमै सम्भवतः पहिलोपटक हो।
४.श्रीलंकामा आर्थिक संकट र आन्दोलन
यो वर्ष आर्थिक संकट चुलिएपछि श्रीलंकामा व्यापक प्रदर्शन भयो। जसका कारण प्रधानमन्त्री महिन्द्रा राजापक्ष देश छोडेर भाग्नुपर्यो। इन्धन तथा खाद्यान्न अभावको सामनापछि जनता सडकमा उत्रिएका थिए। जसका कारणले यहाँ राजनीतिक संकट देखिएको थियो। देशमा चुलिएको आर्थिक संकट सरकारले समाधान गर्न नसकेपछि जनता सडकमा उत्रिएका थिए। जसका कारण कैयौँ ठाउँमा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएका थिए। प्रदर्शनकारीले श्रीलंकाका प्रधानमन्त्री र राष्ट्रपति भवनमा पसेर विध्वंस मच्चाएका थिए। देशव्यापी चलेको आन्दोलनको दबाबका कारण असुरक्षित महसुस गर्दै तत्कालीन प्रधानमन्त्री राजपाक्ष र राष्ट्रपति गोतबाय राजपाक्ष पदबाट बाहिरिएका थिए।
विदेशी मुद्राको सञ्चिती कम हुँदा श्रीलंकाको स्वदेशी मुद्राको मूल्यमा समेत गिरावट आएको थियो, जसका कारण वस्तु खरिदमा समस्या उत्पन्न भएको थियो। श्रीलंकामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धन लगायतका वस्तु खरिदमा समस्या भएको थियो। राजापाक्ष परिवारले भ्रष्टाचार गरी विदेशमा सम्पत्ति जोडेको उनीहरूको आरोप थियो। रनिल विक्रमासिंघे श्रीलंकाको प्रधानमन्त्रीमा नियुक्त भएपछि आन्दोलन मथर भएको थियो। अहिले श्रीलंका लयमा फर्किने क्रममा छ।
५. पाकिस्तानको बाढी, आर्थिक संकट र जलवायु परिवर्तनका असर
यस वर्ष पाकिस्तानमा जुनदेखि अक्टोबरसम्म आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति गरेको विषयले विश्वको ध्यानाकर्षण गर्यो। बाढीका कारण त्यहाँ अगस्टमा सरकारले स्वास्थ्य संकटको घोषणा गरेको थियो। जलवायु परिवर्तनको गम्भीर परिणामका रूपमा पाकिस्तानको बाढीलाई लिइएको छ।
बाढीका कारण लाखौँ मानिस विस्थापित र प्रभावित भए। बाढीका कारण १७ सयभन्दा बढीले ज्यान गुमाए। अधिकांश खेतीयोग्य जमिन नष्ट भए ठूलो क्षेत्र शहर डुबानमा पर्यो। बाढीका कारण ३० अर्ब डलर बराबरको भौतिक क्षति भएको विश्व बैंकको तथ्यांक छ।
बाढीले गर्दा हजारौँ घरमा क्षति पुग्यो। यस्तै, जनस्वास्थ्य सुविधा, खानेपानी प्रणाली र विद्यालयमा क्षति पुग्यो। बाढीले क्षति पुर्याएका संरचना पुनर्निर्माणका लागि मात्रै महिनौँ लाग्ने र १६ अर्ब डलर खर्च लाग्ने विश्व बैंकको अनुमान छ।
पन्जाब, बलोचिस्तान, खिबेर, पाक्तुनखाबा लगायतका क्षेत्रमा बाढीले क्षति पुर्याएको थियो। बाढीका कारण करिब १ करोड ५० लाख मानिस प्रभावित भएको राष्ट्रसंघको तथ्यांक छ। जसमध्ये १ करोड बालबालिकालाई जीवनरक्षक सहयोगको खाँचो परेको युनिसेफले जनाएको छ। यस्तै, बाढीले हानि नोक्सानी गर्दा ९० लाख मानिस आर्थिक संकटको चपेटामा परेको तथ्यांक छ।
६. बेलायती महारानीको निधन/बेलायतमा एशियाली मूलको पहिलो प्रधानमन्त्री सुनक
यसै वर्ष सेप्टेम्बर ८ मा बेलायती महारानी एलिजाबेथ द्वितियाको निधनले धेरैलाई स्तब्ध बनायो। उनको बालमोरिल राजदरबारमा ९६ वर्षको उमेरमा निधन भएको हो। बेलायतको इतिहासमा सबैभन्दा बढी समय शासन गर्ने महारानीको कीर्तिमान बनाएकी एलिजाबेथले ७० वर्ष २१४ दिन शासन गरेकी थिइन्। सन् १९५२ फेब्रुअरी ६ देखि २०२२ सेप्टेम्बर ८ सम्म बेलायतको महारानीका रूपमा सेवा गरेकी थिइन्। उनीपछि उनका छोरा अधिराजकुमार चार्ल्स तृतीय स्वतः बेलायतका राजा बनेका थिए।

यति मात्र नभएर यस वर्ष बेलायती राजनीतिमा थुप्रै महत्त्वपूर्ण घटना घटे। यसै वर्ष नेतृ लिज ट्रस सबैभन्दा कम समय बेलायती प्रधानमन्त्री बनिन्। ४७ वर्षीया ट्रसले प्रधानमन्त्रीको शपथ लिएको सात सातापछि पदबाट राजीनामा दिन बाध्य भइन्। त्यसपछि बेलायतले ऋषि सुनकलाई भारतीय मूलको पहिलो बेलायती प्रधानमन्त्रीका रूपमा पायो। अक्टोबर २५ मा बेलायती प्रधानमन्त्री बनेका सुनकको परिवार, आर्थिक पृष्ठभूमि र दाम्पत्य जीवन पनि यस वर्ष चर्चाको विषय बन्यो।
७.नेपालमा स्थानीय, प्रदेश र संघीय चुनाव
नेपालमा यो वर्ष तीन तहको निर्वाचन सम्पन्न भयो। वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट करिब ४१ हजार जनप्रतिनिधि निर्वाचित भएका छन्। मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनबाट प्रतिनिधिसभातर्फ २७५ र प्रदेश सभातर्फ ५५० गरी कूल ८२५ जना सदस्यहरू निर्वाचित भएका छन्। नेपालको संविधान जारी भएपछि दोस्रो कार्यकालका निर्वाचन भएको हो।
निर्वाचनबाट ठूलो दल बनेको कांग्रेस सत्ताबाट बारिएको छ भने एमालेसहित सात दल र ३ स्वतन्त्र सांसदको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री दाहालले ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। प्रदेशसभामा सरकार गठनको तयारी भइरहेको छ।
८. जलवायुसम्बन्धी प्रतिबद्धता र कोप २७
इजिप्टको शार्म एल–शेखमा नोभेम्बर ६ देखि २० तारिखसम्म भएको जलवायु सम्मेलन कोप २७ पनि उत्तिकै चर्चामा रह्यो। जलवायु परिवर्तनका असर कम गर्ने योजनामा धनी मुलुकले हानि नोक्सानी बेहोर्ने विषयमा कोष स्थापना गर्ने ऐतिहासिक सहमति भएको थियो।
यस कोषमार्फत जलवायु संकटमा परेका र जोखिमयुक्त मुलुकलाई आर्थिक सहायता गराइनेछ। सम्मेलनमा कार्बन उत्सर्जनमा सबैभन्दा बढी जिम्मेवार मुलुकले कम जिम्मेवार र गरिब मुलुकलाई आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता गरे। जलवायु परिवर्तनका असर कम गर्न र यस शताब्दीसम्म विश्वको तापक्रम १.५ सम्म सीमित गर्नुपर्ने विषयमा प्रमुख जिम्मेवार राष्ट्रले थप काम गर्नुपर्नेमा सम्मेलनको जोड थियो।
यस्तै, कोप २७ मा विश्वभरका युवा तथा किशोर किशोरी अभियन्ताको उल्लेख्य उपस्थितिले पनि धेरैको ध्यानाकर्षण गरेको थियो।
९. पेलोसीको ताइवान भ्रमणले उब्जाएको तनाव
अमेरिका, चीन र ताइवानको त्रिपक्षीय टकरावले पनि यस वर्ष चर्चा बटुल्यो। निरन्तरका कटु सम्बन्ध रहेका चीन र ताइवानको तिक्तता थप खराब बन्यो। विशेषगरी गत अगस्टमा अमेरिकी सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेको घटनाले चीन, ताइवान र अमेरिकाको कूटनीतिक सम्बन्धमा तनाव थप्यो। पेलोसीको भ्रमणले रुष्ट चीनले ताइवान सीमामा बृहत् हवाई सैन्य अभ्यास गर्यो।
ताइवानलाई आफ्नो भूमिका रूपमा दाबी गर्ने चीनले ताइवानलाई आफ्नो मुलुकमा गाभेरै छाड्ने प्रतिबद्धता जनाएको छ। चिनियाँ राष्ट्रपति सी चिनफिङले ताइवान मामिलाबाट परै बस्न अमेरिकालाई खुला चेतावनीसमेत दिए।
यस्तै, चीनले भविष्यमा ताइवानमाथि आक्रमण गर्ने आधार तयार गरिरहेको ताइवानी विदेशमन्त्री जोसेप वुले बताएका छन्। ताइवानमा सैन्य, आर्थिक, कूटनीतिक दबाब बढाएको चीनले यस वर्ष मात्रै अहिलेसम्मकै उच्च सैन्य खतरा र अतिक्रमण बढाएको उनको भनाइ छ।

ताइवानले आफू चीनको भू-भाग नभएको भन्दै देशको सार्वभौमसत्ता र स्वतन्त्रता रक्षाका लागि अन्तिमसम्म लड्ने अडान कायमै राखेको छ। चिनियाँ दबाब बढेसँगै ताइवानले मुलुकमा सैन्य सेवाको अवधिलाई समेत चार महिनाबाट बढाएर एक वर्ष पुर्याएको छ।
१०. अफगानिस्तानमा महिला तथा किशोरीलाई शिक्षामा प्रतिबन्ध
महिलाप्रति अनुदार अफगानिस्तानको तालिबान सरकारले महिलाको शिक्षा, मनोरञ्जन र विभिन्न क्षेत्रमा प्रतिबन्ध लगाएका खबरले पनि यस वर्ष चर्चा बटुले। तालिबानले महिलालाई माध्यमिक शिक्षाबाट वञ्चित गर्नुका साथै, जिमखाना तथा पार्कमा जान प्रतिबन्ध लगायो। महिला अधिकार र स्वतन्त्रता विरोधी कदमलाई बिस्तार गर्दै तालिबानले हालै महिलालाई गैरसरकारी संस्थामा काम गर्नसमेत प्रतिबन्ध लगायो। इस्लामिक धार्मिक कानून (शरिया कानून) औपचारिक रूपमा लागू नगरे पनि यसअनुरूपका व्यवहार र सजायलाई तालिबानले यस वर्ष प्राथमिकता दिएको छ।
सरकारविरोधी गतिविधि गर्ने, व्यभिचारी, चोरी डकैती गर्ने र बलात्कारीलाई कोर्रा हान्ने तथा सार्वजनिक स्थलमा झुन्डाएर मृत्युदण्डसमेत दियो। कानूनी उपचार र अनुसन्धानबिना नै सार्वजनिक सजाय दिने तालिबानी नियमको पश्चिमा मुलुकले विरोध गरे भने राष्ट्रसंघले समेत निन्दा गर्यो।
यस्तै, महिला अधिकार कुण्ठित गर्ने तालिबानी कदमलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले समेत अस्वीकार गर्दै शिक्षामा पुरुष महिला दुवैको उत्तिकै अधिकार रहेको भन्दै ध्यानाकर्षण गरेको थियो। तालिबानले महिलालाई विश्वविद्यालय प्रवेशमा समेत रोक लगाएपछि अधिकारकर्मीहरू सडकमा उत्रिएका थिए। तर तालिबानी हस्तक्षेपले प्रदर्शन गर्नसमेत रोक लगाइयो।
११. रोहिंग्याको संघर्ष र जोखिमपूर्ण प्रवास यात्रा
म्यानमार सेनाको ज्यादतीपछि भागेर बंगलादेश गएका रोहिंग्या शरणार्थीको संघर्षपूर्ण सामुद्रिक यात्राको समाचारले पनि यो वर्ष चर्चा बटुल्यो।
सहज जीवनयापनको चाहनामा उनीहरू इन्डोनेसिया, थाइल्यान्ड लगायतका देश प्रवेश गर्न जोखिमपूर्ण सामुद्रिक यात्रा गरेका थिए। कमसल खालका काठको डुंगामा बसेर संघर्षपूर्ण यात्रा थालेका सयौँ रोहिंग्याको बिचल्ली भएको खबर बाहिरिएका थिए।
डिसेम्बर अन्तिम साता मात्रै ५०० शरणार्थीहरू इन्डोनेसिया पुगेको युएनएचसीआरले जनाएको थियो। जोखिमपूर्ण यात्राका क्रममा सन् २०२२ मा १८० भन्दा बढी शरणार्थीले ज्यान गुमाएको हुनसक्ने अधिकारवादी संस्थाहरूले आकलन गरेका छन्।
म्यानमारको राखिने राज्यका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायलाई म्यानमार सेनाले लखेटेपछि उनीहरू ज्यान जोगाउन भन्दै भागेर छिमेकी मुलुक बंगलादेश पुगेका थिए। त्यतिबेला करिब ८ लाख रोहिंग्याले देश छाडेको बताइएको छ। बौद्ध धर्मावलम्बी बाहुल्य म्यानमारमा अल्पंख्यक मुसलमान समुदायको अस्तित्व नै मेटाउन चाहेको रोहिंग्याहरूको आरोप छ।
उनीहरू बंगलादेशका शरणार्थी शिविरमा पनि अमानवीय व्यवहार भएको र असुरक्षित रहेको भन्दै केहीले अन्य देश प्रवेशका लागि ज्यानको बाजी लगाएर सामुद्रिक यात्रामा निस्किएका थिए। समुद्रमा हप्तौँसम्म अलपत्र परेका ५८ जना रोहिंग्या शरणार्थी गत साता मात्रै इन्डानेसियाको इन्द्रपात्रा तटीय क्षेत्रमा भेटिएका थिए। भोक र तिर्खाले अतालिएका उनीहरूको स्थिति कमजोर देखिएको थियो।

१२. जलवायु परिवर्तन: अमेरिका र क्यानडामा चिसो र हिम आँधीको वितण्डा
डिसेम्बर अन्तिम सातातिर अमेरिका र क्यानडामा हिम आँधी र अत्यधिक चिसोले जनजीवन प्रभावित भयो। हिमपात, आँधी र चिसोका कारण कैयौँले ज्यान गुमाए। खराब मौसमका कारण केही दिनसम्म हजारौँ उडान रद्द गरिएका थिए। अमेरिकामा मात्रै ६२ जनाले ज्यान गुमाएको तथ्यांक छ।
अमेरिकाको मोन्टानाको तापक्रम माइनस ५० डिग्री सेल्सियस मापन भएको थियो। यो त्यहाँ सम्भवतः अहिलेसम्मकै कम तापक्रम मानिएको छ। अमेरिकाको न्युयोर्क, ओहायो, कोलोराडो, फ्लोरिडा, विन्सकन्सिन, भर्मोन्ट लगायतका क्षेत्र कम तापक्रम मापन भएको थियो। न्युयोर्कमा मात्रै प्रतिघण्टा ७ सेन्टिमिटरसम्म हिमपात भएको थियो।
अमेरिका र क्यानडामा क्रिसमसको समय यस्तो विनाशकारी स्थितिको सामना गर्नुपरेको अधिकांशका लागि नौलो र पीडादायी रह्यो। अत्यधिक चिसो र अप्रत्याशित हिमपातलाई वैज्ञानिक तथा मौसमविद्हरूले जलवायु परिवर्तनको असरसँग जोडेर हेरेका छन्।
१३. सर्वाधिक महँगो विश्वकप
सन् २०२२ को कतार विश्वकपको विजेता राष्ट्र बन्यो अर्जेन्टिना। कतार विश्वकप थुप्रै कारणले चर्चाको शिखरमा रह्यो। यो कुनै पनि अरबी मुलुकले आयोजना गरेको पहिलो विश्वकप हो। इतिहासकै महँगो विश्वकप पनि हो। विश्वकपका लागि कतारले रङ्गशाला, रेल, होटल, सडकसहित थुप्रै परियोजना तथा संरचना निर्माणमा २ खर्ब २० अर्ब डलर खर्चियो। कुनै पनि विश्वकप आयोजक मुलुकले खर्चिएको यो नै अहिलेसम्मको सर्वाधिक रकम हो।
२०२२ को विश्वकप रोमाञ्चक खेलका साथै खेलाडी, उनीहरूका क्रियाकलाप, जापान र दक्षिण कोरियाका उत्कृष्ट खेल, ब्राजिलको बहिर्गमन, एम्बापेको ह्याट्रिक र मेस्सीको जादुमय प्रस्तुतिसहित थुप्रै विषय चर्चामा रहे। यस्तै, यही विश्वकपमै पहिलोपटक तीन जना महिला रेफ्रीको सहभागिता भएको थियो। पुरुष विश्वकपमा पहिलो महिला रेफ्री बनिन् फ्रान्सकी स्टेफानी फ्रापार्ट। उनले कतार विश्वकपमा अल बायत रङ्गशालामा समूह 'ई'का कोस्टारिका र जर्मनीको अन्तिम खेलमा रेफ्रीको भूमिका निभाएकी थिइन्।
१४. विश्व जनसंख्या ८ अर्ब पुग्यो
यस वर्ष विश्वको जनसंख्या ८ करोड नाघ्यो। पछिल्लो २४ वर्ष विश्वको जनसंख्या २ अर्ब बढेको तथ्यांक छ। मानिसको जनसंख्यासम्बन्धी पुराना तथ्यांक केलाउँदा सन् १००० मा पृथ्वीको जनसंख्या २७ करोड ५० लाख थियो। त्यसपछि ८०४ वर्षको अवधि अर्थात् सन् १८०४ मा पृथ्वीको जनसंख्या एक अर्ब पुगेको थियो। त्यतिबेला ७० करोड जनसंख्या वृद्धि हुन झन्डै ८०४ वर्ष लागेको थियो। तर, पछिल्लो १२ वर्षमै एक अर्ब नाघेको हो।
यस्तै, सन् १९३० मा २ अर्ब रहेको विश्वको जनसंख्या ३० वर्षपछि सन् १९६० मा ३ अर्ब पुग्यो। त्यसको २७ वर्षपछि सन् १९८७ मा पृथ्वीको जनसंख्या पाँच अर्ब नाघ्यो। त्यसपछिका हरेक दशकमा करिब एक अर्बका दरले जनसंख्या बढिरहेको राष्ट्रसंघको तथ्यांक छ। औद्योगिक क्रान्तिसँगै स्वास्थ्य सेवामा आएको सुधार, स्वास्थ्य सेवामा पहुँच, घट्दो शिशु मृत्युदरजस्ता कारणले पृथ्वीको जनसंख्या बढिरहेको राष्ट्रसंघले जनाएको छ।
यस्तै, पृथ्वीको जनसंख्या सन् २०३० सम्ममा साढे ८ अर्ब पुग्ने राष्ट्रसंघले प्रक्षेपण गरिसकेको छ। राष्ट्रसंघको प्रतिवेदनअनुसार सन् २०५० सम्ममा वृद्धि हुने आधा जनसंख्या केबल आठ देशको मात्रै हुने छ। ती पाकिस्तान, भारत, ग्रिस, कंगो, नाइजेरिया, तान्जानिया र इथियोपिया हुने छन्।
यस्तै, धेरै देशमा जनसंख्या वृद्धिदर निकै न्यून हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ। यस अवधिमा युरोपका अधिकांश देशको जनसंख्या उल्लेख्य मात्रामा घट्ने भनिएको छ। विश्वमै सबैभन्दा बढी जनसंख्या भएका प्रमुख १० देशहरू क्रमशः चीन, भारत, अमेरिका, इन्डोनेसिया, पाकिस्तान, नाइजेरिया, ब्राजिल, बंगलादेश, रुस, मेक्सिको हुन्।
यस्तै, सन् २०२३ मै भारत संसारको सबैभन्दा बढी जनसंख्या भएको मुलुक बनेको छ। चीनलाई उछिनेर भारत विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बनेको हो।
१५. सीको तेस्रो कार्यकाल अनुमोदन, शून्य कोभिड नीतिविरुद्ध आन्दोलन
यो वर्ष चीनमा दुईवटा विषय बढी चर्चामा रहे। पहिलो चिनियाँ राष्ट्रपतिको कार्यकाल लम्ब्याउने निर्णय र दोस्रो चिनियाँ शून्य कोभिड नीतिको विरोधमा भएको आन्दोलन। बेइजिङमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को २०औँ महाधिवेशनले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई तेस्रो कार्यकालका लागि अनुमोदित गरेको थियो। तेस्रो कार्यकालका लागि अनुमोदित सीलाई चिनियाँ संस्थापक नेता माओ त्सेतुङपछिकै सबैभन्दा शक्तिशाली नेता ठानिएको छ। उनलाई पार्टी, सेना र व्यापारी वर्गको समर्थन छ।
त्यस्तै, वर्षको अन्त्यतिर चीनमा कोरोनाविरुद्धको नीतिलाई लिएर जनता सडकमा उत्रिए। चिनियाँ राष्ट्रपति सीको राजीनामा माग्दै सडकमा उत्रिएका चिनियाँ जनताका बारेमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ रिपोर्ट सार्वजनिक गरेका थिए। सिन्जियाङ प्रान्तबाट लकडाउनविरुद्ध प्रदर्शन शुरू भएको थियो। क्रमशः यो आन्दोलन चीनका धेरै शहरमा फैलियो। प्रदर्शनमा प्रतिष्ठित विश्वविद्यालयका विद्यार्थी पनि सहभागी भए। प्रदर्शनकारीले राष्ट्रपति सीको राजीनामा र स्वतन्त्रताको माग गरेका थिए।
आन्दोलन उग्र बन्दै गएपछि सरकार कोरोनासम्बन्धी नीतिमा फेरबदल गर्न बाध्य भयो। चिनियाँ सरकारले शून्य कोभिड नीतिलाई खुकुलो बनायो। त्यसपछि चीनमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ। यहाँको कोरोनाको नयाँ सबभेरिअन्ट बीएफ–७ को संक्रमण फैलिएको छ। यसबीच चीनले आफ्ना नागरिकलाई विदेश भ्रमणका लागि अनुमति दिएको छ। तर, विश्वका विभिन्न देशले चिनियाँ नागरिकलाई प्रवेशमा रोक लगाउने नीति लिएका छन्। उनीहरूले चीनले कोभिड संक्रमितको पारदर्शी तथ्यांक सार्वजनिक नगरेको पश्चिमा देशहरूको आरोप छ।

१६. चर्चामा एलन मस्क र ट्विटर
यो वर्ष धनाढ्य व्यवसायी एलन मस्क माइक्रो ब्लगिङ साइट ट्विटर किन्ने, नकिन्ने र किनेपछि कर्मचारी निकालेर चर्चाको केन्द्रमा रहे। आफ्नो आधिकारिक ट्विटर ह्यान्डेलबाट ट्विटर किनौँ कि नकिनौँ भन्दै मत मागेका उनलाई फलोअर्सले किन्ने पक्षमा मत लिए। त्यसपछि ट्विटर किन्न हौसिएका मस्क ‘फेक अकाउन्ट’ धेरै रहेको भन्दै ट्विटर किन्ने योजनाबाट पछि हट्न खोजेपछि मामिला अदालतसम्म पुग्यो।
अदालतको सुनुवाइअगावै उनी फेरि ट्विटर किन्न सहमत भए र ४४ बिलियन डलर खर्चिएर ट्विटररका नयाँ मालिक बने। कम्पनी किनेलगत्तै सीईओ पराग अग्रवालसहित उच्च पदस्थ कर्मचारी बर्खास्त गरेर उनी फेरि चर्चामा रहे। अकाउन्टलाई भेरिफाइड गरेबापत पाइने ‘ब्लु टिक’ प्राप्त गर्न शुल्क लिने उनको घोषणाको निकै आलोचना भयो। शुल्क लिएर ‘ब्लु टिक’ दिएपछि चर्चित कम्पनीका नक्कली अकाउन्ट बन्न थालेपछि उनी आफ्नो निर्णयबाट पछि हटे।
पछिल्लो समय उनले आफ्नो ह्वान्डलमार्फत आफू ट्विटरको सीईओबाट राजीनामा दिने कि नदिने भन्दै मत मागेका थिए। त्यसमा बहुमत फलोअरले मस्कलाई ट्विटरको सीईओबाट हट्न मत जाहेर गरेका थिए। उनले फलोअरको मतलाई कार्यान्वयन गर्ने वाचासमेत गरेका छन्।
यति मात्र होइन, विश्वकै धनाढ्य व्यक्ति मस्कलाई उछिनेर ‘बर्नाड आर्नल’ विश्वकै सर्वाधिक धनी बनेको विषय पनि उत्तिकै चर्चित बन्यो। मस्कको विद्युतीय कार निर्माण गर्ने कम्पनी टेस्लाको सेयरमा भारी गिरावट आएसँगै उनी संसारको दोस्रो धनी व्यक्तिमा झरेका हुन्।
१७. महान् फुटबलर पेलेको निधन
यस वर्ष फुटबलका विश्वविख्यात खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भयो। कलात्मक फुटबल खेल्न सिपालु पेलेको निधनले विश्व खेल जगत्मा नमिठो सम्झना छाड्यो। ब्राजिलको साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। मिर्गौला र क्यान्सरबाट पीडित पेलेको बिहीबार राति निधन भएको हो।
वास्तविक नाम एडसन अरेन्टेस डो नासिमेन्तो भए पनि उनी खेल जगत्मा पेलेका नामले विश्वविख्यात बनेका हुन्। ब्राजिलका फरवार्ड पेलेले खेल जीवनमा खेलेका एक हजार ३६३ खेलमा एक हजार २८१ गोल गरेर कीर्तिमान बनाएका छन्। जसमा आफ्नो देशका लागि ९२ खेलमा ७७ गोल गरेका छन्।

यस वर्षको अन्त्यमा उनको निधनले फुटबलप्रेमीलाई दुखी बनायो। उनको सम्झनामा पेलेकी छोरी केलीले इन्स्टाग्राममा लेखेकी छन्, “हामी जहाँ छौँ तपाईंका कारण हो। हामी तपाईंलाई धेरै माया गर्छौं। तपाईंको आत्माले शान्ति पाओस्।” २५ डिसेम्बरमा परिवारले पेलेसँग अस्पतालमा क्रिसमस मनाएका थिए।
१८. आङ सान सुचीलाई ३३ वर्ष जेल सजाय
म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सूचीलाई त्यहाँको सैन्य अदालतले अहिलेसम्म ३३ वर्षको जेल सजाय सुनाइसकेको छ। जननिर्वाचित सरकारका सबै जनप्रतिनिधिलाई नियन्त्रणमा लिँदै सत्ता हत्याएको म्यानमारको सेनाले सुचीविरुद्ध विभिन्न मुद्दा चलाएको छ। देशको गोप्य सूचना चुहाएको, भ्रष्टाचार गरेको, घुस लिएको, गोपनीयता भङ्ग, विदेशीसँग साँठगाँठ गरेकोजस्ता दर्जनौँ आरोपमा मुद्दा चलाइएको छ। यी मुद्दामा शृङ्खलाबद्ध सुनुवाइ गर्दै त्यहाँको सैन्य अदालतले सुचीलाई कुल ३३ वर्षको जेल सजाय सुनाएको हो।
उनीमाथिका थुप्रै मुद्दामा सुनुवाइ बाँकी नै छ। उनीविरुद्धका सबै आरोप प्रमाणित भए २०० वर्षसम्मको जेल सजाय हुने बताइएको छ। मानवअधिकारवादीहरूले सुचीमाथिका मुद्दामा भइरहेको फैसलाको विरोध जनाएका छन्। सन् २०२१ को फेब्रअरीमा १ मा सुचीको निर्वाचित सरकारलाई हत्याएर म्यानमार सेनाले नाटकीय रूपमा सत्ता आफ्नो हातमा लिए लिए लगत्तै सैन्य ’कू’ गरेको थियो। तर, त्यसको विरोधमा म्यानमारमा बृहत् जनआन्दोलन चर्किएको थियो।
१९. च्याट जीपीटी
यो वर्षको अन्त्यतिर आर्टिफिसियल इन्टेलिजेन्टसमा आधारित ’च्याट जीपीटी’ चर्चामा आयो। च्याट जीपीटी आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित ओपन एआई कम्पनीले विकास गरेको ‘च्याटबट’ हो। सोधिएका प्रश्नको सहज र सरल तरिकाले उत्तर दिने भएकाले पनि यसको प्रयोगलाई लिएर पछिल्लो समय चर्चा चुलिएको हो। यसलाई सर्च इन्जिन गुगलसँग तुलना गरेर हेर्ने गरिएको छ।
च्याट जीपीटीले प्रयोगकर्ताले दिएको निर्देशनअनुसार सामान्य मानिसले लेखेजस्तै लेखिदिन्छ। यसले निबन्ध, नाटक तथा कवितादेखि व्यक्तिगत विवरणहरू, व्यावसायिक पत्रहरू निर्देशनअनुसार लेखिदिन सक्छ। यसले कम्प्युटर कोडिङ तथा प्रोग्रामिङका माध्यमबाट उत्तर दिने गर्दछ। तर, यसले अपराध, हिंसा फैल्याउन प्रकृतिका प्रश्नहरूको जवाफ भने दिँदैन। त्यसैले पनि धेरैले च्याट जीपीटी बहुक्षेत्रमा उपयोगी हुने भन्दै प्रशंसा गरेका छन्।
२०. भारत–चीन सीमा विवाद
भारतको अरुणाचल प्रदेशको तवांगमा भारत र चीनका सुरक्षाकर्मीबीच झडपले दक्षिण एसियामा तनाव बढाएको छ। डिसेम्बर ९ तारिखमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच झडप भएको खबर सार्वजनिक भएपछि सीमा विवादको तनाव पुनः सतहमा आएको हो। चिनियाँ सैनिकहरूले सीमा क्षेत्र बिन्दु (लाइन अफ एक्चुअल कन्ट्रोल) नाघेपछि झडप भएको भारतीय पक्षको दाबी थियो। चीनले भने भारतीय सैनिक आफ्नो क्षेत्रमा प्रवेश गरेपछि स्थिति असामान्य बनेको बताएको थियो। दुवै देशका सैन्य अधिकारीबीचको वार्तापछि तत्कालै स्थिति सामान्य भएको थियो।
यस घटनालाई लिएर भारतीय संसद्मा सरकारमाथि प्रश्न उठेको थियो। भारतीय रक्षामन्त्रीले आफ्नो सेनाले बहादुरी र साहस देखाएर सीमा रक्षा गरेको भन्दै प्रशंसा गरेका थिए। यता, चीनले भने भारतलाई सीमामा उत्तेजना गतिविधि नगर्न चेतावनी दिएको छ। लामो समयपछि भारत–चीन सीमा विवाद बल्झिएपछि यसले क्षेत्रीय तनाव बढाएको छ।

२१. रुसी मानवअधिकारवादी संस्थालाई नोबेल शान्ति पुरस्कार
सन् २०२२ को नोबेल शान्ति पुरस्कार बेलारुसका मानवअधिकारकर्मी तथा नागरिक अभियन्ता अलेस बियालित्स्की, रुसी मानवअधिकारवादी संस्था ‘मेमोरियल’ र ‘युक्रेनीयन सेन्टर फर सिभिल लिबर्टिज’लाई संयुक्त रूपमा दिइएको छ। मानवअधिकार र स्वतन्त्रताको पक्षमा काम गरेको भन्दै उनीहरू पुरस्कृत भएका हुन्।
साथै, चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार स्विडेनका वैज्ञानिक स्वान्ते पाबोलाई दिइएको छ। होमिनिन तथा मानव विकासको जिनोमसम्बन्धी विभिन्न विषयमा अनुसन्धान गरेका पाबोले मानिसको पुर्खा निएन्डरथलको डीएनएको खोज र अनुसन्धान गरिरहेका छन्। जर्मनीको लेइपिगस्थित म्याक्स प्लाङ्क इन्स्टिचुटका जेनेटिक्स विभागका निर्देशकको रूपमा समेत काम गरिसकेका छन्।
भौतिक विज्ञानतर्फ एलेन एस्पेक्ट, जोन एफ क्लाउजर र एन्टोन जिलिंगरलाई क्वान्टम मेकानिक्सको क्षेत्रमा काम गरेको भन्दै संयुक्त रूपमा यस वर्षको नोबेल पुरस्कार दिइएको हो।
यस्तै, रसायन विज्ञानतर्फको पुरस्कार संयुक्त रूपमा करोलिन आर बर्टोजी, मोर्टेन मेल्डल र के बेरी सार्पलेसलाई दिइएको छ। उनीहरूले रसायनशास्त्र र बायो अर्थोगोनल रसायनसम्बन्धी विकास तथा अनुसन्धानमा काम गरिरहेका छन्।
यस्तै, अर्थशास्त्र विज्ञानतर्फको पुरस्कार बेन एस बर्नान्के, डग्लास डब्लु डायमण्ड र पिलिप एच डाइभिगलाई दिइएको छ। बैंकिङ र वित्तीय संकटसम्बन्धी अनुसन्धान गरेको भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो।
यस्तै, साहित्यतर्फ यस वर्षको नोबेल पुरस्कार फ्रान्सकी ८२ वर्षीया लेखक एनी आर्नक्सले पाएकी छिन्। उनले चार दशकभन्दा बढी समययता सामाजिक विभेद, लैंगिक असमानता, मानवअधिकार र स्वतन्त्रताका पक्षमा कलम चलाउँदै आएकी छिन्।
२२. विश्वकै ठूलो रेडियो टेलिस्कोप निर्माण परियोना शुरू
२१औँ शताब्दीकै बृहत् वैज्ञानिक परियोजना द स्क्वायर किलोमिटर एरे (एसकेए) को निर्माण पनि यसै वर्ष शुरू भयो। सन् २०२८ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ। बेलायतमा मुख्यालय रहेको, दक्षिण अफ्रिकादेखि अस्ट्रेलियासम्म फैलिएको यस परियोजनाले खगोलीय भौतिक विज्ञानसम्बन्धी महत्त्वपूर्ण प्रश्नको उत्तर खोज्ने छ।
यस अन्तरसरकारी परियोजनामा वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका सिद्धान्तको ’वास्तविक परीक्षण’ हुने बताइएको छ। यस्तै, पृथ्वीभन्दा बाहिर जीव भए/नभएको पनि खोज अनुसन्धानमा टेलिस्कोपले मद्दत गर्ने छ। टेलिस्कोपले सौर्य मण्डल, ब्ल्याक होल, अन्तरिक्षका अन्य वस्तुबाट उत्पन्न हुने प्राकृतिक ध्वनि तरङ्ग तथा दृश्यहरूको अध्ययन अनुसन्धान गर्ने छ। यस टेलिस्कोपले अहिलेसम्म पत्ता नलागेका पृथ्वी र अन्तरिक्षका रहस्य र खुलदुली मेटाउने अपेक्षा गरिएको छ। यसले खगोलशास्त्रमा नयाँ आयाम थप्ने अपेक्षा छ।
यी घटना पनि रहे चर्चामा
यीबाहेक सन् २०२२ मा ब्रह्माण्डको इतिहासबारे वैज्ञानिकहरूको खोज, मानिसको रगतमा माइक्रो प्लास्टिक भेटिएको अनुसन्धानात्मक अध्ययन, विश्वकै पहिलो बृहत् टेलिस्कोप निर्माण परियोजना शुरू, वैज्ञानिकहरूले आकाश गंगाको ‘ब्ल्याक होल’को तस्वीर खिचेको, दक्षिण कोरियाले आफ्नै रकेटमार्फत स्याटेलाइट प्रक्षेपण गरेको, पृथ्वीको रक्षा प्रणालीको परीक्षणअन्तर्गत नासाको अन्तरिक्ष यान क्षुद्र ग्रहमा ठोक्काएर गरिएको सफल परीक्षणमा ऐतिहासिक सफलता खगोल विज्ञानमा महत्त्वपूर्ण उपलब्धि बने।
यस्तै, अनुसन्धानकर्ताहरूले यसै वर्ष रुसको एक गुफामा निन्डरथाल प्रजातिको मानिसको पुर्खाको अवशेष भेटिएको विषय खोज अनुसन्धानको वृत्तमा निकै चर्चित बन्यो। साथै, यो वर्ष एप्पल कम्पनी, सेयर बजार मूल्य ३० खर्ब डलर भएको पहिलो कम्पनीसमेत बन्यो। विश्वकै उच्च तापक्रम र कम तापक्रम मापन, अफ्रिकी मुलुकहरूमा खडेरी र अफगानिस्तानमा भोकमरीको जोखिम विषय समाचारका महत्त्वपूर्ण शीर्षक बने।
एन्जेन्सीको सहयोगमा। तस्वीरहरू : एपी र एफपी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
