साउने संक्रान्ति मनाउन पशुपतिनाथमा भक्तजनको चहलपहल (तस्वीरहरू)

साउने संक्रान्ति मनाउन लागि पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको बाक्लो उपस्थिति देखिएको छ।

साउने संक्रान्ति मनाउन पशुपतिनाथमा भक्तजनको चहलपहल (तस्वीरहरू)
तस्वीरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) संक्रान्ति पर्व बिहीबार देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ। यसैबीच, काठमाडौँस्थित पशुपतिनाथ मन्दिरमा बिहानबाटै भक्तजनको उपस्थिति बाक्लो देखिएको छ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिनलाई यस दिन देशभर साउने संक्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा रहेको छ। साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरू हुन्छ। माघ १ गते शुरू हुने उत्तरायण र साउन १ गते शुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाइन्छ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन्। त्यस क्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न 'लुतो फाल्ने' गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउँछन्। एक महिना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन्।

परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर 'कण्डारक' नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ। लुतो फाल्दा आआफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ।

साउन महिनालाई विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाउने महिनाका रूपमा पनि लिइन्छ। यस महिनाभर शिव मन्दिरहरूमा भक्तजनको घुइँचो लाग्ने गर्दछ।

भगवान् शिवको आराधनाका लागि विशेष मानिने यस महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँदी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथका साथै आफूलाई पायक पर्ने शिवालयमा पुग्ने गरेका छन्।

महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गर्छन्। साउन महिनामा विशेषगरी हरियो कपडा र चुराको बिक्री बढी हुने गरेको छ र धेरै महिलाले हरियो र रातो पहिरन लगाउने गर्छन्।