विपद्: तीन महिनामा ९३ जनाको मृत्यु, २२ बेपत्ता

पछिल्लो तीन महिनामा बाढीका मात्रै १३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।

काठमाडौँ– वैशाखदेखि असारसम्म दुई हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको तीन महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ। २२ जना बेपत्ता भएका छन्।

विपद्‌जन्य घटनामा ४४५ जना घाइते भएका छन्। चार हजार १३६ परिवार प्रभावित भएको प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारले जानकारी दिए। 

प्राधिकरणले बिहीबार सार्वजनिक गरेको २०८२ को पछिल्लो तीन महिनाको विवरणअनुसार बाढीका मात्रै १३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्। 

असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो। माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो।

यस्तै पहिरोका १७५ घटनामा ६ जनाको मृत्यु भएको छ। चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए। अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।

बाढीबाट मात्रै एक हजार २४६ तथा आगलागीबाट एक हजार ४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका छन्।