मेची भन्सारबाट करिब १६ अर्ब राजस्व संकलन

मेची भन्सार कार्यालयले अघिल्लो आर्थिक वर्षको तुलनामा एक अर्ब ६९ करोड ५९ लाख ६ हजार रुपैयाँ बढी राजस्व संकलन भएको जनाएको छ।

झापा– मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १५ अर्ब ९३ करोड ११ लाख ६६ हजार राजस्व असुली गरेको छ।

यसअघि आर्थिक वर्ष २०८०/८१ मा १४ अर्ब २३ करोड ५२ लाख ६० हजार र आर्थिक वर्ष २०७९/८० मा १४ अर्ब चार करोड पाँच लाख ९२ हजार राजस्व असुली भएको भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए।

आर्थिक वर्ष २०८०/८१ को तुलनामा आर्थिक वर्ष २०८१/८२ मा कार्यालयले एक अर्ब ६९ करोड ५९ लाख ६ हजार बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार रुपैयाँ राजस्व असुलीको लक्ष्य राखेको थियो। भन्सारका सूचना अधिकारी हुमागाईंले लक्ष्यको तुलनामा ९१.८६ प्रतिशत प्रगति भएको बताए।

नेपालको पूर्वी प्रवेशद्वार मानिएको काँकडभिट्टामा रहेको यो भन्सार हुँदै पेट्रोलियम पदार्थ, तरकारी, यातायातका साधन र तिनका पार्टपुर्जा, खनिज उत्पादन, प्लास्टिकका कच्चा पदार्थ, कफी, दलहन, फलफूल, इलेक्ट्रिक मेसिनरी उपकरण, फलाम तथा फलामका सामग्रीलगायत वस्तु आयात हुने गरेको छ।

त्यसैगरी, यस नाकाबाट निर्यात हुने प्रमुख वस्तुहरूमा अलैँची, फलामे पाता, चिया, प्लाइउड, छुर्पी, अम्लिसो, भेनियर पाता, मोलासिस, सिमेन्ट क्लिंकर, अदुवालगायत छन्।