भक्तपुर दरबार स्क्वायरमा एक दिन

भक्तपुरका साँघुरा गल्ली मेरा निम्ति प्रिय छन्। यी गल्लीका पुराना घरका बीचबीचमा रङले छोपिएका स–साना मन्दिर भेटिन्छन्। त्यहाँ बुझ्नै नसकिने अक्षर कोरिएका जुगौँ पुराना शिला छन्।

तस्वीर: मनिष पौडेल

म गल्लीहरू मन पराउँछु, अझ ती भक्तपुरका जस्तै पुरातन होऊन्। इतिहासजस्तै गहिरा इनार फेला परुन्। ‘टाइम मसिन’ झैँ पुगियोस् युगौँ पुरानो कालखण्डमा।

मलाई मनपर्ने शहर हो भक्तपुर। भक्तपुरको ‘रङ’ पुरातन छ। ‘स्वाद’ मौलिक छ। र ‘फेसन’ ऐतिहासिक छ।

null

भर्खरैको एक शनिबार च्यामसिंह हुँदै दरबार स्क्वायरतिर लागिरहँदा इतिहासको यात्रामा निस्किएको अनुभूतिले भिजेको थिएँ। दुईतर्फ उभिएका अग्ला पुराना घरको बीचमा ढुंगा ओछ्याइएको बाटोले मलाई स्वागत गरिरहेका थिए।

यो बाटोले दत्तात्रय मन्दिर पुर्‍याउँछ। त्यहाँबाट थोरै अगाडि बढ्दा न्यतपोल मन्दिरको चोक पुगिन्छ। त्यसपछि आउँछ दरबार स्क्वायर। भक्तपुर साँघुरा गल्लीको ‘एन्टिक’ शहर हो।

null

यहाँका गल्लीका पुराना घरका बीचबीचमा रङले छोपिएका स–साना मन्दिर भेटिन्छन्। त्यहाँ बुझ्नै नसकिने अक्षर कोरिएका जुगौँ पुराना शिला छन्। शिलाका नबुझिने अक्षर पनि सुन्दर लाग्छन्। सौन्दर्यको सम्बन्ध ‘बुझ्नु’मा मात्र सीमित छैन।

यिनै गल्लीमा भेटिन्छन् इनारहरू। काठमाडौँ उपत्यकामा हिजोआज इनारहरू दुर्लभ छन्। म हिँडिरहेको गल्लीमा भेटिने एउटा जीर्ण इनारको गहिराइ हेर्न खुब आनन्द आउँछ। यो गहिराइमा इतिहासको व्यापकता देख्छु म।

nullहिँड्दाहिँड्दै बेलाबेला जिरा–मरीचको तिक्खर गन्धले झस्काउँछ। मिठाई पसलमा पाकिरहेको जेरी–स्वारी र मालपुवा देख्दा जिब्रो रसाउँछ। मोःमोका पारखीलाई यसको बास्नाले तानिहाल्छ।

नेवारी खाजाघरमा बारा–छोइला खानेको घुइँचो हुन्छ। बास्नाले बाहिरसम्मै पछ्याउँछ। कोही हातमा माटाका भाँडा समाएर जुजुधौको स्वादमा पेन्टिङ हेरिरहेका भेटिन्छन्। भक्तपुर दरबार वरपरका प्रायः गल्लीमा यी दृश्य दोहोरिएर आइरहन्छन्।

null

काठमाडौँ उपत्यकाका पुराना बस्ती संग्रहालयजस्ता छन्। यहाँ गल्ली र चोकहरूमा शतक पुराना मठमन्दिर र मूर्ति भेटिन्छन्। यी कलात्मक सम्पदामार्फत स्थानीय समुदायको धर्म र संस्कृति जीवन्त छन्। अनि पो सम्पदा अभियन्ताहरू भन्छन्– हाम्रा मूर्ति ‘लिभिङ गड’ हुन्, संग्रहालयमा राख्ने वस्तु होइनन्।

विगतमा यिनै लिभिङ गड नेपालबाट चोरेर विश्वका विभिन्न मुलुक पुर्‍याइए। अमेरिका, बेलायतलगायत मुलुकका संग्रहालयमा ती ऐतिहासिक मूर्ति र कलावस्तुहरू आज पनि सजिएका छन्।

null

अमेरिका बस्दा मैले पनि त्यहाँका संग्रहालय चहारेको छु। वासिङ्टनको स्मिथसोनियनदेखि न्यूयोर्क, सिकागो, ड्यालसका संग्रहालयहरूमा नेपालको ढुंगा, काठ, धातुका मूर्ति, देवीदेवताका गरगहना र रंगीन पौभा देखेको देख्थेँ। त्यो दृश्यले मलाई आश्चर्यमा पार्थे।

सन् १९७०/८० को दशकमा नेपालबाट चोरी भएका मूर्ति र अन्य कलाबारे म जानकार थिएँ। अमेरिकी संग्रहालयमा शिशाको केसभित्र सुरक्षित राखिएका ती मूर्ति र कलावस्तु नेपालबाट हराएकामध्येकै होलान् भन्ने अनुमान लगाउँदा खिन्न लाग्थ्यो।

null

सन् १९८९ मा कला अन्वेषक लैनसिंह बाङ्देलको सोधमूलक कृति ‘स्टोलन इमेजेज अफ नेपाल’ प्रकाशनमा आएपछि यसमा भएका मूर्ति र कलावस्तुको प्रामाणिकता तथा हराएका र चोरिएका सम्पदाको उत्पत्तिको पहिचान गर्न शुरू भएको हो। हराएका वा चोरिएका सम्पदाको खोजी–पहिचानमा शुरू भएको अभियानले पनि सम्पदाबारे जागरण तथा पुनर्स्थापनाको पहल अघि बढेको छ। 

पछिल्लो समय केही मूर्ति र कलावस्तु नेपाल फर्काइएका छन्। धेरै सम्पदा फर्काउन बाँकी नै छ। फिर्ता ल्याइएका कतिपय कलावस्तु विदेशीले व्यक्तिगत संकलन गरेका र कतिपय संग्रहालयमा थिए। तीमध्ये केही पुरानै ठाउँमा र केही राष्ट्रिय संग्रहालयमा छन्।

म भक्तपुर दरबार स्क्वायरको एउटा शीतल कुनामा पुग्छु। त्यहीँ बस्छु। कुनामा बसेर भिडलाई हेर्न रमाइलो लाग्छ। शनिबार भएर होला, चहलपहल बाक्लो छ। विदेशीभन्दा नेपाली बढी देखिन्छन्। अक्सर यस्तै देख्छु हिजोआज।

null

काठमाडौँ उपत्यकाबाहिर जाने हो भने पनि नेपाली पर्यटक प्रशस्त भेटिन्छन्। केही समयअघि मात्र पोखरा हुँदै घोडेपानी र पुनहिल पुगेको थिएँ। त्यहाँ पनि नेपाली पर्यटक भरिभराउ थिए।

मानिसको ओहोरदोहोर देखेर सोच्छु– उनीहरूले दरबार स्क्वायर वरपरको सम्पदा, संस्कृतिबारे के सोचेका होलान्!

सबैको हातमा मोबाइल छन्। अग्लाअग्ला मन्दिरको दृष्य क्यामेरामा कैद गरेका छन्। ठाउँठाउँमा टिकटक बनाउनेहरू  मोबाइल अघिल्तिर नाचिरहेका छन्। म चुपचाप हरेक दृष्य नियाल्छु।

null

यहाँ उभिएका मन्दिरहरूले वर्षौंअघिको समय पढाइरहेका छन्। ती टुँडाल, आँखिझ्याल र कलावस्तुसँगै म बग्छु समयको नदीमा।

एक युवतीले मन्दिरको खुड्किलोमा भएको हात्तीको सुँडमा एक हातले झुण्डिएर अर्को हात फैलाएकी छन्। त्यही ‘पोजिसन’मा साथीलाई फोटो खिच्न भन्दैछिन्। अलिक पर महिला र उनको बच्चा सिंहमाथि बसेका छन्, एक पुरूष उनीहरूको फोटो लिइरहेका छन्।

म संग्रहालयतिर लम्किन्छु। संग्रहालयमा कैद छ समय।

null

संग्रहालयको पहिलो कक्षमा प्रस्थर मूर्तिहरू छन्। ती छन् २०० वर्षभन्दा पुराना। चाहे प्रस्थर होस वा धातु, काष्ठ होस वा पौभा, नेपाली कलामा विस्तारपूर्वक गरिएको काम थियो। त्यो समयको कालिगडले सीमित विज्ञान र हाते औजारको प्रयोगबाट कसरी त्यस्ता समृद्ध मूर्ति कुँदे होला? कसरी ‘प्रोपोर्सन’ मिलाए होला? तेत्रा चट्टान कहाँबाट ल्याए होला? कसरी ल्याए होला?

हामीले स्कुलमा इतिहासका किताबमा युरोपियन कलाकारका कृतिमाथि अध्ययन गर्‍यौँ। लियोनार्डो दा भिन्ची, माइकल एन्जेलो, डानटेलोहरूबारे जान्यौँ। त्यस्तो अध्ययनले ज्ञानको दायरा फराकिलो बनायो।

त्यति बेला स्थानीय कलाकारबारे पढ्ने अवसर मिलेन। नेपाली कलाकारिता पनि पढाइदिएको भए अझ धेरै जान्ने मौका मिल्थ्यो होला।

null

संग्रहालयको कक्ष छिर्ने बित्तिकै दृश्यमा आउँछन् विभिन्न मूर्ति र कलावस्तु। हरेक कलावस्तुको महत्त्व बुझाउन तिनको छेउमा इतिहास पनि लेखिएको छ।

सयौँ वर्षअगाडि त्यस्ता मूर्ति जून प्रयोजनका लागि जहाँ राखिएको थियो, त्यहाँबाट अपमानजनक रूपले विस्थापित भैसकेका छन्। अब तिनलाई भावी पुस्ताका लागि सुरक्षित राख्न जरूरी छ। म सोच्छु, यिनलाई शिशाभित्र राख्दा पो अझ बढी सुरक्षित होलान् कि!

संग्रहालयको पहिलो तलामै करिब दुई फिट अग्लो १५औँ शताब्दीको हरिशंकरको मूर्ति टेबलमा छ। त्यसैको छेउमा दुई कर्मचारी ठूलो स्वरमा हल्ला गरिरहेका छन्। तीमध्ये एक जना मूर्तिमा क्यामेरा अड्याएर पोज दिइरहेकी छिन्। मूर्तिको ठिकमाथि सूचना छ– प्रदर्शनीका सामान नछुनू होला। यो सूचना भित्र पस्दापस्दै पढ्न सकिन्छ।

null

अलिअगाडि पौवा संग्रह थियो, ती पुराना भइसकेछन्। तिनलाई थप सुरक्षाको खाँचो छ। हैन भने, नासिएरै जाने निश्चित छ।

केही समयअघि त हो, तामझामका साथ ऐतिहासिक पौभा अमेरिकाबाट फर्काइएको थियो। पत्रकार सम्मेलन भइरहँदा त्यस्तो अमूल्य कलामा कर्मचारी स्वयंले कुइनो राखेर बसेको फोटो भाइरल भयो। भक्तपुरको सग्रंहालयले पनि यसको संरक्षणमा थप ध्यान जरूरी छ। 

null

संग्रहालयको माथिल्लो तलाको एक कक्षमा ऐतिहासिक चित्रहरू प्रदर्शनीमा छन्। पर्यटकलाई सजिलो होस् भनेर चित्रको छेउमा कागजको चिर्कटोमा त्यसबारे जानकारी छ। तर यहाँ पनि कर्मचारीहरू ठूलो स्वरमा गफमा व्यस्त छन्। उनीहरूका व्यक्तिगत कुराले पर्यटकलाई समेत असहज बनाइरहेको छ। पर्यटकहरू बेलाबेला दिक्क मानेर कर्मचारीतिर हेर्नुको सन्देश प्रस्टै थियो।

ती दुई कर्मचारीलाई शान्त रहन आग्रह गरेँ। पैसा तिरेर संग्रहालय आउनेले पुस्तकालयजस्तो शान्त वातावरण खोज्छन्।

म संग्रहालयबाट बाहिरिन्छु र पुन: गल्लीहरू चहार्न थाल्छु।