तनहुँमा चैतेधान प्रवर्द्धन आयोजनाबाट ११७७ मेट्रिकटन उत्पादन

तनहुँमा सञ्चालित चैतेधान प्रवर्द्धन आयोजनाले एक वर्षमा पाँच हजार रोपनी क्षेत्रफलबाट एक हजार १७७ मेट्रिक टन चैतेधान उत्पादन गरेको छ।

दमौली– तनहुँमा सञ्चालन भएको चैतधान प्रवर्द्धन आयोजनामार्फत एक वर्षमा एक हजार १७७ मेट्रिकटन चैतेधान उत्पादन भएको छ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको प्राथमिकतामा परेको यस कार्यक्रममार्फत तनहुँ जिल्लामा पाँच हजार रोपनी क्षेत्रफलमा चैते धान गरिएकामा उक्त परिमाणमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ। केन्द्रले १२ सहकारीमार्फत चैते धान प्रवर्द्धन आयोजना सञ्चालन गरेको थियो।

कार्यक्रम सञ्चालनका लागि ५८ लाख ५० हजार रुपैयाँ बजेट रहेकामा ४२ लाख ९४ हजार रुपैयाँ खर्च भएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले जानकारी दिए।

“यो कार्यक्रम कृषक समूह वा सहकारीमार्फत क्लस्टरमा सञ्चालन गरिएको थियो । एउटा क्लस्टरमा कम्तीमा पनि ५० रोपनी क्षेत्रफलमा हुनुपर्ने प्रावधान राखिएको थियो,” उनले भने। चैतेधान प्रवर्द्धन कार्यक्रममार्फत ७५ देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिएको उनले बताए।

कार्यक्रममार्फत कृषकलाई आठ हजार १०० केजी बीउ, १४ मिनिटिलर, चार कम्बाइन मिल, ३२ स्प्रेयर, एक मल्टिक्रप थ्रेसर, २४६ त्रिपाल, तीन डिजिटल तराजु, २०० जुटको बोरा वितरण गरिएको छ भने ८०३ मिटर कुलो निर्माण गरिएको छ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित मिलीजुली कृषि उत्पादक सहकारी संस्थालाई एक लाख ९३ हजार ६२४, बन्दीपुर गाउँपालिका–३ स्थित असौबोटे प्रेम नगर अर्ग्यानिक कृषि समूहलाई तीन लाख ५६ हजार ४७६, व्यास नगरपालिका–८ स्थित रिस्ती मादी कृषक समूहलाई पाँच लाख २१ हजार २६१, व्यास नगरपालिका–९ स्थित फूलबारी कृषक समूहलाई एक लाख ६ हजार ७२५, भानु नगरपालिका–४ स्थित तिलाहार कृषि सहकारी संस्थालाई चार लाख ७७ हजार ५३९, भिमाद नगरपालिका–६ स्थित भिमाद साना कृषि सहकारी संस्थालाई दुई लाख २१ हजार २५०, म्याग्दे गाउँपालिका–४ स्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहलाई दुई लाख ७६ हजार ९०८ रुपैयाँ वितरण गरिएको छ।

त्यस्तै, म्याग्दे गाउँपालिका–३ स्थित स्यागेटारी कृषक समूहलाई तीन लाख ५५ हजार ५३९, सोही वडाको आम्बोटे कृषक समूहलाई तीन लाख ७६ हजार ४८६, व्यास नगरपालिका–१३ स्थित तुलसी कृषक समूहलाई पाँच लाख १८ हजार २४, शुक्लागण्डकी नगरपालिका–११ स्थित क्याङ्दी खोला सिर्जनशील आईपीएम कृषक समूहलाई तीन लाख ४८ हजार २६६ र शुक्लागण्डकी नगरपालिका–१० स्थित युनिक अभियान कृषि सहकारी संस्थालाई दुई लाख ४२ हजार २५० रुपैयाँ सहयोग गरिएको केन्द्रले जनाएको छ।