‘हामीले उठाएको मुद्दा विकासविरोधी हुँदै होइन, निजी क्षेत्रविरोधी होइन त नै। बरु त्यो पवित्र थलोमा केबलकार किन चाहियो भन्ने हाम्रो कुरा हो।’
युनिभर्सिटी अफ टोरन्टो, क्यानडाबाट ‘भूगोल र योजना’ विषयमा पीएचडी गर्ने पूर्वीपहाड तेह्रथुमका डा. सविन निङ्लेखु जातीय पहिचान र सभ्यताबारे नवीनतम सोध गर्ने अध्येता हुन्। पछिल्लो वर्ष निकै चर्चामा रहेको ताप्लेजुङको पाथीभरा (मुक्कमुलुङ)मा भइरहेको प्राकृतिक दोहन र जबरजस्ती केबलकार निर्माणको विपक्षमा उभिएका डा. निङ्लेखु हालै पाथीभरा क्षेत्रमा सञ्चालित वृक्षारोपण कार्यक्रममा सम्मिलित भएर आएका थिए। डा. निङ्लेखुसँग ताप्लेजुङको वस्तुस्थिति, पाथीभरा केबलकारको जोडबल र मुक्कमलुङको पहिचान आधारबारे उकालोले गरेको कुराकानीको सारसंक्षेप:
ताप्लेजुङ–पाथीभराको अहिलेको अवस्था कस्तो छ?
पाथीभरा सम्पूर्ण क्षेत्र चैँ अहिले अलिक तरल अवस्थामा छ। पाथीभरामा केबलकार निर्माण गर्ने काम अदालती प्रक्रियाका कारण अलिक रोकिएको देखिन्छ। आन्दोलन शान्तिपूर्ण तवरमा जारी रहेको छ। ‘तरल’चैँ किन भनेको हो भने राज्यपक्षबाट यसलाई अझै पनि गम्भीरतापूर्वक लिइएको छैन। कुनै पनि बेला छचल्किएर जतासुकै पोखिन सक्ने अवस्थामा छ ताप्लेजुङ र पाथीभरा।
यो अवस्थाबारे कुरा नबुझेको कसले हो— राज्य वा तपाईं अभियन्ताहरूले?
केबलकार कम्पनीका तर्फबाट उहाँहरूले आफ्नो व्यवसायको बारेमा अडान राख्दा भन्ने गरेका दुई भाष्य छ— विकास र निजी क्षेत्र। केबलकारलाई विकासको एउटा ब्रान्डको रूपमा अघि सार्दा समुदायबाट एक किसिमको अनुमति/स्वीकृति पाउन सजिलो र लोकप्रिय ढंगबाट यसबारे कुरा गर्न मिल्ने रहेछ भन्ने देखिएको छ। यसलाई ‘औजार’का रूपमा बढी प्रयोग गरिएको देखिएको छ। विकासलाई एउटा अवधारणाका रूपमा हेरिनुपर्थ्यो/बुझिनुपर्थ्यो तर, विकासलाई औजार मात्रै बनाइयो। यही कारण स्थानीय तहबाट जेजस्तो केबलकारको विरोधमा आवाज उठिरहेको छ, यसको धरातल र बैचारिकी बुझ्ने काम भएकै छैन, विशेषतः राज्य तहमा। विकास भनेको एउटा दृष्टि (भिजन)भन्दा पनि औजार मात्रै हो भनेझैँ जसरी अघि बढ्न खोजिएको छ, यो गलत हो भनेर हामी अघि आएका हौँ। मुख्य कुरा त— जसलाई आस्थास्थल भनिएको छ, त्यो जे छ ठिकै छ, त्यसलाई चलाउने–बिथोल्ने काम किन गर्नु ?
अर्कोतर्फ, प्रकृतिको दोहन किन गर्नु? यहाँनेर राज्यको द्वैध चरित्र र अनुहार झल्किन्छ। अब त्यही भूगोल, त्यही पर्वतमा रहेका वन्यजन्तु, बोटबिरुवा, वनस्पति साह्रै मूल्यवान् छन् भनेर अघिल्लो वर्षसम्म संरक्षित क्षेत्र घोषणा गरियो। अनि फेरि, अर्को साल अर्कै गठन आदेश, समिति बनाएर त्यसलाई संरक्षण क्षेत्र (कञ्चनजंघा)बाट झिक्दै पाथीभरा क्षेत्रमा ल्याइनाको कारण के? अनि फेरि केबलकारका नाममा ५० हजार रुख (स्थानीयका अनुसार) काटिहाल्ने? यो कस्तो दोहोरो चरित्र हो राज्यको? यही बहानामा राज्य, प्रशासन र प्रहरीको अवैधानिक तथा आततायी प्रयोग भएको छ पाथीभरामा। आन्दोलनको कारण र कारक यही हो।
केबलकार बनेपछिको अवस्थामा वार्षिक १० लाख यात्रु त्यो पहाडमा पुग्छन् भने किन विरोध त?
यो केबलकार बनाउने भनेर सक्रिय रूपमा उपस्थिति देखिएको झन्डै सात वर्ष हुन लाग्यो। अनि, आन्दोलन यसरी सक्रिय रूपमा देखिएको तीन वर्ष जति भयो। यो आन्दोलनको रूप त्यसबेला मात्रै देखिएको हो, जब केबलकार निर्माण हुँदै छ भन्ने केही संकेत सार्वजनिक रूपमा देखिन थाले। त्यो भनेको शुरूमा त स्काभेटर हो। भित्र बन्द कोठाभित्र भइरहेका गतिविधि थाहा हुने कुरा भएन। तर, फिल्डमा सेना, प्रहरी, स्काभेटर आदि देखिन थालेपछि त सबैकुरा थाहा भइहाल्यो। त्यसपछि मात्रै वातावरणीय अध्ययन प्रतिवेदनबारे थाहा भयो, जो सार्वजनिक सरोकार/उपलब्धताको सामग्री हो— तर, त्यो पनि सूचनाको अधिकार उपाय लाएर मात्रै हात पर्न सकेको अवस्था छँदै छ। अनि त्यो लुकाइएको रिपोर्टले भनेको होटल, रेस्टुराँ, रिसोर्ट, मार्केट एरियाका भरमा हामीले पाथीभरा जाने १० लाख यात्रुको हिसाब निकाल्नु?

विरोधका खातिर तपाईंहरू किन पाथीभरै पुग्नुभयो, अरूतिर नि छन् केबलकार?
केबलकार आउँदा विकास हुन्छ भन्ने बुझाई हो भने ताप्लेजुङ त अविकसित क्षेत्र रहेछ भन्ने भयो। फेरि विकासको मूल फुटाउने भनेको के केबलकार नै हो त? साँच्चै, विकासको एउटा साँचो (मन्त्र) नै रहेछ केबलकार। विकासको मूल फुटाउने योजनामा अरू पनि प्रस्तावना थिए होलान् नि—सडक, बिजुली, खानेपानी, यातायात, कृषि, सडक खण्ड, सिँचाइ वा रोजीरोटीका अनेक अवसर। नयाँ शहर परियोजना होला, ग्रामीण विद्युतीकरण होला वा अलैँची/ओलनको प्रवर्द्धन होला।
यो पनि : मुक्कुम्लुङ साक्षी छ!
अझ अहिले असार/साउनको विकासे परियोजनामा नगरपालिका/गाउँ/वडाले के–कस्ता विकासका खाका अघि बढाएका रहेछन्—त्यो पनि हेरौँ न। विकासको वास्तविक खाका र योजना त नगरपालिका/गाउँपालिकाको फाइलमा पो होलान् जुन जनताले माग गरेका यथार्थवादी परियोजना हुन सक्छन्। के त्यहाँ केबलकारको माग होला र? जनताले चाहेको विकास खाकाको बैंक नै हुन सक्छ त्यहाँ। एकजना सामान्य मान्छेले बातचितमा मलाई भनेका थिए—जनताले जे मागे, त्यो पुर्याइदियो भने विकास त्यही हो। यसमा धेरै दिमाग खियाउनुपर्ने कारण नै छैन। यथार्थमा पुँजीको धर्म भनेको घुमिरहने हो, अनि जता फाइदा देखिन्छ त्यहीँ लगानी गर्ने हो। अहिले केबलकारका नाममा आज लगानी र भोली फाइदा मात्रै हेरिएको छ, पुँजीको धर्म यही हो।
केबलकार बन्ने कि नबने भन्दा पनि अभियन्ताहरू पहिचानको आन्दोलनमा जोडिएर पाथीभरा पुगेको चर्चा छ नि?
एउटा स्वीकार्नैपर्ने तथ्य के हो भने ‘नो कोशी आन्दोलन’को नाभीमा जोडिएको आन्दोलन हो पाथीभरा–मुक्कमलुङ! पल्लो किराँतमा रहेको मुक्कुमलुङको पहिचान र लिम्बू जातीय इतिहासको सन्दर्भमा जोडिएर यो केबलकार प्रकरण बढी चर्चामा आएको हो। यो जात, धर्मको कुरा गर्दा मार्क्सवाद दृष्टिमा पनि जोडेर हेर्छु म, आफ्नो पढाइअनुसार। पुँजीको विकास र सञ्चय कसरी हुन्छ भन्ने पढाइ र बुझाइको भिन्न धारमा उभिएर हेर्दा देखिने दृश्य अर्कै हुन्छ। मेरा हकमा भने म लिम्बू भएकै कारण पाथीभरामा जोडिएको हुँ। फेरि यो मुक्कुमलुङ क्षेत्र के हो भने त्यहाँबाट अलिक तलतिर जाँदा तमोर खोला आइपुग्छ जुन लिम्बू भाषामा ‘इम्बिरी याङदाम्बा’ अर्थात् लिम्बू सभ्यताको विकास भएको स्थल पनि हो। यसको अर्थ यो सम्पूर्ण भूगोल नै पहिचानको मामलामा अलिकति संवेदनशील हो नै जुन यथावत् छ। यो त पहिचान मात्रै होइन, अस्तित्वको आधारस्तम्भ पनि हो। यहाँ जुन किसिमको कथित विकासे परियोजना ल्याइन्छ, यसले त हाम्रो अस्तित्व र पहिचान नै मेटिन्छ। हो, यही चिन्तन र बैचारिकीबाट उब्जिएको आन्दोलन हो यो। हो, यो अवस्था शायदै अरू केबलकार कम्पनी वा त्यो भूगोलमा कमै देखिएला।
पाथीभरामा ताप्लेजुङका स्थानीयभन्दा बढी बाहिरियाको आन्दोलन चलेको हो भन्ने छ नि?
यो भाष्य पनि गजबको छ। विकासविरोधी वा निजी क्षेत्रका विरोधी भनिदिने अनि चर्का कुरा मात्रै गरिदिने! योभन्दा अगाडी बढेर चलाउने भाष्य भनेको ‘बाहिरिया’ (आउटसाइडर) हो, जुन बढी बिकाऊ पनि हुन्छ। यो बढो रणनीतिक शब्दावली हो। कुनै भाष्य (न्यारेटिभ)को धर्म के हो भने त्यो प्रयोग गरेर ‘इंगेज’ गर्नैपर्छ, गराउनैपर्छ। इंगेज गरेन वा गराएन भने हारिगइन्छ फेरि।
यसमा म पनि आफ्नै तवरमा ‘इंगेज’ गराइरहेको हुन्छु। हामीलाई बाहिरिया भन्नेमा फुङलिङका मेयर अमिर मादेनदेखि सांसद योगेश भट्टराईसम्म छन्। मुक्कुमलुङमा बाहिरका मान्छेले बढी चासो देखाए भन्ने भनाइ उनीहरूको छ। यथार्थमा यो बाहिर भित्रवाला कुरा भनेको संघीयताविरोधी कुरा हो। मलाई पर्ने अन्याय मात्रै मैँले बोध गर्ने, अरूले खेपेको अन्याय चैँ थाहै नपाउने? यस्तो पनि हुन्छ। यो त लोकतन्त्रको विकासलाई अलमल्याउने कुरा हो। जतासुकै चोट परेको होस्, त्यो बाहिर–भित्र सबैतिरबाट बोल्नैपर्छ। अर्को कुरा, के ताप्लेजुङ भन्ने एउटा छुट्टै मुलुक हो जहाँ मेयर अमिर मादेनकै हुकुम मात्र चल्छ? अनि त्यहाँ त्यो मुलुक बाहिरका अरू नागरिकले बोल्ने अधिकारै छैन भन्न मिल्छ? यो त हुकुमी शासन भइहाल्यो नि, पुरानो राजारैती कुराजस्तो। 
संगत र संगतीकै कुरा गर्दा, ताप्लेजुङमा जन्मेर हुर्केकाहरू आज कोही काठमाडौँ आएका होलान्, कोही हङकङ, कोही सिंगापुर वा कोही मध्यपूर्व होलान्। अब उनीहरूले म ताप्लेजुङको, मुक्कुमलुङ मेरो हो भन्न नपाउने? के ताप्लेजुङका ‘इनसाइडर’ भनेको त्यहाँका कांग्रेस र एमाले कार्यकर्ता मात्रै हुन्? अनि यो सारा विवाद र बहसको केन्द्रमा रहेको केबलकारका प्रवर्द्धक, योजनकार स्वयं (चन्द्र ढकाल) कहाँका हुन्? यसकारण यो बहसमा लाग्दै नलागौँ भनेर मैले भन्दै आएको छु।
उसो भए संरक्षण–संवर्द्धनको यो मुद्दामा किन राजनीतिक कित्ताकाट भएको हो त?
पुँजीवादका पनि विभिन्न रूप हुन्छन्। कतै नस्लीय होला कतै जातीय वा कतै आर्थिक, सांस्कृतिक, पुँजीवाद पनि होला नै। यसकारण जातीय पुँजीवादको घर्षणबाट आएको मोडेलझैँ बनेको छ— पाथीभरा केबलकार। अनि यो मोडल किन बढी जीवन्त भइदियो भने यहाँ निजी क्षेत्र छिरेको छ। निजी क्षेत्रमार्फत त्यहाँ एक किसिमको पुँजी छिरेको छ, त्यो पुँजीमाथि हकदाबी जमाउने निस्किसकेका छन्। हो, जे कुरालाई आदिवासीवाद भनिन्छ, जे कुरालाई पर्यावरण र प्रकृति भनिन्छ— त्यसमा संवेदनशील हुनै नपाइने स्थिति देखिएको छ।
यो पनि– मुक्कुम्लुङबारे संसारभरका लिम्बू बोल्न पाउँछन्, त्यो नै मानव अधिकार हो: बैरागी काइँला
यो त फिल्डमा गएमा अझै थाहा हुन सक्छ कि विकासभन्दा पनि गरिखाने र ख्वाउने नियतमा पाथीभरामाथि द्वन्द्व भइरहेको छ। त्यहाँ २०७४ देखि ७७ सालसम्मका तीन चरणमा तीनवटा मूल्यमा एउटै जग्गाको किनबेच भएको छ जसको मूल्य कैयौँ गुणाले बढाएर बेचबिखन गरिएको छ। शुरूमा ७ लाख रुपैयाँमा किनिएको ३ कित्ता जमिन (४० रोपनीजति) पछि गएर २९ करोड रुपैयाँमा बिक्री भएको छ। फेरि यो सबै कारोबार त्यही जग्गामा जोडिएका पाथीभरा दर्शन केबलकार दर्शन प्रालीसम्बद्ध पदाधिकारीमाझ चलेको देखिन्छ। आखिरमा यो के हो त? यसले राज्यको द्वैध चरित्रलाई देखाएको छैन र?
पूर्वाधारको कुरा गर्दा पाथीभरा जाने सडक वा सेवा–सुविधा के छ?
सदरमुकाम फुङलिङदेखि सुकेटार विमानस्थलसम्म ९ किलोमिटर सडक ठिकै छ, सहज छ। तर, सुकेटारदेखि काफ्लेपाटीसम्मको बाटो भने भयावह छ। काफ्लेपाटीबाट बलुडाँडा हुँदै गुराँसे र माथ्लो फेदीसम्मको पैदल बाटो पनि ठिकै छ भन्नुपर्छ। कान्छीथानबाट धागो तान्दै माथि डाँडामा पुगेपछि एकदमै रमाइलो दृश्य देखिन्छ। फक्ताङलुङ र अरू पहाड, कञ्चनजंघाको ३६० डिग्री दृश्य माथिबाट देख्न सकिन्छ। संक्षेपमा त्यो टुप्पो यति रमाइलो ठाउँ छ, त्यही भएर त्यहाँ पाँचतारे होटल, रिसोर्ट बन्दै छ नि। विडम्बना चैँ त्यहाँ छ।
यो मुद्दामा सिंगो बौद्धिक समुदाय वा मिडिया जगत् भने कहाँ छ नि?
विडम्बना यही छ कि हामीले उठाएको मुद्दा विकासविरोधी हुँदै होइन, निजी क्षेत्रविरोधी होइन त नै। बरु त्यो पवित्र थलोमा केबलकार किन चाहियो भन्ने हाम्रो कुरा हो। त्यसमाथि एकपटक वातावरणीय अध्ययन प्रतिवेदन पल्टाएर हेर्नुहोस् न, धेरै कुरा थाहा लाग्छ। प्रतिवेदनमा पाथीभरा मन्दिर त यथावत् छ। तर त्यही डाँडोमा लिम्बूहरूको देवीथान(माङ) छोपेर रिसोर्ट बनाइएको सचित्र विवरण देखिन्छ प्रतिवेदनमा। त्यही देवीथानमाथि केबलकारको टप स्टेसन छ, त्यहाँ मार्केट एरिया र रेस्टुराँ छ। आखिरमा यो कस्तो विकास हो?
अर्कातिर, मिडियाको दृष्टि र बुझाइ पनि गजबकै लाग्छ। यता मधेश वीरगन्जमा हिन्दू–मुस्लिम झडप भएका बखत हिन्दूत्वको अध्ययन गर्न रुचाउने अध्येता अरुबेला कहाँ हुन्छन्? त्यस्तै, पाथीभरा केबलकारको मुद्दामा माथि बलुडाँडामा प्रहरी प्रशासनले स्थानीयमाथि गोली चलाएका बेला मात्रै समाचार बन्ने, सोधखोज हुने तर अरुबेला तैँ चुप मैँ चुप रहने मिडियालाई के भन्ने? यसकारण ताप्लेजुङ र विशेषतः मुक्कमलुङ क्षेत्र एकदमै तरल अवस्थामा छ जुन स्थल जुनैबेला जे पनि हुन सक्छ। यसको संवेदनशीलतालाई यसैगरी जिस्क्याइरह्यो भने र मुक्कमुलङको महत्वलाई नजरअन्दाज गरिरहने हो भने यो तरलता घातक बन्न सक्ने देखिन्छ। यसलाई कुन रूपमा र कसरी सम्बोधन गर्ने भन्ने सम्पूर्ण जिम्मेवारी राज्यसँग छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
