आर्थिक वर्ष २०८१/८२ मा मोरङमा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ।
बेलबारी– मोरङको बेलबारीमा जंगली हात्तीको आक्रमणबाट यसै साताको आइतबार ४५ वर्षीया अमिना राजवंशीको मृत्यु भयो। उनीजस्तै एक वर्षको अवधिमा जंगली हात्तीको आक्रमणबाट मोरङमा पाँच जनाको मृत्यु भएको छ।
बेलबारी नगरपालिका-८ बाँसबारीकी राजवंशी घरनजिकै खेतमा पानी हाल्न गएको बेला जंगली हात्तीको आक्रमणमा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कोपिला चुँडालले जानकारी दिए। बिहीबार बिहान बेलबारी-१० भाउन्नेका ४१ वर्षीय अमित लिम्बू जंगली हात्तीको आक्रमणबाट गम्भीर घाइते भएको बताउँदै उनको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको चुँडालले उल्लेख गरे।
आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा जंगली हात्तीको आक्रमणबाट तीन महिला र दुई पुरुषको मृत्यु भएको जिल्लास्थित डिभिजन वन कार्यालयले जनाएको छ। सुन्दरहरैचा नगरपालिका क्षेत्रका तीन, बेलबारी नगरपालिका र लेटाङ नगरपालिका क्षेत्रका एक/एक जनाको मृत्यु भएको कार्यालयका वन अधिकृत विमल केसीले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक चुँडालका अनुसार गत फागुन २५ गते लेटाङ नगरपालिका-९ जाँतेका ४३ वर्षीय मनबहादुर इवाहाङ लिम्बूको घर नजिकै कोपिला सामुदायिक वनमा हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको थियो। वन फडानी, आगलागीलगायत कारणले जंगली हात्ती सुरक्षा तथा आहारको खोजीमा बस्ती पस्न थालेकाले आक्रमणका घटना बढ्न थालेका उनको भनाइ छ।
गत पुस ५ गते सुन्दरहरैचा-१० की गंगामाया श्रेष्ठ, पुस १५ गते सुन्दरहरैचा-५ की चन्द्रकुमारी लिम्बू र गत माघ ५ गते सुन्दरहरैचाका हरिप्रसाद घिमिरेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको वन अधिकृत केसीले बताए।
डिभिजन वन कार्यालयको तथ्यांकअनुसार २०६८ सालयता हात्तीको आक्रमणबाट १७ जनाको मृत्यु भइसकेको छ। उक्त अवधिमा नौ वटा हात्तीको मृत्यु भएको कार्यालयले जनाएको छ। तीमध्ये प्राकृतिक कारणले चार, चोरीतस्करीबाट दुई, गोली हानेर एक, बेवारिसे एक र करेन्ट लागेर एउटा हात्तीको मृत्यु भएको उनले जानकारी दिए।
दुई वर्षदेखि मोरङको पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा जंगली हात्तीको बिज्याइँ बढेको लक्ष्मी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सुजय गौतमले बताए। “हरेक राति जंगली हात्ती बस्तीमा छिरेर त्रसित बनाउने, बालीनाली खाइदिएर किसानलाई सास्ती दिने गरेका छन्,” उनले भने।
जंगल आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउनुका साथै अनावश्यक कामबाहेक रातिको समयमा घरबाट ननिस्कन र घर बाहिर उज्यालो बनाइराख्न डिभिजन वन कार्यालयले सबैलाई अनुरोध गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
