तिब्बतमा ‘मेगा ड्याम’ निर्माण शुरू, भारत र बांग्लादेशमा चिन्ता

मध्य चीनको थ्री गर्जेज बाँधभन्दा ठूलो अनुमान गरिएको यो बाँधमा पाँच जलविद्युत केन्द्र निर्माण हुनेछन्। यसको कुल लागत करिब १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।

तिब्बतमा ‘मेगा ड्याम’ निर्माण शुरू, भारत र बांग्लादेशमा चिन्ता
तस्वीर:एएफपी
पश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रको न्यिंगची शहरमा रहेको यार्लुङ जाङबो ग्रान्ड क्यान्यनको दृश्य।

चीनले तिब्बतमा यार्लुङ साङ्पो नदी (भारतमा ब्रह्मपुत्रका नामले चिनिन्छ)मा शनिबारदेखि विशाल बाँध निर्माण शुरू गरेको छ। प्रधानमन्त्री ली कियाङको उपस्थितिमा शिलान्यास गरिएको यो परियोजनाले चीनको कार्बन तटस्थता लक्ष्य र तिब्बत क्षेत्रको आर्थिक विकासलाई जोड्ने बेइजिङको दाबी छ। चीन सरकारले गत डिसेम्बरमा यस परियोजनालाई अनुमोदन गरेको थियो।

दक्षिणपूर्वी तिब्बतको निङ्चीमा आयोजित शिलान्यास समारोहमा अधिकारीहरूले यस परियोजनाअन्तर्गत उत्पादन हुने विद्युत्बाट तिब्बतको विद्युत् मागलाई सम्बोधन गरिने र उत्पादित बिजुली मुख्यतया खपतका लागि अन्य क्षेत्रमा प्रवाह गरिने जानकारी दिए। यसले तिब्बतको स्थानीय विद्युत् आवश्यकतालाई पनि पूरा गर्ने बताइएको छ।

यो बाँध मध्य चीनको याङत्से नदीमा रहेको थ्री गर्जेज बाँधभन्दा पनि ठूलो हुने अनुमान गरिएको छ। यस परियोजनामा पाँच वटा जलविद्युत् केन्द्रहरू निर्माण हुनेछन्। यसको कुल लगानी लगभग १६७.१ अर्ब अमेरिकी डलर हुने अनुमान गरिएको छ।

यद्यपि, यस विशाल बाँध निर्माणका कारण नदीको पानी रोकिने हुँदा भारत र बांग्लादेशका लाखौँ मानिसमा गम्भीर प्रभाव पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ। ब्रह्मपुत्र नदी भारत र बांग्लादेशका लागि जलस्रोतको महत्त्वपूर्ण आधार हो।

गत जनवरीमा भारतले तिब्बतमा यस परियोजनाका बारेमा चीनसँग आफ्नो चासो व्यक्त गरेको थियो। भारतको विदेश मन्त्रालयले चीनलाई ‘ब्रह्मपुत्रको तल्लो तटीय राज्यको हितमाथिको गतिविधिले क्षति नपुर्‍याओस्’ भन्ने सुनिश्चित गर्न आग्रह गरेको थियो। भारतले आफ्ना हितको रक्षाका लागि आवश्यक कदम चाल्ने पनि बताएको थियो।

यस सम्बन्धमा गत डिसेम्बरमा बेइजिङको विदेश मन्त्रालयले यो परियोजनाले तल्लो तटीय क्षेत्रमा कुनै नकारात्मक प्रभाव नपार्ने बताएको थियो। साथै, चीनले नदीको तल्लो भेगका देशसँग पनि सम्पर्क कायम राख्ने प्रतिबद्धता जनाएको थियो।

पर्यावरणविद्हरूले पर्यावरणीय दृष्टिले संवेदनशील तिब्बती पठारमा यस्ता ठूला परियोजनाको अपरिवर्तनीय प्रभावबारे पनि चेतावनी दिएका छन्। यसले यस क्षेत्रको पारिस्थितिक प्रणालीमा दीर्घकालीन असर पार्न सक्ने उनीहरूको भनाइ छ।

छिमेकी तथा प्रतिद्वन्द्वी एशियाली शक्ति भारत र चीनबीच हजारौँ किलोमिटर लामो सीमा साझा रहेको छ।