नेप्से परिसूचकमा झिनो सुधार, कारोबार रकम भने २१ अर्ब नाघ्यो

आइतबार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा पुग्दा २१ अर्ब ४६ करोडभन्दा बढीको कारोबार भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार सामान्य सुधार देखिए पनि कारोबार रकम भने करिब २१ अर्ब ४६ करोड रुपैयाँ नाघेको छ। आइतबार नेप्से परिसूचक ०.३२ अंकले बढेर २८७०.९५ को बिन्दुमा कायम भएको हो। 

दिनभरको कारोबारमा ३१६ कम्पनीका पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर कुल एक लाख ७८ हजार १७६ पटक खरिदबिक्री भएका छन्। यसबाट कुल २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आजको कारोबारमा मिश्रित परिणाम देखियो। होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फन्ड, निर्जीवन बीमा र अन्य समूहका उपसूचकहरू बढेका छन्। यीमध्ये अन्य समूह सबैभन्दा बढी ३.३६ प्रतिशतले वृद्धि भयो भने जीवन बीमा १.४०, निर्जीवन बीमा १.३७, होटल तथा पर्यटन १.२४ र म्युचुअल फन्ड ०.२५ प्रतिशतले बढे।

यस्तै, बैंकिङ, विकास बैंक, वित्त, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार समूहका उपसूचकहरूमा भने गिरावट आएको छ। बैंकिङ समूह १.३८ प्रतिशत र वित्त समूह २.२६ प्रतिशतले घटेका छन्।

आजको कारोबारमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड र सान्भी इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। अर्कोतर्फ, समृद्धी फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा भने सर्वाधिक ८.८८ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रि–इन्स्योरेन्स कम्पनी लिमिटेडको ९८ करोड ५५ लाख ५२ हजार ९८९ रुपैयाँ बराबरको शेयर किनबेच भयो। शेयर संख्याका आधारमा भने सबैभन्दा बढी सिटिजन्स सुपर–३० म्युचुअल फन्डको ३१ लाख सात हजार २०० कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।