विशेष रिपोर्ट
एमाले सांसदसमेत रहेका प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको समूहले प्रभु सहकारीमा रहेको बचतकर्ताको एक अर्ब रुपैयाँ आफ्ना विभिन्न कम्पनीमा लगेर अपचलन गरेको छ।
काठमाडौँ– सामाखुशी बस्ने बागलुङ, बुर्तिबाङका हीराप्रकाश गौचन २२ वर्षअघि अमेरिका जाँदा उमेरले ६० लागिसकेका थिए। आर्थिक समस्याले घेरेपछि तीन वर्ष ताइवान गएर काम गरेका उनी त्यहाँ राम्रो कमाइ नभएको र घरायसी कारोबार लथालिंग भएपछि दलाललाई १६ लाख बुझाएर श्रीमतीसहित टुरिस्ट भिसामा अमेरिका पुगेका थिए।
अमेरिकामा कमाउन थालेपछि उनले नातेदारसमेत पर्ने प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनकै रेमिट्यान्स सेवा प्रदायक कम्पनी, प्रभु मनी ट्रान्सफरबाट नेपालमा पैसा पठाउन थाले। त्यहीक्रममा २०६५ सालमा फ्लोरिडास्थित प्रभु मनी ट्रान्सफरको कार्यालयमा देवीसँग उनको भेट भयो।
“देवी भट्टचन मैले चिनेकै मान्छे, आफ्नै गाउँठाउँको, आफन्त पनि पर्ने। अमेरिकामा भेट हुँदा उसले कमाएको पैसा प्रभु बैंकमा जम्मा गरे हुन्छ भन्यो। आफन्ती मान्छेले नै भनेपछि मैले पनि हुन्छ भनेँ,” केही दिनअघि हामीसँगको कुराकानीमा हीराप्रकाशले सुनाए।
देवीसँगको त्यो भेटपछि हीराप्रकाशले प्रभु बैंकमा जम्मा गर्ने पैसा पठाउँदै गए। उनी पठाएको पैसा बैंकमै जम्मा भइरहेको विश्वासमा थिए। त्यो पैसा सहकारीमा होला भन्ने त कल्पना नै थिएन।
“२०७१ सालमा नेपाल आउने बेला मैले पैसाको हिसाब मागेँ, त्यहाँको (अमेरिकास्थित प्रभु मनी ट्रान्सफरको) कर्मचारीले स्लिप दिँदै गैरीधाराको को–अपरेटिपमा जाऊ भन्यो। त्यतिबेला सहकारी भन्ने थाहा थिएन, मैले सोचेँ– प्रभु बैंकको लैनचौर शाखा होला। हामीले कम्प्युटरमा हेर्दा पनि प्रभु बैंक लैनचौर देखिन्थ्यो,” उनले भने।
एक दशक अमेरिका बसेर २०७१ सालमा नेपाल फर्केका हीराप्रकाश त्यसको केही दिनपछि प्रभु सहकारीको गैरीधारा शाखा पुगे।
“त्यो बेला मेरो ३० लाख रुपैयाँ जम्मा भएको थियो, बुढीको नामबाट ४० लाख। पैसा सहकारीमै देखेपछि मैले बैंकमा राख्छु भनेँ, तर बैंकमा ७–८ पर्सेन्ट मात्र ब्याज दिन्छ, यहाँ १३ पर्सेन्ट पाइन्छ, यहीँ राख्नूस् भन्यो,” उनले सुनाए, “फेरि सहकारीमा काम गर्ने पनि आफन्त पर्ने नै थियो। मलाई कुरा ठिकै लाग्यो।”
बीचमा उनले छोरीका लागि जग्गा किन्नलाई १० लाख रुपैयाँ निकाले, बाँकी रकम सहकारीमै थियो। ब्याज राम्रो पाइने, चाहेका बेला पैसा झिक्न पनि मिल्ने भएकाले यताउता केही सोचेनन्।
२०७९ सालदेखि भने सहकारीले माग्दा पनि पैसा दिन छाड्यो। त्यसपछि पो हीराप्रकाश झस्किए। जब कुरा बुझ्दै गए, उनलाई फसिएछ भन्ने लाग्यो।
“तीन वर्ष भयो, एक सुका पनि दिएका छैनन्,” उनले भने, “हामी बुढाबुढीले बुढेसकालमा रेस्टुरेन्टका जुठा भाँडा माझेर कमाएको पैसा पो हो।”
८२ वर्षीय हीराप्रकाश बचत फिर्ता पाउने आसमा काठमाडौँ महानगरपालिका–२६, गोंगबुस्थित प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडमा कतिपटक धाए भन्ने हिसाब नै छैन। कहीँकतैबाट पैसा आउने गुञ्जायस नदेखेपछि २०८१ चैतमा उनी कमलादीस्थित प्रभु ग्रुपको केन्द्रीय कार्यालय पुगे।
देवी त्यहीँ थिए। “त्यहाँ गएर पैसा माग्दा उसले जग्गा लेऊ भन्यो, जग्गा बिक्री नभएकाले समस्या आएको सुनायो। जग्गाको मूल्य फेरि आनाकै ३०–४० लाख रहेछ,” उनले सुनाए, “नआत्तिनु, पैसा कहीँ जाँदैन, जग्गाजमिन किनबेच भएको छैन भन्यो। हाम्रो पैसा जग्गामा लगानी गरेको रहेछ।”
प्रभु को–अपरेटिभबाट पछिल्लो तीन वर्षयता सुको बचत फिर्ता नपाउने हीराप्रकाशजस्ता धेरै छन्। तीमध्ये उकालोको सम्पर्कमा आएका धेरैले परिचय खुलाउन चाहेनन्। कारण, यो सहकारीका बचतकर्तामध्ये धेरैजसो बागलुङ र म्याग्दी स्थायी ठेगाना भएका थकाली समुदायका छन्, जो कुनै न कुनै रूपमा देवीको नाता सम्बन्धमा जोडिन्छन्।
सहकारीको अध्यक्ष विनोद थकाली छन् जो देवीकै सहोदर बहिनी–ज्वाइँ हुन्। ज्वाइँलाई अध्यक्ष बनाए पनि सहकारी भने खासमा भट्टचनले नै चलाइरहेको घटनाक्रमले देखाउँछन्।
बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि प्रभु को–अपरेटिभले काठमाडौँ उपत्यकासहित चितवन, बारालगायत ठाउँमा रहेका जग्गा बजारभाउभन्दा निकै महँगोमा बचतकर्तालाई भिडाउन खोजिरहेको छ। ७० लाख रुपैयाँ बचत फिर्ता लिन बाँकी एक बचतकर्ताले काठमाडौँको सीतापाइला लगायतका ठाउँमा त्यस्तो जग्गा हेर्न गए पनि निकै महँगो लागेर नलिएको बताए।
“मेरो बचतले त दुई आना पनि नआउने भएपछि समूह नै मिलेर पनि जग्गा लिन खोज्यौँ, तर असाध्यै महँगो भयो,” उनले भने, “७० प्रतिशत बचतकर्ता थकाली समुदायकै छन्। ऊविरुद्ध जाऊँ भने थकाली समुदायबाटै बहिष्कार भइएला भन्ने पिर। अरूको सहकारी भएको भए यसरी कहाँ चुप लागेर बस्थ्यौँ र?”
प्रभु को–अपरेटिभबाट परिवारसमेतको करिब एक करोड बचत फिर्ता पाउन बाँकी रहेका अर्का बचतकर्ताले तीन वर्षमा जम्माजम्मी एक लाख रुपैयाँ फिर्ता पाएको बताए। देवीप्रकाशको सहकारी भएकै कारण आफूले सहकारीमा पैसा राखेको, सबैले देवीलाई हेरेरै पैसा दिएको उल्लेख गर्दै उनले भने, “थकाली समुदायका सबैजसोको पैसा त्यसमा छ। आफ्नै समुदायका व्यक्तिको सहकारी भएकाले पनि खुलेर कसैले केही भन्न सक्दैनन्।”
तत्काल पैसा फिर्ता पाउने नदेखिएपछि सहकारीले भनेअनुसार जग्गा लिनेबारे सोचेको, तर निकै महँगो भएपछि पछि हटेको उनको भनाई छ। “बचतकर्ताको पैसाले अन्धाधुन्ध जग्गा किनेको रहेछ, गोदाबरीमा मात्र १२ रोपनी जति जग्गा रहेछ। चितवनतिर, फास्ट ट्र्याक बनिरहेको ठाउँतिर र सिमरातिर समेत गरेर करिब २०० रोपनी जग्गा छ रे,” उनले भने, “तर ३० लाख पर्ने जग्गालाई एक करोड भन्दा रहेछन्। त्यही भएर कसैले जग्गा सकारेका छैनन्।”
हामीले प्राप्त गरेको प्रभु को–अपरेटिभको आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदनअनुसार संस्थाको कुल सम्पत्ति एक अर्ब ५४ करोड छ भने तिर्नुपर्ने दायित्व एक अर्ब ३३ करोड छ। सहकारीमा ८७० बचतकर्ताको ९९ करोड ७७ लाख रुपैयाँ निक्षेप र सहकारीबाट प्रवाहित कर्जा एक अर्ब ४५ करोड छ। प्रवाह भएको यही कर्जाले बचतकर्ताको रकम सञ्चालकले कसरी अपचलन गरेका छन् भन्ने देखाउँछ। किनभने, बचतकर्ताको रकममध्ये अधिकांश सञ्चालकका विभिन्न कम्पनीमा लगिएको छ।
निक्षेपबाहेक घरभाडा कर, ब्याज कर लगायतमै संस्थाको दायित्व करिब १३ करोड छ।
लेखा परीक्षण प्रतिवेदनअनुसार २०८१ असारसम्म सहकारीमा जम्मा १६ लाख ४१ हजार नगद छ, जसले यसको संकटग्रस्त अवस्था देखाउँछ।
सहकारी विभागले २०७९ जेठमा सुशासन प्रवर्द्धनका लागि एकीकृत निर्देशन जारी गर्दै सहकारीहरूले जहिल्यै कुल बचतको कम्तीमा १० देखि १५ प्रतिशत तरलता कायम गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको थियो। विभागको निर्देशनअनुसार प्रभु को–अपरेटिभमा न्यूनतम नौ करोड ९७ लाख तरलता कायम हुनैपर्छ। तर बचतकर्ताको रकम अन्धाधुन्ध निजी कम्पनी र जग्गामा लगानी गर्दा सहकारी संकटग्रस्त बनेको छ, बचतकर्ताले तीन वर्षदेखि रकम फिर्ता पाउन सकेका छैनन्।
ठगीको योजनामुताबिक हब को–अपरेटिभ मर्ज
देवीप्रकाशका बहिनी–ज्वाइँ विनोद थकाली अध्यक्ष रहेको प्रभु को–अपरेटिभमा दक्ष पौडेल ‘सुभाष’ उपाध्यक्ष, रामबहादुर घर्ती सचिव र दोलखराज निरौला कोषाध्यक्ष छन्। सदस्यहरूमा अनुप अधिकारी, सञ्जय विक्रम शाह र राधिका कुमारी भट्ट छन्।
२०८० वैशाख २५ गते काठमाडौँ महानगरपालिका–४ बालुवाटारमा मुख्य कार्यालय रहेको हब को–अपरेटिभ सर्भिस लिमिटेडलाई प्रभु को–अपरेटिभमा मर्ज गरियो। हब को–अपरेटिभमा अध्यक्ष दक्ष पौडेल थिए, जो सहकारी विकास बोर्डका सञ्चालक र सहअध्यक्ष भइसकेका व्यक्ति हुन्। हबसँग मर्ज हुनुअघि प्रभु को–अपरेटिभको उपाध्यक्षमा खगेन्द्र भट्टचन, सचिवमा ध्रुवचन्द्र धिताल र सञ्चालकहरूमा सुलोचना कँडेल, सिर्जना पौडेल, सञ्जय विक्रम शाह र अनुप अधिकारी थिए।
प्रभुसँग मर्ज हुनुअघि नै हब को–अपरेटिभ समस्याग्रस्त थियो, बचतकर्तालाई रकम फिर्ता गर्न सकेको थिएन। २०८० वैशाखसम्म हब को–अपरेटिभमा बचतकर्ताको आठ करोड ३३ लाख निक्षेप थियो, उसले नौ करोड ६ लाख कर्जा प्रवाह गरेको थियो। हब को–अपरेटिभको जगेडा कोषको अर्थात् सञ्चित नोक्सानी मात्र सात करोड ४२ लाख थियो।
२०८० वैशाखसम्मको वित्तीय विवरणका आधारमा तयार २०७९/८० को लेखा परीक्षण प्रतिवेदनमा सहकारी ऐन तथा नियमावलीमा भएको व्यवस्थाविपरीत हब को–अपरेटिभले अधिकांश कर्जा बिनाधितो लगानी गरेको, सदस्यहरूलाई पुरानो कर्जा चुक्ता नहुँदै थप कर्जा दिएको उल्लेख छ। स्रोतको सही उपयोग नगरेको, बढ्दो घाटा र लगानीमा रहेको जोखिमका कारण बचतकर्ताको निक्षेप नै जोखिममा रहेको प्रतिवेदनले औँल्याएको थियो।
यति हुँदाहुँदै प्रभु सहकारीसँग हब को–अपरेटिभ कसरी मर्ज भयो? यसपछाडि भट्टचनका विभिन्न स्वार्थले काम गरेको देखिन्छ। जस्तो, प्रभु सहकारी बागमती प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय मातहत रहेको सहकारी महाशाखाले नियमन गर्ने क्षेत्राधिकारमा पर्थ्यो। हब को–अपरेटिभ भने संघअन्तर्गतको सहकारी विभागमा दर्ता भएको हुँदा उसलाई मर्ज गर्दा प्रभु को–अपरेटिभका निम्ति देशैभर शाखा खोलेर बचत संकलन गर्ने बाटो खुल्थ्यो।
हब को–अपरेटिभले बैंकहरूले जस्तै अन्तरसहकारी कारोबार गर्थ्यो जसअन्तर्गत सहकारीलाई सदस्य बनाएर त्यसअन्तर्गतका एउटा सहकारीको चेक अर्को सहकारीबाट पनि साट्न र जम्मा गर्न मिल्ने सुविधा थियो। हब को–अपरेटिभको अध्यक्ष रहेका दक्ष पौडेल प्रभु ग्रुपका अध्यक्ष देवी भट्टचनका भित्रिया हुन् जो प्रभु ग्रुपका पूर्वसञ्चालकसमेत थिए। यहीकारण पनि समस्याग्रस्त हुँदाहुँदै हब को–अपरेटिभलाई प्रभु को–अपरेटिभमा मर्ज गरियो।
सहकारी विभागका पूर्वरजिस्ट्रार (हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव) नमराज घिमिरे भने कमजोर सहकारी वित्तीय अवस्था बलियो भएका सहकारीसँग मर्ज हुनु सामान्य विषय भएको बताउँछन्। मर्ज भनेकै कमजोर संस्था उचाल्नलाई गरिने भएकाले त्यसबाट कमजोर संस्थालाई फाइदा हुने उनले बताए। प्रभु को–अपरेटिभका तत्कालीन सञ्चालक मर्जपछि हब को–अपरेटिभको दायित्व व्यवस्थापन गर्न तयार भएपछि नै दुवै संस्था गाभिएको उल्लेख गर्दै उनले भने, “यो मर्ज कानुनसम्मत हो। यस्तो अवस्थामा बलियो संस्थाका सञ्चालकलाई भोलि यो संस्थाको दायित्व पनि तपाईंहरूले ब्यहोर्नुपर्छ भनेर भनिएको हुन्छ। उनीहरु तयार भएपछि नै मर्ज गरिएको हो।”
तर त्यतिञ्जेल सहकारीमा समस्या आइसकेकाले देशैभरबाट बचत संकलन गर्ने देवी भट्टचनको योजनामा भने धक्का लाग्यो। २०७९ असारमा प्रभु को–अपरेटिभको जगेडा कोष १० करोडले नाफामा थियो, मर्जसँगै हबको घाटा व्यवस्थापन गर्दा २०८० असारमा ३ करोड ३२ लाखमा खुम्चिन पुग्यो। अहिले बचतकर्ताको रकम फिर्ता दिन नसकेको प्रभु को–अपरेटिभले सदस्यहरूलाई लोभ्याउन ‘नुनदेखि सुनसम्म प्रभु, उत्पादनदेखि उपभोक्तासम्म प्रभु’ जस्ता नारा दिइरहेको छ। “विश्वव्यापी रूपमा फैलिएको कोभिड महामारी र त्यसपछिको आर्थिक मन्दीबाट आक्रान्त साना व्यवसायीहरूलाई यो योजनामा आबद्ध गराई प्रभु ग्रुपको समन्वयमा नुनदेखि सुनसम्मका सम्पूर्ण सेवा प्रवाह गरिनेछ,” प्रभु को–अपरेटिभको २०८१ पुसमा सम्पन्न १४औँ वार्षिक साधारणसभा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।
सहकारीको बचत निजी कम्पनी र प्रभु ग्रुपका सञ्चालकको खातामा
सदस्यहरूलाई यसरी रुमानी नाराले लोभ्याउने प्रयत्न गरिरहेको प्रभु को–अपरेटिभले यथार्थमा भने बचतकर्ताको बिल्लीबाँठ बनाएको छ। बचतकर्ताको रकम सहकारी सञ्चालकले आफ्ना निजी व्यवसाय, घरजग्गा कारोबार लगायतमा लगानी गरेर अपचलन गर्दा बचत तथा ऋणको कारोबार गर्ने अधिकांश ठूला सहकारी समस्याग्रस्त बनेका छन्। प्रभु को–अपरेटिभ तिनैमध्ये हो।
सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ अनुसार ठूलो पुँजी र उच्च राजनीतिक पहुँच भएका व्यक्ति सहकारी सञ्चालक हुँदा सहकारी विभागका कर्मचारी तहबाट नियमनमा रहन अप्ठेरो मान्ने र ‘माथि’बाटै आदेश दिन लगाउने प्रवृत्ति रहेको उल्लेख छ। यहीकारण सहकारी नियमन झन् फितलो हुँदै गएको भन्दै प्रतिवेदनमा लेखिएको छ, “घरजग्गा, शेयर र सवारीमा लगानी गर्दा धेरै सहकारी संस्थामा वित्तीय असन्तुलन र संकट देखिएको।”
प्रभु को–अपरेटिभमा देखिने अनुहार अरू भए पनि प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनको हालीमुहाली छ। संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा औँल्याइएझैँ उनी राजनीतिक पहुँचवालामध्ये हुन् जो अहिले सत्तारूढ नेकपा एमालेका तर्फबाट समानुपातिकतर्फका प्रतिनिधिसभा सदस्य छन्।
प्रभु ग्रुपअन्तर्गत अहिले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, रेमिट्यान्स, प्रविधि, पर्यटन लगायतका ३६ कम्पनी छन्। हेलिकप्टरदेखि टेलिभिजन र ई–कमर्स व्यवसायमा समेत प्रभु ग्रुपको लगानी छ। हाम्रो खोजबिनका क्रममा प्रभु सहकारीमा बचतकर्ताले जम्मा गरेको ठूलो रकम देवी भट्टचन, उनका आफन्त र प्रभु ग्रुपअन्तर्गतका कम्पनीमा गएको तथ्य फेला परेको छ।
जस्तो, हामीले प्राप्त गरेको २०८१ असार मसान्तसम्म प्रभु को–अपरेटिभबाट प्रवाह भएको ऋणसम्बन्धी विवरण हेर्दा प्रभु सहकारीबाट देवी भट्टचनको नाममा आठ करोड ५० लाख, उनका भतिज (जसलाई देवीले छोरा नै भन्ने गर्छन्) मिजास भट्टचनको नाममा आठ करोड रुपैयाँ गएको देखिन्छ। त्यस्तै, ताराकुमारी भट्टचनको नाममा १० करोड रुपैयाँ गएको छ। ताराकुमारी, देवीकै सहोदर बहिनी हुन्। सहकारीका अध्यक्ष विनोद थकाली उनकै श्रीमान् हुन्।
प्रभु सहकारीका उपाध्यक्ष दक्ष पौडेल ‘सुभाष’को नाममा एक करोड ३८ लाख, हब को–अपरेटिभसँग मर्ज हुनुअघि सहकारीका सचिव रहेका ध्रुवचन्द्र धितालको नाममा पाँच करोड रुपैयाँ गएको देखिन्छ। धिताल प्रभु ग्रुपमा आबद्ध छन्। ग्रुपअन्तर्गतको नेपाल सिपिङ र प्रभु पेमेन्ट प्रालिमा उनको शेयर लगानी छ। त्यस्तै, सहकारीबाट सुभाष अमात्यको नाममा सात करोड ३२ लाख ऋण गएको देखिन्छ। अमात्य प्रभु लाइफ इन्स्योरेन्स सञ्चालक समितिका पूर्वअध्यक्ष र प्रभु हेलिकप्टर लिमिटेडका अध्यक्ष हुन्।
सुरेन्द्र सुवेदीका नाममा पनि दुई करोड ऋण गएको देखिन्छ। सुवेदी प्रभु ग्रुपमा देवी भट्टचनकै टिममा रहेर काम गर्छन्।
सहकारी ऐनको दफा ५० को उपदफा ६ ले सहकारीहरूले बचत रकम सदस्यबीच ऋण लगानी, सरकारले जारी गरेको ऋणपत्र वा सहकारी बैंक वा साना किसान लघुवित्त संस्थाको शेयर खरिद गर्नबाहेक अरू अचल सम्पत्ति खरिद, पूर्वाधार निर्माण, कारोबारमा लगानी, फर्म, कम्पनी वा अन्य कुनै बैंकको शेयर खरिद वा अन्य कुनै प्रयोजनमा उपयोग गर्न रोक लगाएको छ। यसविपरीत प्रभु सहकारीको अधिकांश रकम प्रभु ग्रुपअन्तर्गतका र यसका सञ्चालकहरूका अन्य कम्पनीमा गएको देखिन्छ।
जस्तो बचतकर्ताको आठ करोड ५३ लाख लाख रुपैयाँ प्रभु ग्रुपकै कम्पनी प्रभु हेलिकप्टरमा लगानी भएको देखिन्छ। २०८१ असार मसान्तसम्ममा तीन करोड ६२ लाख, तीन करोड २८ लाख र एक करोड ६२ लाख गरेर तीन पटक प्रभु हेलिकप्टरमा सहकारीको पैसा लगिएको देखिन्छ।
प्रभु हेलिकप्टर त्यही कम्पनी हो, जसले केही समयअघि मात्र ६ करोड ६० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा आवेदन दिएको थियो। तर प्रतिशेयर नेटवर्थ ९० रुपैयाँभन्दा कम भएपछि बोर्डले प्रभु हेलिकप्टरसहित १४ कम्पनीको आवेदन प्रक्रिया रोकेको थियो। यी कम्पनीलाई पुनः निवेदन पेश गर्न बोर्डले सूचना जारी गरेको थियो।
प्रभु ग्रुप प्रालिकै नाममा सहकारीबाट तीन पटकमा गरेर १५ करोड ८६ लाख रुपैयाँ गएको देखिन्छ। ग्रुप अन्तर्गतकै प्रभु इनर्जी प्रालिमा १० करोड, प्रभु नेटवर्कमा पाँच करोड र प्रभु कम्प्लेक्स प्रालिको नाममा पनि सहकारीबाट पाँच करोड रुपैयाँ ऋण गएको भेटिएको छ।
त्यस्तै, नेपाल इन्भेस्टमेन्ट प्रालि नामको कम्पनीमा तीन पटकमा करिब २५ करोड ३८ लाख रकम गएको छ। नेपाल उद्योग वाणिज्य महासंघले आफ्ना सदस्यहरूको सूचीमा राखेको विवरणअनुसार यो कम्पनीको निर्देशक सञ्जयविक्रम शाह छन्। शाह प्रभु को–अपरेटिभका सञ्चालक सदस्य र प्रभु ग्रुपअन्तर्गतकै प्रभु मनी ट्रान्सफरका कर्मचारी हुन्।
शाह प्रभु ग्रुपअन्तर्गतका सामान्य कर्मचारी रहेको, उनको नाममा ऋण लिएर देवी भट्टचनले नै अन्यत्र प्रयोग गरेको प्रभु ग्रुपकै एक अधिकारी बताउँछन्। “उहाँ सामान्य कर्मचारी हो, डिसिजन मेकिङमा उहाँको कुनै संलग्नता हुँदैन। उहाँको नाममा लिइएको ऋण भट्टचन समूहले नै चलाएकोमा दुई मत छैन,” उनले भने।
प्रभु सहकारीबाट ‘सिम्पल होल्डिङ्स प्रालि’को नाममा पनि एक करोड ५५ लाख रकम गएको छ। यो कम्पनीमा देवी भट्टचन नै अध्यक्ष छन्।
त्यस्तै, होम इन्भेस्टमेन्ट प्रालिको नाममा १० करोड ५० लाख रुपैयाँ ऋण गएको देखिन्छ। कम्पनी रजिस्ट्रारको कार्यालयको शेयरधनी दर्ता किताबअनुसार होम इन्भेस्टमेन्टमा देवी भट्टचनकै लगानी छ। कम्पनीको अध्यक्ष पनि भट्टचन नै छन्।
क्यूईडी इन्भेस्टमेन्ट प्रालिमा प्रभु सहकारीबाट तीन करोड रुपैयाँ लगानी भएको देखिन्छ। कम्पनी रजिस्ट्रारको कार्यालयको शेयरधनी दर्ता किताबअनुसार क्यूईडी इन्भेस्टमेन्टमा प्रभु ग्रुपमै आबद्ध ध्रुवचन्द्र धिताल र मिजास भट्टचनको शेयर लगानी छ। धिताल नै कम्पनीको अध्यक्ष छन्।
यसबाहेक प्रभु सहकारीबाट यात्री हाउजिङ प्रालिमा १३ करोड गएको देखिन्छ। प्रभु ग्रुपका एक पूर्वसञ्चालक र त्यहाँ कार्यरत कर्मचारीहरूले यो कम्पनी पनि देवी भट्टचनले आफूनिकटको नाममा खडा गरेको, तर आफैले चलाइरहेको बताए। तर त्यसको स्वतन्त्र पुष्टि हुने कागजात भने फेला परेका छैनन्।
प्रभु सहकारीको समस्या र यस्तो लगानीबारे बुझ्न सम्पर्क गर्दा अध्यक्ष विनोद थकालीले बचतकर्ताले माग गरेजति रकम फिर्ता गर्न नसकेको स्वीकारे। “बचत फिर्ता गरिरहेका छौँ, तर भनेजति फिर्ता गर्न सकेका छैनौँ,” उनले भने। सहकारीबाट भएको ऋण लगानीबारे भने उनले कुरा गर्न चाहेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
