मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पक्राउ

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजमाथि अनुसन्धान गर्न अदालतबाट पाँच दिनको म्याद लिइएको प्रहरीले जनाएको छ।

काठमाडौँ– मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा अहिराज बलात्कार आरोपमा पक्राउ परेका छन्। काठमाडौँ जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा उनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो।

सोही अनुमतिका आधारमा उनलाई पक्राउ गरिएको र अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान थालिएको काठमाडौँ जिल्ला प्रहरी परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिए। बालिका बलात्कारको उजुरीका आधारमा काठमाडौँ प्रहरीले अहिराजमाथि अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी परिसर काठमाडौँमा अहिराजविरुद्ध माघ ३ गते नै जाहेरी दर्ता भएको थियो। जाहेरी दर्तालगत्तै अहिराज फरार थिए। केही हप्तादेखि काठमाडौँमै लुकेर बसेको सूचनाका आधारमा प्रहरीले खोजी गरिएको थियो। 

अहिराजले कोही नभएको बेला पटक–पटक बलात्कार गरेको र कसैलाई बताए मार्ने धम्की पनि दिएको पीडित बालिकाको आरोप छ। अहिराज २०७७ फागुन ७ देखि २०७८ साउन ३२ सम्म मधेश प्रदेश प्रमुख थिए।