नेप्से परिसूचक २१.७६ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ।

काठमाडौँ– साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक २१.७६ अंकले बढेर २८९२.७२ बिन्दुमा पुगेको छ। यसअघि आइतबार नेप्से ०.३२ अंकले बढेर २८७०.९५ बिन्दुमा रोकिएको थियो। यद्यपि, नेप्से बढे पनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।

आज कुल ३११ कम्पनीको १६ अर्ब ३२ करोड ७१ लाख १५ हजार २३८ रुपैयाँ बराबरको तीन करोड ५६ लाख ४९ हजार २११ कित्ता शेयर कारोबार भयो। अघिल्लो दिन २१ अर्ब ४६ करोड ४९ लाख ९४ हजार १३३ रुपैयाँ बराबरको पाँच करोड १६ लाख ५८ हजार ३८५ कित्ता शेयर खरिदबिक्री भएको थियो।

यस दिन सेन्सेटिभ इन्डेक्स ४.४६ अंकले, फ्लोट इन्डेक्स १.६० अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स १.६८ अंकले बढेको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ। बैंकिङ ०.४८, विकास बैंक १.४२, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, लघुवित्त १.९३, म्युचुअल फन्ड ०.१९, निर्जीवन बीमा १.२७, अन्य १.८४ र व्यापार समूहको उपसूचक ०.४३ प्रतिशतले बढेको छ।

आज थ्रिस्टार हाइड्रोपावर ९.९९, ट्रेडटावर लिमिटेड ९.९८, सान्भी इनर्जी ९.९८ र उन्नति सहकार्य लघुवित्तको शेयर मूल्य ९.४० प्रतिशतले बढेको छ। ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी विकास बैंकको शेयर मूल्यमा नकारात्मक सर्किट छ भने कर्पोरेटको शेयर मूल्य ९.९६ प्रतिशतले घटेको छ। 

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्सको ७५ करोड ६६ लाख ४६ हजार ३०७ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै लक्ष्मी भ्यालु फन्ड–२ को १७ लाख ४६ हजार ७११ कित्ता शेयर किनबेच भएको छ।