गोरु बजारको ठेक्का विवादले गौशालामा झडप हुँदा वडाध्यक्षसहित पाँच घाइते

महोत्तरीको गौशालामा गोरु बजारको ठेक्का विवादले झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्।

महोत्तरी– महोत्तरीको गौशालामा गोरु बजारको ठेक्कासम्बन्धी विवाद चर्किएर झडप हुँदा वडाध्यक्षसहित पाँच जना घाइते भएका छन्। झडपका कारण सोमबारे चौपाया बजार सुनसान देखिएको छ भने विवादित क्षेत्रलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्।

जिल्ला प्रहरीका अनुसार, दुई पक्षबीच भएको झडपमा गौशाला नगरपालिका–२ का वडाध्यक्ष श्यामसुन्दर मण्डल, सोही वडाका ३५ वर्षीय विजय यादव, गौशाला–४ का ३२ वर्षीय विपिन साह र सुनिल साह घाइते भएका छन्। टाउकोमा गहिरो चोट लागेका उनीहरूलाई प्रारम्भिक उपचारपछि बर्दीबासस्थित शुभ स्वस्तिक अस्पतालमा भर्ना गरिएको छ।

यसैगरी, वडा नम्बर २ का ४२ वर्षीय सुरेन्द्र महतोको हातमा चोट लागेको छ। उनको प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा उपचार भइरहेको छ। जिल्ला प्रहरीका डीएसपी तथा सूचना अधिकारी शैलेन्द्र भट्टले घाइते सबैको अवस्था मध्यम रहेको जानकारी दिए।

गौशाला बजारका व्यापारीहरूका अनुसार, गोरु बजार राणाकालदेखि नै श्री निगौल गाई गौशाला मातहतको एक बिघा जग्गामा लाग्दै आएको छ। विवादको मुख्य कारण २०७१ सालमा भएको एउटा लिखित निर्णय हो। त्यो निर्णयअनुसार, सात दलीय संयन्त्रले चौपाया बजारको ठेक्काबाट उठेको रकमको प्रतिवर्ष २५ प्रतिशत जग्गाधनी श्री निगौल गाई गौशालालाई दिनुपर्ने भनिएको थियो।

तर, नगरपालिकाले त्यो निर्णयलाई पालना नगरी २५ प्रतिशत रकम नदिएको गौशालाको आरोप छ। रकम नदिए पनि नगरपालिकाले नै गोरु बजारको ठेक्का लगाउँदै आएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ का लागि पनि नगरपालिकाले गाई गौशालाको सहमतिबिना गौशाला–४ का श्रवण महतोलाई गोरु बजारको ठेक्का दिएपछि यो विवादले झडपको रूप लिएको हो।