पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि सञ्चालनमा आउने, प्रधानमन्त्री दाहालले उद्घाटन गर्दै

विमानस्थल उद्घाटनलाई उत्सवका रूपमा मनाउन पोखरा महानगरले आज सार्वजनिक बिदा दिएको छ।

काठमाडौँ– पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज विधिवत् उद्घाटन हुँदै छ। अङ्ग्रेजी नयाँ नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गर्ने कार्यक्रम छ।

बिहान ११ बजे शुरू हुने समारोहमा उद्घाटन समारोहमा अर्थमन्त्री विष्णु पौडेल, विभिन्न राजनीतिक दलका शीर्ष नेता, उद्योगी तथा पर्यटन व्यवसायीको सहभागिता रहनेछ पोखरा महानगरका प्रमुख धनराज आचार्यले जानकारी दिए।

विभिन्न जातजातिका झाँकी, फेसन सोलगायत कार्यक्रम पनि हुने उनले बताए। यसैबीच विमानस्थलको उद्घाटनका अवसरमा आज पोखरा महानगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। उत्सवमा सहभागी हुन आग्रहसहित बिदा दिइएको महानगरले जनाएको छ। 

पहिलो उडानबाट विमानस्थलमा अवतरण हुने जहाजका चालकदल तथा यात्रुलाई फूलमालाले स्वागत गर्ने कार्यक्रम छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार आजदेखि सबै आन्तरिक उडान नयाँ विमानस्थलबाट हुनेछन्।

विमानस्थलको निर्माण २०७४ सालदेखि शुरू भएको थियो। २०३२ सालमा जग्गा अधिग्रहण गरिएको भए पनि लामो समयपछि विमानस्थल सञ्चालनमा आउन लागेको हो।