पाकिस्तानमा मनसुनी विपद‍्बाट मृत्यु हुनेको संख्या २१६ मृत्यु, सयौँ घाइते

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाका कारण जुन २६ देखि हालसम्म २१६ जनाको मृत्यु भएको छ भने ५८० जना घाइते भएका छन्।

पाकिस्तानमा यस वर्षको मनसुनी वर्षाले जनधनको ठूलो क्षति पुर्‍याएको छ। जुन २६ देखि हालसम्म २१६ जनाको मृत्यु भइसकेको छ भने ५८० जना घाइते भएका छन्।

पछिल्लो २४ घण्टामा मात्रै वर्षा र बाढीसम्बन्धी घटनाका कारण कम्तीमा १३ जनाको मृत्यु भएको सोमबार जियो टिभीले पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणलाई उद्धृत गर्दै जनाएको छ। निरन्तरको वर्षाका कारण आएको बाढी र डुबानले गर्दा धेरै मानवीय हताहती भएको हो। अधिकांश मृत्यु बाढी र पहिरोले घर भत्किएर वा डुबानमा परेर भएको बताइएको छ। केहीको चट्याङ र अन्य मौसमी विपत्तिका कारण पनि मृत्यु भएको छ।

पाकिस्तानको विपद् व्यवस्थापन निगरानी निकाय (एनडीएमए)ले पछिल्लो २४ घण्टामा पन्जाबमा १२ र खैबर पख्तुनख्वामा एक जनाको मृत्यु भएको जनाएको छ। मृतकमध्ये चार बालबालिका र तीन महिला थिए। मनसुनी वर्षा शुरू भएदेखि हालसम्म १०१ जना बालबालिकाको मृत्यु भएको बताइएको छ।

एनडीएमएले जारी गरेको विज्ञप्तिअनुसार वर्षा शुरू भएदेखि करिब ८०० घर ध्वस्त भएका छन्। यूएन न्यूजको हालैको रिपोर्टअनुसार खैबर पख्तुनख्वा र गिलगिट बाल्टिस्तान क्षेत्रमा पनि हिमनदीको ताल फुटेर बाढी आउने खतरा बढेको छ।

यसअघि सन् २०२२ मा आएको मनसुनी बाढीले पाकिस्तानमा एक हजार ७०० भन्दा बढी मानिसको ज्यान लिएको थियो भने लाखौँ व्यक्ति विस्थापित भएका थिए। त्यसबेला लगभग ४० अर्ब अमेरिकी डलरको आर्थिक क्षति भएको अनुमान गरिएको थियो।