ढाकास्थित विद्यालयमा वायुसेनाको विमान खस्दा १६ जनाको मृत्यु

बांग्लादेशको ढाकास्थित एक विद्यालय परिसरमा वायुसेनाको विमान खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ। १०० जनाभन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छन्।

ढाकास्थित विद्यालयमा वायुसेनाको विमान खस्दा १६ जनाको मृत्यु
तस्वीर : एपी

बांग्लादेशको राजधानी ढाकामा बांग्लादेशी वायुसेनाको एक प्रशिक्षण विमान विद्यालय परिसरमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्। यो घटना उत्तराको उत्तरी उपनगरमा रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा विद्यार्थीले परीक्षा दिइरहेका र नियमित कक्षामा उपस्थित भइरहेका बेला भएको हो।

बांग्लादेशी सेनाले आफ्नो एउटा विमान दुर्घटनामा परेको पुष्टि गरेको छ। सेनाले जारी गरेको एक विज्ञप्तिमा भनिएको छ, “बंगलादेश वायुसेनाको एफ-७ बीजीआई प्रशिक्षण विमान उत्तरामा दुर्घटनाग्रस्त भएको छ। विमान १:०६ बजे उडेको थियो।”

सेना र अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार, विमान उडेको केही समयमै दुर्घटनाग्रस्त भएको थियो। त्यसलगत्तै ठूलो आगोको ज्वाला निस्किएको थियो। घटनास्थलबाट सार्वजनिक भिडियो फुटेजमा पनि दुर्घटनापछि ठूलो आगो र धुवाँको मुस्लो निस्किएको देखिएको थियो।

ढाकाको राष्ट्रिय जलन संस्थानका अधिकारी सैदुर रहमानले ‘द डेली स्टार’लाई जानकारी दिँदै दुर्घटनाको केही घण्टामै मृत्यु हुनेको संख्या १६ पुगेको बताए। द डेली स्टारले विभिन्न अस्पतालबाट प्राप्त तथ्यांकका आधारमा १०० भन्दा बढी घाइते भएको रिपोर्ट गरेको छ। स्थानीय सञ्चारमाध्यमले घाइतेमध्ये धेरैजसो विद्यार्थी रहेको र उनीहरूलाई सैनिक अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा लगिएको जनाएका छन्।

दुर्घटनापछि विद्यार्थीका अभिभावक र आफन्त आत्तिएर घटनास्थलमा पुगेका थिए। अधिकारीहरूले मृतकको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्।

दुर्घटनाको समयमा विद्यालयमा उपस्थित नभएकी एक छात्रा रफिका ताहाले एसोसिएटेड प्रेसलाई फोनमार्फत बताएअनुसार, माइलस्टोन स्कुल एन्ड कलेजमा करिब दुई हजार विद्यार्थी छन् भने विद्यालयमा प्राथमिकदेखि १२औँ कक्षासम्मका कक्षा सञ्चालन हुन्छ। सोमबार केही विद्यार्थीले परीक्षा दिँदै थिए भने अरू नियमित कक्षामा सहभागी थिए।

बांग्लादेशको अन्तरिम सरकारका प्रमुख मुहम्मद युनुसले दुर्घटनाको कारणबारे अनुसन्धान गर्न र घाइतेलाई ‘सबै प्रकारका सहयोग सुनिश्चित गर्न आवश्यक उपाय’ अपनाइने बताएको बीबीसीले उल्लेख गरेको छ।