मदन पुरस्कारका लागि छनोट भए ७ कृति

मदन पुरस्कार गुठीले मंगलबार ७ वटा पुस्तकको श्रेष्ठ सूची सार्वजनिक गरेको हो।

काठमाडाैँ– मदन पुरस्कार–२०८१ का लागि पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक भएको छ। मदन पुरस्कार गुठीले २०८१ मा प्रकाशित भएकामध्येबाट ७ वटा पुस्तकको श्रेष्ठ सूची मंगलबार सार्वजनिक गरेको हो।

यस सूचीमा छुदेन काविमोको उरमाल, रमेश भुसालको छालबाटो, कुमारी लामाको दर्ज्यु संलाप, मनप्रसाद सुब्बाको पञ्चतत्त्वको पालाम, श्रेयज सुवेदीको बहुरुपी, सुधीर शर्माको भिक्षु, व्यापार र विद्रोह र तीर्थ गुरुङको हिउँको गीत कृति परेका छन्।

प्राप्त भएका २९९ पुस्तकमध्येबाट ७ पुस्तक छनोट गरिएको गुठीले जनाएको छ। अब यीमध्येबाट एउटा पुस्तक/कृतिले २०८१ को मदन पुरस्कार प्राप्त गर्नेछ।

२०८० को मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदान कृतिलाई प्रदान गरिएको थियो। त्यतिबेला श्रेष्ठ सूचीमा पाँच कृति परेका थिए।