मधेशमा खानेपानी अभाव समाधान गर्न सरकारलाई सांसदहरूको ध्यानाकर्षण

राष्ट्रियसभाका सांसदहरूले तराईमा वर्षा नहुँदा देखिएको खानेपानी र सिँचाइको चरम अभावबारे सरकारको ध्यानाकर्षण गराउँदै तत्काल वैकल्पिक व्यवस्था र किसानलाई राहतको माग गरेका छन्।

काठमाडौँ– तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरूले यस विषयमा गम्भीर हुन र सिँचाइका लागि वैकल्पिक व्यवस्था तथा किसानलाई राहतको व्यवस्था सरकारले गर्नुपर्ने धारणा राखेका हुन्।

सांसद मोहम्मद खालिदले विद्यमान सरकार गठबन्धन बन्दै गर्दा भएका राजनीतिक स्थायित्व, सुशासन समृद्धि र संविधान संशोधनजस्ता सहमति कार्यान्वयन हुन नसकेको बताए। सरकारको एक वर्ष बितिसक्दा पनि रोजगारी बढ्न नसकेको, कृषि उत्पादनमा उल्लेख्य प्रगति नदेखिएको, सार्वजनिक ऋण बढ्दै गएको उनको भनाइ थियो।

साउनको पहिलो सातासम्म पनि मधेशमा पानी नपरेको र सुख्खा हुँदा वर्खेबालीका लागि सिँचाइ तथा खानेपानीको चरम अभाव भएको विषय उनले संसद्मा राखे। चुरे दोहन, बालुवा–गिट्टीको अवैध उत्खनन, जंगल फडानीजस्ता समस्याका कारण तराई क्षेत्रमा पानीको सतह घट्टै गएको सांसद खालिदले बताए।

अर्का सांसद तुलप्रसाद विश्वकर्माले तराई क्षेत्रमा वर्षा नहुँदा खडेरी परेको र जमिन मुनीको पानीको सतह घट्दै गएको विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए। सरकारले आर्थिक ऐनमार्फत सुनचाँदीका गरगहनामा दुई प्रतिशतको विलासिता शुल्क लगाएकोमा व्यवसायी आन्दोलित भइरहेको विषय उनले संसद्मा उठाए। सुदूरपश्चिम र कर्णाली क्षेत्रका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने कुप्रथा अझै अन्त्य हुन नसकेको विषय उनले सदनमा उठाए।

सांसद राजेन्द्रलक्ष्मी गैरले जलवायु परिवर्तनका असर बढ्दै गएको बताइन्। हाल खण्डवृष्टिका कारण तराई सुक्खाग्रस्त भएको र त्यसले वर्खेबालीको उत्पादन घट्ने देखिएको उनले बताइन्। पहाडी क्षेत्रमा बाँदर आतंक बढेको विषय उनले सुनाइन्। सुक्खाग्रस्त क्षेत्रका किसान र जंगली जनावरबाट बालीनाली सखाप भएका किसानलाई सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सांसद गैरेले माग राखिन्।

अर्का सांसद उर्मिला अर्यालले बारा, पर्सालगायतका जिल्लामा खानेपानी र सिँचाइको संकट देखिएको बताइन्। मधेशका सबैजसो जिल्लामा जलसंकट देखिएको उनको भनाइ छ। जंगल विनाश बढ्दै गएका कारण त्यसको प्रभाव जलवायुमा देखिएको सांसद अर्यालले बताइन्। सिँचाइ र खानेपानीका लागि शीघ्र वैकल्पिक व्यवस्था मिलाउन उनले संदनमार्फत सरकारको ध्यानाकर्षण गराए।

सांसद गोपाल भट्टराईले संविधान संशोधनको अन्तरवस्तुमाथि छलफल अघि बढ्न नसकेको बताए। राजनीतिक स्थायित्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेपाल एमालेबीच गठबन्धन बनेको उल्लेख गर्दै उनले संविधान संशोधन, सुशासन र समृद्धिका लागि थप प्रतिबद्ध हुनुपर्नेमा जोड दिए। वर्तमान सरकार समाजलाई आशातर्फ डोर्‍याउन सफल भएको र मुलुकको अर्थतन्त्रका सूचक सुधार हुँदै गएको सांसद भट्टराईको दाबी छ। नागरिकका विकास आकांक्षा पूरा गर्न केही ढिलाइ भए पनि सरकार त्यसतर्फ जिम्मेवार भएर लागिरहेको भट्टराईले बताए।

आजको बैठकमा सांसद पदम बहादुर परियारले नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै अहिलेका राजनीतिज्ञहरूले उनबाट प्रेरणा लिन सक्नुपर्ने धारणा राखे।