ढाका विमान दुर्घटना: २५ बालबालिकासहित २७ जनाको मृत्यु

बांग्लादेशको ढाकास्थित माइलस्टोन स्कुलमा प्रशिक्षण लडाकु जेट दुर्घटना हुँदा २५ बालबालिकासहित २७ जनाको मृत्यु भएको छ।

बांग्लादेशको राजधानी ढाकानजिकै रहेको माइलस्टोन स्कुल एन्ड कलेजमा सोमबार एक प्रशिक्षण लडाकु जेट विमान दुर्घटना हुँदा २५ बालबालिका र दुई जना वयस्क गरी कुल २७ जनाको मृत्यु भएको छ।

बांग्लादेशमा दशकौँयताकै सबैभन्दा घातक मानिएको यो विमान दुर्घटनामा १७० जनाभन्दा बढी घाइते भएका छन्। घाइतेमध्ये ७८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका विशेष सहायक सैयदुर रहमानले जानकारी दिए।

“अहिलेसम्म २७ जनाको मृत्यु भइसकेको छ। तीमध्ये २५ जना बालबालिका र एक जना पाइलट छन्,” रहमानले भने, “विभिन्न अस्पतालमा ७८ जनाको उपचार भइरहेको छ।”

चीननिर्मित एफ–७ बिजेआई विमान स्कुलमा खस्दा अधिकांश मृतक विद्यार्थी भर्खरै कक्षाबाट बाहिर निस्केका थिए। दुर्घटनाग्रस्त स्थानमा मंगलबार बिहान मृतकका परिवार र शिक्षक भेला भएका थिए। सामान्यतया व्यस्त रहने स्कुल शोकका कारण शान्त थियो र कक्षा रद्द गरिएका थिए।

४५ वर्षीय शिक्षक शहादत होसेनले भने, “यो दुर्घटनाले स्कुल र बालबालिका दुवैलाई गुमाएको छ। स्कुलको अगाडि दुईवटा झुला छन् जहाँ बालबालिका खाजा समय र स्कुल छुट्टी भएपछि खेल्ने गर्थे। हिजो विमान दुर्घटना हुँदा पनि विद्यार्थी ती झुलामै थिए।” उनका छोरा मुस्किलले दुर्घटनाबाट बचेका थिए।

स्कुलमा करिब सात हजार विद्यार्थी भर्ना भएका छन्। दुर्घटनामा परेर छैटौँ कक्षाका एक विद्यार्थीको सबैभन्दा मिल्ने साथीले ज्यान गुमाएका छन्। उनका बुबा अबुल बशारले भने, "उनी दुर्घटना हुनुभन्दा दुई वा तीन मिनेट अगाडि मात्र बाहिर निस्केका थिए। उनी रातभर सुत्न सकेनन् र आज बिहान उनलाई स्कुल ल्याउन मलाई बाध्य तुल्यायो।"

स्कुलका अधिकारीहरूले घटनास्थलबाट बालबालिकाका झोला, जुत्ता र परिचयपत्र संकलन गरेका छन्। वरिष्ठ प्रहरी अधिकारी पह्न चक्माले सशस्त्र बलका कर्मचारीहरूले अझै पनि क्षेत्र सफा गरिरहेको र त्यसपछि प्रहरीले मानव अवशेष वा विद्यार्थी र अन्यका सामानसहित प्रमाण संकलन गर्ने बताए। वायु सेनाका कर्मचारीले सोमबार राति नै लडाकु जेटको अवशेषहरू हटाए पनि उनीहरू अझै प्रमाणका लागि घटनास्थलको खोजी गरिरहेका छन्।

“बालबालिकाहरूलाई यो आघातबाट मुक्त हुन, सामान्य अवस्थामा फर्कन कति समय लाग्नेछ मलाई थाहा छैन”, शिक्षक होसेनले भने। सोमबार राति स्कुल अधिकारीहरूले परिसरमा प्रार्थना गरेका थिए।

बांग्लादेशका अन्तरिम नेता मुहम्मद युनुसले यस घटनामा ‘गहिरो शोक र दुःख’ व्यक्त गर्दै एक दिनको राष्ट्रिय शोक घोषणा गरेका छन्। “वायु सेना, विद्यार्थी, अभिभावक, शिक्षक र माइलस्टोन स्कुल र कलेजका कर्मचारी र यस दुर्घटनाबाट प्रभावित अन्यको क्षति अपूरणीय छ। यो राष्ट्रका लागि गहिरो पीडाको क्षण हो,” उनले भने।

सेनाका अनुसार फ्लाइट लेफ्टिनेन्ट तौकिर इस्लाम नियमित प्रशिक्षण मिसनमा रहेको बेला जेटले ‘कथित रूपमा मेकानिकल समस्या सामना गर्दा’ दुर्घटना भएको हो। इस्लामले विमानलाई घना जनसंख्या भएका क्षेत्रहरूबाट टाढा सार्ने प्रयास गरे पनि 'आफ्नो सक्दो प्रयासका बावजुद' दुईतले विद्यालय भवनमा ठोक्किएको सेनाले सोमबार जनाएको छ।