फेवातालको पहिचान जोगाउन सक्रिय पोखरेली, जलकुम्भीलाई आम्दानीको स्रोत बनाउने योजना

फेवातालको सुन्दरता र अस्तित्व जोगाउन स्थानीय समुदाय र महानगरपालिका सक्रिय भएका छन्। प्रदूषण र अतिक्रमणबाट ताललाई बचाउँदै संकलित जलकुम्भीलाई अब आयआर्जनको स्रोत बनाइनेछ।

फेवातालको पहिचान जोगाउन सक्रिय पोखरेली, जलकुम्भीलाई आम्दानीको स्रोत बनाउने योजना
रासस

पोखरा– पोखराको फेवाताल केबल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक र वातावरणीय पहिचान पनि हो। फेवातालामा टलक्क टल्कने माछापुच्छ्रे हिमशृंखलाको मनमोहक दृश्य, तालबाराहीको मन्दिरको दर्शन, वरिपरिको हरियालीसहित शान्त वातावरण हेर्न बर्सेनि हजारौँ पर्यटक पोखरा आइपुग्छन्।

पोखराको पहिचान र सुन्दरतालाई जोगाउन अहिले स्वतःस्फूर्त रूपमा पोखरेली जेटेका छन् भने, आवश्यक नीतिगत व्यवस्थासहित सरकारले पनि प्राथमिकताका साथ सहयोग गरिरहेको छ। पछिल्लो समय प्रदूषण, अतिक्रमण र अव्यवस्थित शहरीकरणले फेवातालको सुन्दरतामा ह्रास आउन थालेपछि नागरिकको सक्रियता बढेको हो। फेवातालको पानीको मुख्य स्रोतको रूपमा रहेको ‘हर्पन खोला’ले हरेक वर्ष वर्षायाममा हजारौँ टन गेग्र्यानसहित माटो बगाएर ल्याउँछ, जसले तालको गहिराइ र क्षेत्रफल दुवै घटाउँदै लगेको छ।

यसका साथै, ताल वरपरका होटल, रेस्टुरेन्ट र घरहरूबाट निस्कने अप्रशोधित ढल सिधै मिसाउनेक्रम बढेसँगै ताल प्रदूषित भएको भनी स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्। फेवातालको सुन्दरतालाई कायम राख्न बर्सेनि पोखरेलीहरू स्वतःस्फूर्त रूपमा  सफाइ अभियानमा जुट्ने गर्दछन्, जसले ताललाई बचाउन सहयोग पुर्‍याएको छ।

विज्ञहरूका अनुसार प्लास्टिकजन्य फोहोर र वर्षायाममा तालको ठूलो हिस्सा ढाक्ने जलकुम्भी झारले तालको सौन्दर्यमा गम्भीर असर पारेको छ। वातावरण संरक्षणका लागि महाअभियानका संयोजक एवं नागरिक समाजका अगुवा रामबहादुर पौडेल वर्षायाममा बाढीपहिरोसँगै प्लास्टिक, ढललगायत ताल ढाक्ने गरी आउने जलकुम्भीले फेवातालको अस्तित्वमा गम्भीर असर पारेको बताउँछन्। “यो जोगाउने जिम्मा सरकारसँगै हामी नागरिकको पनि हो,” उनले भने।

पोखरेली हुनुको नाताले तालको संरक्षणको दायित्व बोध गर्दै स्थानीय टोल, आमा समूह, विद्यार्थी, स्वयंसेवी क्लब, संघसंस्था र जलारी समुदायले फोहोर संकलन, सचेतना र वृक्षारोपणजस्ता गतिविधि गरेर फेवाताल संरक्षणमा जुटिरहेका उनले बताए। यस्ता कार्यले तालप्रतिको अपनत्व बढाउने उनको भनाइ छ। “निःस्वार्थ भावनाले ताल सफा गर्न जुट्ने ती स्वयंसेवकहरूको अनुहारमा जुन चमक देखिन्छ, त्यो केवल वातावरणको माया होइन, शहर र प्राकृतिक सम्पदाप्रतिको जिम्मेवारी पनि हो,” उनले भने। 

पौडेलका अनुसार फेवातालको संरक्षण गर्दा पर्यटन प्रवर्द्धन, वातावरणीय सन्तुलन र सामाजिक चेतना तीनै कुरा सँगसँगै अगाडि बढ्छन्, भन्ने बुझाइ अब पोखराबासीको रहेको छ। “फेवाताललाई बचाउन अझ सशक्त सहकार्य, दीर्घकालीन योजना र हरेक नागरिकको प्रतिबद्धता चाहिन्छ। फेवाताल सफा हुनु भनेको पोखराको पहिचान जोगिनु मात्र होइन, भावी पुस्ताका लागि एउटा हरित र स्वस्थ शहर उपहार दिनु हो,” पौडेलले भन्नुभयो ।

यसैगरी फेवा मत्स्य सहकारीका अध्यक्ष एवं जलारी समुदायका अगुवा ज्ञानबहादुर जलारी तालमा आश्रित जलारी समुदायले प्रत्येक महिनाको ३ गते फेवाताल सफाइ अभियान गर्दै आएको बताउँछन्। 

“हामीले लामो समयदेखि यो सफाइ अभियान गर्दै आएका छौँ। नागरिक समाज, महिला सञ्जाल, युवा क्लब, विद्यार्थी, पर्यटन व्यवसायी, प्रहरी, सञ्चारकर्मीलगायतको पनि साथ सहयोग रहेको छ,” उनले भने, “जलकुम्भी लगायतका कुहिने फोहरलाई मल बनाउने र प्लास्टिकजन्य नकुहिने फोहरलाई महानगरको गाडीबाट व्यवस्थापन गर्दै आएको छौँ, हरेक महिना छ/सात ट्रक फोहोर निस्कने गर्दछ, जलकुम्भी निकाल्ने समयमा भने अझ बढी हुन्छ।”

उनले ताल प्राधिकरणको प्रभावकारी कार्यान्वयन, तालमा मिसिने ढल र गेग्र्यानको उचित व्यवस्थापन तथा अतिक्रमणविरुद्ध शून्य सहनशीलता अपनाउन सके मात्र पोखराको यो अमूल्य धरोहरलाई भावी पुस्ताका लागि सुरक्षित राख्न सकिने बताए। उनले करिब एक सय घरपरिवार फेवातालमा आश्रित जलारी समुदाय रहेको जानकारी दिए।

पोखरा महानगरपालिका–६ महिला सञ्जालकी अध्यक्ष बबिता मल्लले फेवाताल सफाइ अभियानको उद्देश्य पोखराको पहिचानसँगै पोखराको पर्यटन, अर्थतन्त्र र जनस्वास्थ्य जोगाउनु रहेको स्पष्ट पारिन्। “तालको संरक्षण गर्ने जिम्मेवारी हाम्रो पनि हो भन्ने ‘नारा’लाई सार्थक बनाउन जोड दिएका छौँ, फेवाताल संरक्षण अभियान केबल फोहोर संकलनमा सीमित छैन, यो एउटा चेतनाको अभियान पनि हो, जहाँ सरकारी योजना, बजेट, नीतिगत प्रतिबद्धता र नागरिकको सक्रिय सहभागिता एकसाथ अघि बढाउन सकिएको छ,” उनले भनिन्।

पोखरा महानगरपालिका–६ मा १८ वटा आमा समूहको सञ्जाल रहेको र स्वतःस्फूर्त रूपमा फेवाताल सफाइ अभियानमा जुट्ने गरेको अध्यक्ष मल्लले जानकारी दिइन्। पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गर्‍यो। उक्त बजेटमध्ये शहरी विकास, पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड अर्थात् ७.२८ प्रतिशत विनियोजन भएको छ।

महानगरले बजेटमार्फत पोखराको पहिचानसँग जोडिएको फेवाताललगायतका तालको संरक्षण लागि एक अधिकार सम्पन्न ‘पोखरा ताल विकास प्राधिकरण’ गठन गर्ने घोषणा गरेको छ। महानगरले ताललाई ३०–४० वर्ष पुरानै स्वरूपमा फर्काउने दूरदर्शी योजनाअघि सारेको छ। महानगरपालिकाअन्तर्गतको सहरी विकास पर्यटन पूर्वाधार तथा वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्कीका अनुसार तालको सौन्दर्यमा ह्रास ल्याइरहेको जलकुम्भी झारलाई आयआर्जन र रोजगारीको स्रोतमा रूपान्तरण गर्ने नवीन कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।

“फोहोरमैला तथा ढल व्यवस्थापन, वातावरणीय सचेतना कार्यक्रम, हरियाली प्रवर्द्धन तथा जनसहभागितामूलक वातावरणीय अभियानका लागि आवश्यक बजेट विनियोजन गरिएको छ। यी कार्यक्रमले समुदाय एवं सरकारबीचको सहकार्यलाई सशक्त बनाउँदै पोखराको दिगो पर्यटन विकासमा टेवा पुर्‍याउने महानगरको विश्वास छ,” उनले भने।

पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य ताल संरक्षण नागरिक, समुदाय र सरकार सबैको साझा दायित्व भएको बताउँछन्। “फेवाताल संरक्षणमा नागरिक समाजको भूमिका पनि उल्लेखनीय देखिएको छ, ‘वातावरण एवं सम्पदा संरक्षणमा नागरिक खबरदारी’ जस्ता नाराका साथ स्थानीयको सक्रिय सहभागिता पोखराको सौन्दर्य र स्वाभिमानको परिचय बनेकाले यसमा हामी सबैले गर्व गर्नुपर्दछ,” उनले भने।

प्रमुख आचार्यले मानवीय र प्राकृतिक अतिक्रमणका कारण फेवातालको क्षेत्रफल निरन्तर साँघुरिँदै गएको र यहीक्रम जारी रहे ताल नै लोप हुने खतरा देखिएको भनी चिन्ता व्यक्त गरे। सर्वोच्च अदालतको आदेशानुसार सरकारले फेवातालको क्षेत्रफल ५.७२६ वर्गकिलोमिटर कायम गरेको र फेवातालको किनारबाट ६५ मिटर मापदण्ड लागू गर्दै पिलर गाड्ने कार्य अन्तिम चरणमा पुगेको उनले बताए।

महानगरले फेवाताल सफाइका लागि विशेष वातावरण संरक्षण कोष, सामुदायिक साझेदारी कार्यक्रम र फोहोरमैला प्रशोधन केन्द्रजस्ता पूर्वाधारमा पनि बजेट सुनिश्चित गरेको बताएको छ। प्रमुख आचार्यले तालबाट संकलित जलकुम्भी झारलाई प्रयोग गरी सीमान्तकृत समुदायलाई सीपमूलक तालिम दिइने र तालिमपछि उत्पादित हस्तकलाका सामाग्री ‘कोसेली घर’ र स्थानीय बजारमार्फत बिक्री गरिनेसमेत जानकारी दिए।