शहरमा बढिरहेको ‘वर्क फ्रम क्याफे’: अवसर र सिर्जनाको नयाँ थलो

क्याफेहरू कफी पिउने नभई नयाँ सोच फुराउने र स्टार्टअप शुरू गर्ने सिर्जनात्मक ठाउँका रूपमा विकसित हुँदै गएका छन्। क्याफे सञ्चालकले पनि फ्रिल्यान्सरलक्षित कार्यस्थल र सुविधा उपलब्ध गराएर यसलाई प्रोत्साहन गरिरहेका छन्।

काठमाडौँ– शहरको कोलाहलबीच मधुर ज्याज संगीत। कफीको चुस्की लिँदै ल्यापटपको किबोर्डमा औँला दौडाइरहेछन् सुमन खड्का। सफ्टवेयर डेभलपमेन्टको कोडिङमा मग्न उनी शंखमूलस्थित एक क्याफेमा छन्।

पेसाले सफ्टवेयर इन्जिनियर सुमन वेब, सफ्टवेयर र एप बनाउँछन्। उनको निश्चित कार्यालय छैन, विगत ६ वर्षयता क्याफेलाई नै कार्यालय बनाइरहेका छन्। बिहानै शहरका विभिन्न क्याफे पुग्छन्, दिनभर आफ्नो काममा व्यस्त रहन्छन् र साँझ कोठा फर्कन्छन्। “काम गर्नका लागि मेरो कुनै तोकिएको स्पेस छैन, यहीँ बसेर काम गर्छु,” उनी भन्छन्।

कोभिड महामारी शरू हुनुअघि सुमन एक आईटी कम्पनीमा काम गर्थे, बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको निर्धारित समयसीमामा। त्यतिबेला परिवार, साथीभाइ र आफ्नै लागि पनि समय निकाल्न नसकेको उनको गुनासो हुन्थ्यो। कर्पोरेट जीवनको समयसीमा र जागिरे मानसिकताले खुशी थिएनन् उनी। हरेक दिन एउटै समय, उस्तै कामको निरन्तरता, त्यसमाथि अफिसमा बढ्दो ‘टक्सिक इन्भारोमेन्ट’ (नकारात्मक कार्य वातावरण)ले उनलाई झनै दिक्क बनाएको थियो। आफ्नो पेसाप्रति ‘प्यासन’ भए पनि कर्पोरेट फ्रेमभित्र बसेर काम गर्दा उनी रमाएनन्।

“म स्वतन्त्र रूपमा काम गर्न खोज्ने रहेछुँ,” उनले सुनाए, “९ महिना काम गरेर जागिर छाडिदिएँ।”

त्यहीबेला कोभिड महामारीले देशमा लकडाउन भयो। सबै कुरा ठप्प भए, कार्यालय बन्द भए। यही मौकामा उनले ‘फ्रिल्यान्स’ (स्वतन्त्र काम) गर्ने सोच बनाए। विदेशमा फ्रिल्यान्स संस्कृति फस्टाइरहेको भए पनि नेपालमा त्यति प्रचलित थिएन।

लकडाउनको उकुसमुकुसबीच उनले ‘अप वर्क’ नामको फ्रिल्यान्स प्लेटफर्ममा काम थाले। संयोग कस्तो भने, शुरूमै उनले अप वर्कमा काम पाए– वेबसाइटको बग फिक्सिङ। “५० डलरको काम थियो त्यो,” उनले भने, “पहिलो काम मिलेपछि उत्साह मिल्यो।” पछि उनी ‘फाइबर’जस्ता अन्य प्लेटफर्ममा पनि आबद्ध भए।

शुरूमा फ्रिल्यान्सबाट जीवन सहज हुन्छ भन्ने उनले सोचेका थिएनन्। तर, प्लेटफर्ममा भिज्दै गएपछि र वेबसाइट तथा सफ्टवेयर डेभलपमेन्टका काममा माग बढ्दै गएपछि उनले यसको सम्भावना देखे। “आईटी क्षेत्रमा फ्रिल्यान्स राम्रो छ, त्यसमा पनि 'आउटसोर्सिङ'मा बढी माग छ। नेपालको सन्दर्भमा यो वेल पेड नै छ,” उनले भने, “राम्रो सीप हुने र त्यसलाई बेच्न सके फर्केर हेर्नु पर्दैन।”

सुमनले एकपटक ई–कमर्स वेबसाइटको बग फिक्सिङ र फिचर थप्ने काम पाएका थिए। उनले क्याफेमा ९ घण्टा काम गरेर समयअगावै काम सकेपछि २०० डलर बोनससहित कुल ८०० डलर (लगभग एक लाख नेपाली रुपैयाँ) कमाए। यद्यपि, यस्तो आम्दानी सधैँ नहुने उनी बताउँछन्। “जागिरजस्तो महिनैपिच्छे पैसा आउँदैन, जति काम पाइयो र गर्न सकियो, त्यहीअनुसार कमाइ हुने हो।”

२६ वर्षीया स्मिता पौडेल पनि प्रायः क्याफेमै भेटिन्छिन्। क्याफेमा दिनभर उनी आइप्याडमा स्केच कोरिरहेकी हुन्छिन्। फ्रिल्यान्स काम गरिरहेकी उनी पेसाले स्केच आर्टिस्ट हुन्। सबै काम उनलाई क्याफेमा आएर गर्न मन पर्छ।

क्याफेमा आउने कफीको सुगन्ध, साथमा आइस क्यापचिनो, यस्तोमा काम गर्दा छुट्टै ‘भाइब्स’ आउने उनी बताउँछिन्। “कफीले रिफ्रेस र इनर्जाइज फिल गर्छु,” उनले भनिन्।

सानो छँदा उनी कापीका पानामा चित्र कोर्थिन्। कालान्तरमा त्यो ‘प्यासन’ र ‘प्रोफेसन’ बन्यो। पढाइ पनि आर्टमै गरिन्। समयक्रमसँगै उनको कला डिजिटलमा परिणत भयो। चित्र कापीका पानाको सट्टा स्क्रिनमा कोर्न थालिन्।

null

दुई वर्षअघिसम्म उनी फाटफुट पैसा लिएर स्केच कोरे पनि अधिकांश आर्ट आफ्नै रूचीका लागि कोरिरहेकी थिइन्। एकदिन फ्रिल्यान्स प्लेटफर्ममा डिजिटल आर्टका काम गर्न सकिने, अफिस जानुनपर्ने, घरमै बसेर काम गर्न मिल्ने, पारिश्रमिक पनि डलरमा आउने कसैले उनलाई सुनाइदिए।

त्यसपछि अप वर्कमा आफ्नो पोर्टफोलियो तयार पारिन्, तर शुरूका दिनमा काम पाउनै मुस्किल भयो। “अप वर्कजस्ता फ्रिल्यान्स प्लेटफर्ममा जति पोर्टफोलियो बलियो भयो, काम पाउने सम्भावना उति हुन्छ,” उनले भनिन्, “मसँग धेरै अनुभव थिएन। प्रोफाइल बलियो नहुँदा काम पाउन मुश्किल भयो।”

स्मितालाई शुरूमा काम पाउन गाह्रो भए पनि चिन्ता गरिनन्। सन् २०२३ नोभेम्बरमा नेदरल्यान्ड्सकी एक महिलाबाट आमाको पोट्रेट स्केच बनाउने काम पाइन्। चार घण्टाको मिहिनेतपछि उनले बनाएको स्केच ग्राहकलाई यति मन पर्‍यो कि बोनस र राम्रो रिभ्यु पनि पाइन्। “पैसा मात्र होइन, त्यो कामले दिएको आनन्द बेग्लै थियो,” स्मिता भन्छिन्।

त्यसपछि फ्रिल्यान्समा सक्रिय भएकी उनले दुई वर्षमा अहिले राम्रो कमाइ गरिरहेकी छन्। पोट्रेटबाहेक उनी कन्सेप्ट आर्ट, कमिक, कार्टुन र लोगो डिजाइन पनि गर्छिन्।

शुरूका दिनमा भने उनले घरमै बसेर काम गर्थिन्। तर घरमा काम गर्दा उत्पादनमूलक भए जस्तो लागेन। त्यसपछि उनले काम गर्नका लागि ठाउँ (वर्किङ स्पेस) खोज्न थालिन्। विदेशतिर फ्रिल्यान्स गर्नेहरूले क्याफेलाई नै वर्किङ स्पेस बनाएको सुनेकी थिइन्। तर नेपालमा घण्टौँ बसेर काम गर्न दिने क्याफे होला कि नहोला भन्ने ठूलो दोधार थियो उनलाई।

त्यसपछि उनी क्याफेहरू चहार्दै पुगिन्– हिमालयन जाभा, अरबिका क्याफे, रिडर्स हब जस्ता क्याफे। तर त्यहाँ नसोचेको भइदियो। “तर जुन वातावरण पाएँ, त्यसले म अचम्मित भएँ,” उनले भनिन्, “केही क्याफेहरूले त वर्किङ स्पेस नै बनाइदिएका रहेछन्।”

क्याफेमा बसेर दिनभर काम गर्दा उनलाई काम गरेजस्तै लाग्दैन। कर्पोरेट अफिसजस्तो दैनिक अफिस गएर काम गर्नुपर्ने झन्झट छैन। समयको पाबन्दी पनि छैन। मन लागेका बेला काम गर्न सकिने। चाहेको बेला परिवार, साथी, आफन्तलाई भेट्न सक्छिन्। तर स्वतन्त्रता भन्दैमा दबाब नहुने भने होइन, कहिलेकाहीँ हतारमा पनि काम गर्नुपर्ने हुन्छ। “क्लाइन्टको डेडलाइन त हुन्छ, तर अफिसमा जस्तो प्रेसर हुँदैन,” उनले भनिन्।

फ्रिल्यान्सरले भरिभराउ क्याफे
बबिन इभेन्ट अर्गनाइजर हुन्। उनी नेपालमा हुने सेलिब्रिटीका ठूला म्युजिकल कन्सर्टदेखि, विवाहजस्ता इभेन्ट व्यवस्थापन गरिरहेका हुन्छन्। उनी ६ वर्षदेखि यसैलाई पेसा बनाएर काम गरिरहेका छन्।

यस काममा उनी एक्ला छैनन्, ठूला–ठूला इभेन्टका क्रममा सघाउने साथमा टिम पनि छ। तर इभेन्ट म्यानेजमेन्टका यी सबै काम गर्नलाई उनको छुट्टै कार्यालय छैन। इभेन्ट म्यानेजमेन्टका फोन कल, सहकर्मी भेटघाटदेखि कामको डिल र योजनासम्म क्याफेमै बसेर बनाइरहेका हुन्छन्। “घरमा बसेर काम गर्न मुड बन्दैन। क्याफे आएर काम गर्ने ऊर्जा थपिन्छ,” उनले भने।

nullउनले काम गर्दागर्दै क्याफेमै दैनिक ५-६ घण्टा बिताइरहेका हुन्छन्। क्याफेमा बसेर काम गर्नु सहज हुने उनको अनुभव छ। अफिस लिँदाजस्तो खर्च पनि हुँदैन। “अफिस लिँदा कोठाभाडा, इन्टरनेट, फर्निचर आदिमै खर्च धेरै हुन्छ,” उनी भन्छन्, “तर क्याफेमा केही पर्दैन। साथमा ल्यापटप भए पुग्छ। सबैखाले सेवा सुविधा त्यहीँ हुन्छ।”

उनले बताएअनुसार दिनभर काम गरेर बस्न मिल्ने, कुर्सी, टेबलदेखि वाइफाइ सबै क्याफेमै हुन्छ। कफी र खाजा खाएरै ठाउँ प्रयोग गर्न मिल्छ। झन्झट पनि हुँदैन। क्याफेहरूले पनि यसरी काम गर्न चाहनेलाई ठाउँ बनाइदिएकाले सजिलो भएको उनी सुनाउँछन्।

धेरैलाई लाग्छ, क्याफे कफी पिउने ठाउँ हो। तर अहिलेका काठमाडौँका तन्नेरीहरूलाई क्याफे यसैगरी कार्यस्थल बनिरहेको छ।

शंखमूलको उमोजा, बानेश्वरको उजामा, टंगालको बोधि बुक्स एन्ड बेक्स, रिडर्स हब, हिमालयन जाभाका सबैखाले शाखामा अहिले दिनभर ल्यापटपमा काम गर्ने भरिभराउ हुन्छन्। त्यसमा धेरैजसो फ्रिल्यान्स गर्नेहरू हुन्छन्।

फ्रिल्यान्स मात्रै होइन, रचनात्मक काम गर्ने पनि अहिले प्रायः क्याफेतिर भेटिन्छन्। सलिना पौडेल तिनैमध्ये हुन्। उनी ‘क्रिएटिभ राइटर’ (रचनात्मक लेखक) हुन्। उनी कविता लेख्छिन्। निकट भविष्यमा किताब पुस्तक बजारमा ल्याउने तयारीमा रहेकी उनले भनिन्, “लेख्ने काम क्याफेमै बसेर गरिरहेकी छु।”

nullखासमा उनी आफै कफीप्रेमी हुन्। कफीप्रेम शब्दमा व्यक्त गर्न नसके पनि, पिउँदै काम गर्दा उनी रमाउँछिन्। बिहानै ६ बजे क्याफे पुगेर बेलुका ८ बजेसम्म निस्केका थुप्रै किस्सा उनीसँग छन्।

क्याफेमा यसरी काम गर्नेमा तन्नेरी मात्र भेटिँदैनन्। ४० कटेका शिक्षक प्रकाश सापकोटाजस्ता व्यक्ति पनि भेटिन्छन्। फाइनान्सका शिक्षक उनी पार्टटाइम लेखक हुन्। पुस्तक लेखन र अन्य रचनात्मक काम क्याफेमै गर्छन्। उनी पनि प्रायः उमोजा क्याफेमै भेटिन्छन्।

"बिहानभर कलेज पढाउँदैमा बित्छ," उनले भने, "दिउँसोको समय क्रिएटिभ लेखनको काममै समय बिताउँछु।"

उनी दिनभर बसेर लेखनको काम गर्छन् र बेलुका घर फर्कन्छन्।

क्याफेलाई अफिस जस्तै बनाएर काम गर्ने संस्कृति नयाँ होइन। विकसित देशमा धेरै पहिलेदेखि चल्तीमा भए पनि नेपालमा भने भर्खरै बढ्दैछ।

nullत्यहीकारण क्याफे तन्नेरीका रोजाई बनिरहेका छन्। त्यसमा पनि बुकसहितका क्याफेहरू कफी पिउने मात्र होइन, रमाउने ठाउँ पनि बनिरहेका छन्। काठमाडौँका क्याफेमा भेटिएका तन्नेरीहरू यसलाई क्रिएटिभ स्पेस मान्छन्, जहाँ आइडियाहरू जन्मियोस्, स्वस्थ मन्थन होस्, रचनात्मक मान्छेहरूको जमघट होस्, नयाँ सम्बन्धहरू बनोस्, कफी पिउँदै मिठा गफहरू होस् वा घण्टौँ बसेर आफूलाई लागेका कामहरू गर्न पाइयोस्।

आइडिया फुराउनेदेखि स्टार्टअपसम्म
क्याफेहरू काम गर्ने ठाउँ मात्र होइन, नयाँ सोच जन्माउने र स्टार्टअप व्यवसाय शुरू गर्ने थलोसमेत बनेका छन्। क्याफेमै बसेर नयाँ आइडिया फुराउनेदेखि ती आइडियालाई व्यवसायमा परिणत गर्नेसम्मका काम भइरहेका छन्। यस्तै उदाहरण हुन् समृद्ध न्यौपाने।

उनले क्याफेमै बसेर ‘भण्डार’ नामक ई–कमर्स प्लेटफर्मको आइडिया फुराए र त्यसलाई व्यवसायमा परिणत गरे। समृद्धलाई पहिलेदेखि नै व्यवसाय गर्ने हुटहुटी थियो, तर के गर्ने भन्ने स्पष्ट आइडिया थिएन। यसै क्रममा उनी नियमित रूपमा क्याफेमा जाने गर्थे, जहाँ उनले उद्यम गरिरहेका, नयाँ सोचमा रहेका र आफ्नो व्यवसाय अगाडि बढाइरहेका मानिसहरूलाई भेट्ने मौका पाए।

null

एक दिन क्याफेमै बसिरहेका बेला उनलाई ई–कमर्स प्लेटफर्म शुरू गर्ने आइडिया आयो। “क्याफेमा आइपुगेका साथीहरूको सहयोगमा यो ई–कमर्स शुरू गरेँ," उनले भने, "अहिले वर्ष दिन पुग्यो।"

पछिल्लो तीन महिनायता उनले घरायसी र होलसेल सामानहरू बेच्ने काम गरिरहेका छन्।

प्रविधिको विकासले जसरी फड्को मारेको छ, त्यसले हाम्रो दैनिक जीवनलाई पनि जोडेको छ र यससँगै सोच्ने र काम गर्ने तरिकाहरू पनि क्रमशः परिवर्तन भइरहेका छन्। विशेषगरी अप वर्क, फाइबर जस्ता फ्रिल्यान्सिङ प्लेटफर्महरूले काम गर्ने तरिका मात्र बदलेका छैनन्, नयाँखाले अवसर पनि सिर्जना गरिरहेका छन्। अहिले कर्पोरेट अफिसमा काम गर्नेभन्दा पनि आफ्नो समयमा मन लागेका काम गर्नेहरू बढ्दैछन्। यसमा विशेषतः तन्नेरी छन्, जो क्याफेमा दिनभर घण्टौँ बिताउँछन्।

null

क्याफे नै कार्यस्थल
शहरमा क्याफे वर्किङ कल्चर बढ्नुमा क्याफेहरूको भूमिका पनि उत्तिकै छ। क्याफे कार्यसंस्कृतिलाई प्रवर्द्धन गर्न सञ्चालकहरूले क्याफेमा कार्यस्थलहरू बनाइदिएका छन्। कौशलटारस्थित रिडर्स हबले काम गर्ने र पुस्तक पढ्नेहरूका लागि कोठा नै छुट्याइदिएको छ। शंखमूलस्थित उजामा क्याफेले पनि यस्तै कोठाको व्यवस्था गरिदिएको छ, जहाँ शान्त वातावरणमा आफ्ना काम गर्न सकिन्छ।

शंखमूलको उजामा र नयाँ बानेश्वरको उमोजा क्याफेका सञ्चालक लीलाराम खड्का कफी पिउँनेसँगै फ्रिल्यान्सको भीड बढ्न थालेपछि रिडिङ रुम र मिटिङ रुम नै भनेर छुट्याइदिएको बताउँछन्। क्याफेमै आएर काम गर्नेहरू बढ्न थालेपछि यसको व्यवस्था गरिदिएको उनको भनाइ छ। “यहाँ आएर दिनभर काम गर्दा छुट्टै पैसा तिर्नुपर्दैन,” उनले भने, “कफी र खाजाबाहेक अरू कुनै शुल्क लिँदैनौँ।”

null

सबैभन्दा ठूलो र पुरानोमध्येकै क्याफे हिमालयन जाभाले फ्रिल्यान्सलक्षित कार्यक्षेत्र नै छुट्याइदिएको छ। जाभाका प्रायः सबैजसो आउटलेटमा यो क्षेत्र छुट्याइएको छ, जहाँ चार्जरदेखि वाइफाइसम्मको व्यवस्था छ। घण्टौँ बसेर काम गर्न कुर्सीहरू पनि आरामदायी राखिएका छन्।

काठमाडौँ, ललितपुर, भक्तपुरसहित उपत्यकाका विभिन्न ठाउँहरूमा शाखा भएको अरबिका क्याफेका सञ्चालक विकास भण्डारी नेपालमा क्याफे कार्यसंस्कृति फस्टाउँदै गएको बताउँछन्। “क्याफे, अब कफी पाउने ठाउँ मात्र रहेन,” उनले भने, “यहाँ आएर रमाउँदै, क्रिएटिभ स्पेशका कामहरू गर्ने ठाउँ बन्दैछ। यो राम्रो कुरा हो।”

उनी क्याफेले फ्रिल्यान्सरलाई काम गर्ने वातावरण बनाइदिएको बताउँछन्। “बाहिरतिर क्याफेहरूमा यो कल्चर छ,” उनले भने, “हामी पनि क्याफेमा वर्किङ कल्चर भित्रियोस् भन्ने चाहन्छौँ।”