भेरी नदीमा टिपर खस्दा ३ जना बेपत्ता

गए राति भेरी नदीमा टिपर खस्दा चालकसहित तीन जना बेपत्ता भएका प्रहरीले जनाएको छ।

फाइल तस्वीर

सुर्खेत– गए राति भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता भएका छन्।

जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट जाजरकोटकै रिम्नातर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।

उनका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए। उनीहरूको अवस्था अज्ञात रहेको छ। उक्त टिपर भेरी करिडोरको काम गर्दै आएको यती विल्डर्सको रहेको उनले जानकारी दिए।

बेपत्ताको खोजीमा रुकुमपश्चिम र जाजरकोटको प्रहरी टोली परिचालन गरिएको प्रहरी नायब निरीक्षक चौधरीले बताए। भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको छ।

बेपत्ता भएकाहरूको नाम ठेगाना केही खुल्न नसकेको प्रहरीले जनाएको छ।