रौतहटमा सिँचाइ गर्दा करेन्ट लागेर २ किसानको मृत्यु

रौतहटमा विद्युतीय मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई किसानको मृत्यु भएको छ।

रौतहट– रौतहट जिल्लामा खेतमा विद्युतीय मोटरबाट सिँचाइ गर्ने क्रममा करेन्ट लागेर दुई जना किसानको मृत्यु भएको छ। माधवनारायण नगरपालिका–४ बिसुनपूर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखिया र कटहरिया नगरपालिका–२ जमुनियाका ५२ वर्षीय मोक्तार देवानको करेन्ट लागेर ज्यान गएको हो।

प्रहरीका अनुसार, धान खेतमा सिँचाइका लागि विद्युतीय मोटर जोड्ने क्रममा छुट्टाछुट्टै स्थानमा यो घटना भएको थियो। इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले आकाशे वर्षा नभएकाले किसानहरूले विद्युतीय मोटरको प्रयोग गरी सिँचाइ गरिरहेको र सोही क्रममा असावधानीका कारण ज्यान जाने गरेको बताए।

करेन्ट लागेर अचेत भएका दुवै जनालाई स्थानीय अस्पताल पुर्‍याइएको थियो, जहाँ उपचारका क्रममा उनीहरूको मृत्यु भयो। देवानको गए राति करेन्ट लागेको र गरुडाको ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, मुखियाको भने प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाले पुष्टि गरेको छ।

मृतक दुवै जनाको शव प्रादेशिक अस्पताल गौरमा राखिएको छ र घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।