नेप्से परिसूचकमा सामान्य अंकको सुधार, १८ अर्बभन्दा बढीको शेयर किनबेच

बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को बिन्दुमा कायम भएको हो।

काठमाडौँ– साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ। बिहीबार नेप्से परिसूचक ३.७६ अंकले बढेर २९८२.६४ को बिन्दुमा कायम भएको हो।

आज ३२८ कम्पनीको तीन करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर एक लाख ५४ हजार ६४२ पटक खरिदबिक्री हुँदा १८ अर्ब ४९ करोड चार लाख २८ हजार ७९४ रुपैयाँको कारोबार भएको छ। यसअघि बुधबार १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

आजको कारोबारमा सात वटा समूहको उपसूचक घटेको छ भने ६ वटा बढेको छ। बैंकिङ उपसूचक ०.६१, वित्त ०.७६, जीवन बीमा ०.२३ उत्पादन तथा प्रशोधन ०.५८ लघुवित्त ०.२३, निर्जीवन बीमा ०.५७ र अन्य समूहको उपसूचक ०.०९ प्रतिशतले घटेको छ।

सबैभन्दा बढी जलविद्युत् समूहको उपसूचक २ प्रतिशतले बढेको छ। त्यस्तै, विकास बैंक १.०६, होटल तथा पर्यटन ०.४६, लगानी ०.२५, म्युचुअल फन्ड ०.२३, व्यापार समूहको उपसूचक ०.२८ प्रतिशतले बढेको छ।

ग्रिन भेन्चुअरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। त्यसैगरी, ट्रेड टावर, शिवम सिमेन्ट र श्वेत–गंगा हाइड्रो एन्ड कन्स्ट्रक्सनको शेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। आज सबैभन्दा बढी ९.५% मञ्जुश्री फाइनान्स लिमिटेड डिबेन्चर २०८५ को शेयर मूल्य ४.२२ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी राधी विद्युत्को ७७ करोड २१ लाख ४५ हजार २१६ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा ङादी ग्रुपको १६ लाख ५२ हजार ५४६ कित्ता शेयर खरिदबिक्री भएको छ।