संवैधानिक परिषद् विधेयक राष्ट्रपतिबाट प्रतिनिधिसभामा फिर्ता

राष्ट्रपतिले संवैधानिक परिषद् विधेयकका दफाहरूमा संघीय संसदबाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन्।

राष्ट्रपति पौडेलले यो विधेयकका दफाहरूमा संघीय संसद्बाट पुनः गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन आवश्यक रहेको औँल्याएका छन्।

यो संशोधन संविधानको मर्म र भावना, लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले राष्ट्रपतिले यो विधेयक फिर्ता पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए।

नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम बिहीबार विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा सन्देशसहित फिर्ता पठाइएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ।

यो विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष पेश भएको थियो।