रुसको सुदूर पूर्वमा विमान दुर्घटना, सवार सबैको मृत्यु

रुसको सुदूर पूर्वी अमुर क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको एन्टोनोभ–२४ विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको छ।

रुसको सुदूर पूर्वी दुर्गम अमुर क्षेत्रमा बिहीबार करिब ५० जना यात्रु बोकेको एन्टोनोभ–२४ यात्रुबाहक विमान दुर्घटना हुँदा त्यसमा सवार सबैको मृत्यु भएको बताइएको छ। सोभियत संघकालीन ट्विन प्रोपेलर विमान घना जंगलमा खसेको थियो र दुर्घटनास्थलबाट धुवाँको मुस्लो उडेको भिडियो रूसी सञ्चारमाध्यमले सार्वजनिक गरेका छन्।

अंगारा एयरलाइन्सको यो विमान ब्लागोभेश्चेन्स्क शहरबाट टिन्डा शहरतर्फ जाँदै गर्दा स्थानीय समयअनुसार दिउँसो १ बजे राडारसँग सम्पर्कबिच्छेद भएको थियो। एक उद्धार हेलिकप्टरले टिन्डा विमानस्थलबाट करिब १५ किलोमिटर दक्षिणमा रहेको जंगली पहाडको ढलानमा विमानको जलिरहेको भग्नावशेष फेला पारेको थियो।

रूसी ख‍ोजीकर्ताहरूले सार्वजनिक गरेको भिडियोमा दुर्घटनास्थलबाट धुवाँ उडिरहेको र जंगलको भुइँमा छरिएको विमानका टुक्राहरू देखिएको छ। सरकारी समाचार संस्था तासका अनुसार दुर्घटना भएको केही घण्टापछि मात्र खोजी तथा उद्धार टोली घटनास्थल पुगेको थियो, तर त्यहाँ कोही पनि जीवित रहेको कुनै प्रमाण फेला परेको थिएन।

अनुसन्धानकर्ताहरूले दुर्घटनाको कारण भने खुलाएका छैनन्। यद्यपि, अंगारा एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सेर्गेई सलामनोभले रुसको आरईएन टिभी च्यानललाई बताएअनुसार घटनाको समयमा मौसम खराब थियो तर विमानचालक (क्याप्टेन)ले उडान गर्ने निर्णय गरेका थिए।

करिब ३० हजार मानिसको बसोबास रहेको टिन्डा चिनियाँ सीमाबाट करिब २०० किलोमिटर (१२५ माइल) दूरीमा घना ताइगा जंगालमा अवस्थित छ। उक्त विमानमा कम्तीमा एक जना चिनियाँ नागरिक रहेको चीनको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।