पार्टी सदस्यताबाट वञ्चित गर्ने एमालेको निर्णय वैध र परिपक्व हुनै सक्दैन: पूर्वराष्ट्रपति भण्डारी

पूर्वराष्ट्रपति भण्डारीले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताएकी छन्।

काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)ले आफूलाई पार्टी सदस्यताबाट वञ्चित गर्ने गरी गरेका निर्णयहरू ‘अपरिपक्व’ र ‘असंवैधानिक’ भएको आरोप लगाएकी छन्।

उनले ती निर्णयले पार्टीको लोकतान्त्रिक मूल्यमान्यतालाई नजरअन्दाज गरेको र पार्टीको प्रतिष्ठालाई गिराउने बताएकी छन्। शुक्रबार काठमाडौँ पत्रकार सम्मेलन गर्दै भण्डारीले आफ्नो पार्टी सदस्यता नवीकरणको विषयमा विगत केही समयदेखि आमसञ्चारमाध्यममा भइरहेको चासोप्रति आफ्नो ध्यानाकर्षण भएको बताएकी हुन्। 

पत्रकार सम्मेलनपछि जारी विज्ञप्तिमा भण्डारीले राष्ट्रपतिको कार्यकाल सकिएपछि मुलुकको सामाजिक, आर्थिक, राजनीतिक र अन्तर्राष्ट्रिय परिस्थितिबारे अध्ययन तथा चिन्तन-मनन गर्दै आएको बताएकी छन्। पार्टीमा आबद्ध भएर नै अगाडि बढ्ने टुंगोमा पुगेपछि आफूले विधिवत् रूपमा पार्टीको सदस्यता नवीकरण गरेको उनको भनाइ छ।

आफूले यो विषय सार्वजनिक नगरिरहेकै अवस्थामा पार्टी कार्यालय, नेता, कार्यकर्ता र शुभेच्छुकको हवाला दिँदै सञ्चार माध्यमले पार्टी सदस्यता नवीकरणको खबर बाहिर ल्याइएको उनको दाबी छ। यसपछि असार १४ गते मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा आफूले नेकपा एमालेको सदस्यता नवीकरण गरेको सार्वजनिक गरी पार्टी परिवारको सदस्य भएर राजनीतिमा क्रियाशील हुने संकल्प गरेको उनले बताइन्।

एमालेको केन्द्रीय कमिटीसहितका उपल्ला संरचनामा आफ्नो पार्टी सदस्यता नवीकरणको विषयमा छलफल भएको कुरा सञ्चारमाध्यम, पार्टीका नेता तथा कार्यकर्ताका अन्तरवार्ता र सामाजिक सञ्जालबाट थाहा पाएको भण्डारीले बताएकी छन्।

उनका अनुसार पार्टी केन्द्रीय कमिटीको बैठकको अघिल्लो दिन एमालेको केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो। यसअघि पनि पार्टी सदस्यता नवीकरण र पार्टीमा आफ्नो जिम्मेवारीको विषयमा पार्टीका नेताहरूसँग पटक–पटक कुरा हुँदै आएको उनले जानकारी दिइन्।

आफूले पार्टी अध्यक्षसँगको पछिल्लो भेटमा विधिसम्मत ढंगले पार्टी सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्ने विषयमा समेत छलफल गरेको अवस्थामा भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले आफ्नो सदस्यता नवीकरण नगरेको कुरा पार्टीले गरेका निर्णयबारे जारी गरेको विज्ञप्तिबाट थाहा पाएको भण्डारीले उल्लेख गरेकी छिन्। उनले आफ्नो पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने विषय नै नभएको जिकिर गरेकी छिन्।

भण्डारीले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति निर्वाचित भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको बताएकी छन्। उनले कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा वा आशक्ति नरहेको र राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेको पनि स्पष्ट पारेकी छिन्। उनको उद्देश्य पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने तथा राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै रहेको विज्ञप्तिमा उल्लेख छ।

नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकका रूपमा प्रत्याभूति गरेको भण्डारीको भनाइ छ। संविधानका धारा, मर्म र भावना कतैबाट पनि आफू दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था नरहेको उनले दाबी गरेकी छिन्।

भण्डारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “जनताको बहुदलीय जनवादले संवैधानिक सर्वोच्चता र विधिको शासनलाई गहिरोसँग आत्मसात् गरेको सन्दर्भमा यस सिद्धान्तको प्रतिकूल हुने गरी पार्टी सदस्य हुनबाट मलाई वञ्चित गर्नुपर्ने कुनै कारण छैन।”

उनले नेपालको संविधान, ऐन कानून र पार्टीको लोकतान्त्रिक मूल्यमान्यतालाई समेत नजरअन्दाज गरेर राजनीतिमा संलग्न हुन पाउने आफ्नो संवैधानिक अधिकार र स्वतन्त्रतालाई ‘संकुचन वा नियन्त्रण’ हुने गरी गरिएका निर्णयले आफूलाई दुःखी तुल्याएको बताएकी छन्।

भण्डारीले आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए पनि वास्तविकतालाई सधैँ लुकाउन नसकिने स्पष्ट पारेकी छन्। उनले जबजको पार्टी निर्माणसम्बन्धी अवधारणाको मर्मअनुसार सधैँ विस्तृत छलफल गरी विवेकपूर्ण निर्णय लिनुपर्नेमा जोड दिएकी छन्। “पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन,” उनको विज्ञप्तिमा उल्लेख छ।

भण्डारीले आफू राष्ट्रपति हुँदा नै पार्टी सदस्य भएको ३५ वर्ष भइसकेको र अहिले ४५ वर्ष बितिसकेको उल्लेख गर्दै पार्टीप्रतिको आस्था र विचार, सिद्धान्त एवं नीतिहरूप्रति प्रतिबद्ध हुँदाहुँदै आफूलाई पार्टी सदस्य हुनबाट वञ्चित गर्न नमिल्ने तर्क गरेकी छिन्। पार्टी बनाउन आफूसहित हजारौँ नेता, कार्यकर्ता र सदस्यको रगत, पसिना र मिहिनेत लागेको उनले बताएकी छिन्। उनले देशभरका सबै एमालेपंक्तिलाई जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न आग्रह गरेकी छन्।