सुर्खेतमा करेन्ट लागेर दम्पतीको मृत्यु

विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

वीरेन्द्रनगर– सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। आफ्नै घरमा विद्युतीय मेसिनमार्फत घाँस काटिरहेका बेला करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय धनीराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्याय रहेका छन्।

शुक्रबार बिहान घाइते भएका दुवैलाई तत्काल उपचारका लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेत पठाइएको थियो। करेन्ट लागेर घाइते भएका उनीहरू दुवैको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डीएसपी) मोहनजंग बुढथापाले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर यो दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।