थाइल्यान्डसँग जारी द्वन्द्वका बीच कम्बोडियाद्वारा युद्धविरामको माग

यसअघि थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्शल ल घोषणा गरेको थियो।

काठमाडाैँ– थाइल्यान्डसँग जारी द्वन्द्वका बीच कम्बोडियाले तत्काल युद्धविरामको माग गरेको छ। दुई देशबीच दुई दिनदेखि सीमापार द्वन्द्व भइरहेको छ, जसमा १६ जनाको मृत्यु र केही घाइते भएका छन्।

संयुक्त राष्ट्रसंघका लागि कम्बोडियाका राजदूत छिया केओले आफ्नो देशले कुनै पनि शर्तबिना द्वन्द्व अन्त्यको माग गरेको बताएका छन्। साथै, उनले यस विवादको शान्तिपूर्ण समाधान चाहेको पनि बताए। यद्यपि, थाइल्यान्डले कम्बोडियाको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन।

यसअघि थाइल्यान्डले कम्बोडियासँग सीमा जोडिएका आठ जिल्लामा मार्शल ल घोषणा गरेको थियो। बिहीबारदेखि दुई देशबीचको झडप शुरू भएदेखि १० हजारभन्दा बढी मानिसहरूले आफ्नो घर छोड्न बाध्य भएका छन्।

थाइल्यान्ड र कम्बोडियाले एकअर्कामाथि पहिले गोलीबारी गरेको आरोप लगाइरहेका छन्।