गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ।

काठमाडाैँ– नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उनको आज बिहान ८ बजे आफ्नै निवासमा निधन भएको हो।

नेपाली कांग्रेस चितवनका पूर्वसभापति समेत रहेका गुरुङ विसंं २०७८ साउन १२ गते  गण्डकी प्रदेश प्रमुखमा नियुक्त भएका थिए। भरतपुर महानगरपालिका–२६ निवासी गुरुङले नवलपरासीको भूमि आयोगको अध्यक्ष भएर समेत काम गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले जानकारी दिए।

विसं २००६ मा कास्कीको माछापुच्छ्रे गाउँपालिका ल्वाङघलेलमा जन्मिएका गुरुङ चितवन बसाइँसराइ गरी आएका हुन्। नेपाली कांग्रेस विभाजन हुँदा उनी प्रजातान्त्रिक कांग्रेसको जिल्ला सभापति थिए। विसं २०४६ को जनआन्दोलन परिचालन समितिको सदस्य हुँदै कांग्रेसको विभिन्न पदमा रहेर काम गरे।

गुरुङका छोरा विदेशमा रहेकाले आइतबार अन्त्येष्टि गरिने परिवार स्रोतले जनाएको छ। उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने कान्छा छोरा र श्रीमती रहेका छन्।