काभ्रेमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु, ५ घाइते

काभ्रेमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुखसहित अन्य केही व्यक्ति घाइते भएका छन्।

काभ्रेपलान्चोक– काभ्रेमा भएका दुई छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ भने अन्य केही घाइते भएका छन्। एक जनालाई खोलामा आएको बाढीले बगाएर मृत्यु भएको हो भने अर्कीको मोटरसाइकल दुर्घटनामा ज्यान गएको छ।

धान खेतमा पानी बगाउने क्रममा झिकु खोलामा आएको बाढीले बगाउँदा तेमाल गाउँपालिका–१ अमलटारीका गगनबहादुर भण्डारीको मृत्यु भएको छ। शुक्रबार राति करिब नौ बजे झिगुखोलाले बगाएर बेपत्ता भएका ५५ वर्षीय भण्डारीको शव शनिबार सुनकोशी नदीमा भेटिएको हो।

भण्डारीलाई बगाएको खबर आएपछि स्थानीय, प्रहरी र खोज तथा उद्धार टोलीले रातभर उनको खोजी गरिए पनि मध्याह्न शव फेला परेको हो। झिगुखोला पाँचखाल हुँदै सुनकोशी नदीमा मिसिने भएकाले खोजी कार्य जटिल भएको पाँचखाल प्रहरीले जानकारी दिएको छ।

काभ्रेपलान्चोकको पनौती नपा–३ बगुवास्थित कुशादेवीबाट आशापुरी मन्दिरतर्फ जाँदै गरेको बा ६२ प ६६१० नम्बरको मोटरसाइकल आज अनियन्त्रित भई सडकबाट अन्दाजी ६ मिटर तल खस्दा मोटरसाइकलमा सवार गम्भीर घाइते ३२ वर्षीया सुजना खत्रीको उपचारका क्रममा मृत्यु भएको छ। 

करिब ११ बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक मृतकका श्रीमान् पनौती–५ का विजय थापा र छोरा पाँच वर्षीय बीएन्स सामान्य घाइते भएको र उनीहरूको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, नमोबुद्ध नगरपालिकाका पूर्वनगरप्रमुख टंकप्रसाद तिमल्सिना पनि शनिबार बिहान स्कुटर दुर्घटनामा परी गम्भीर घाइते भएका छन्। बीपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ स्थित बीस किलो भन्ने स्थानमा तिमल्सिना सवार बा प्र ०३–०२–००७ प ८८०० नम्बरको स्कुटरलाई बा ६२ प ३५७८ नम्बरको अर्को स्कुटरले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका हुन्। स्कुटरको पछाडि बसेका तिमल्सिनाको टाउकोमा गम्भीर चोट लागेकाले धुलिखेल अस्पतालमा शल्यक्रियासहितको उपचार भइरहेको छ।

तिमल्सिना सवार स्कुटर चालक तथा उनकै छोरा किशोर सामान्य घाइते भए‍को जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ। ठक्कर दिने स्कुटर चालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भई हाल काभ्रेपलान्चोकको रोशी गाउँपालिका–८ बस्ने २६ वर्षीय निमा तेम्बा थोकर पनि सामान्य घाइते भई मेथिनकोट अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।