चितवनमा आइतबार ६ घण्टा विद्युत् कटौती

नेपाल विद्युत् प्राधिकरण, भरतपुर वितरण केन्द्रले आइतबार विभिन्न फिडरहरूमा विद्युत् कटौती (लोडसेडिङ) गर्ने तालिका सार्वजनिक गरेको छ।

चितवन– नेपाल विद्युत् प्राधिकरणको भरतपुर वितरण केन्द्रले विभिन्न फिडरहरूमा आइतबार तालिका बनाएरै विद्युत् कटौती (लोडसेडिङ) गर्ने घोषणा गरेको छ।

अत्यधिक गर्मी र खडेरीका कारण सिँचाइको लोड बढेर विद्युत् माग थेग्नै नसक्ने अवस्थामा पुगेपछि दैनिक बिहान र बेलुका गरेर ६ घण्टासम्म विद्युत् आपूर्ति बन्द गर्नेगरी केन्द्रले तालिका सार्वजनिक गरेको हो।

वितरण केन्द्रद्वारा जारी एक सूचनाअनुसार, हाल सञ्चालनमा रहेको प्रसारण लाइनको तार (कन्डक्टर) २०० एम्पियरभन्दा बढी विद्युत् प्रवाह गर्न नसक्ने क्षमताको छ। माग बढेसँगै केही दिनदेखि लोड व्यवस्थापनमा समस्या आइरहेको थियो।

समस्या समाधानका लागि अघिल्लो आर्थिक वर्षदेखि नै नयाँ ३३ केभी प्रसारण लाइन निर्माणको काम भइरहेको भए पनि हालको अत्यधिक मागलाई धान्न नसकिएपछि बाध्य भएर विद्युत् आपूर्ति बन्द गर्नुपरेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार नारायणी–माडी फिडरमा बिहान ६–९ बजेसम्म र बेलुका ३–६ बजेसम्म विद्युत् अवरुद्ध हुने छ। त्यसैगरी, मेघौली–विजयनगर–शुक्रनगर फिडरमा बिहान ९–१२ र बेलुका ६–९ बजेसम्म, जगतपुर–रामपुर फिडरमा दिउँसो १२–३ र राति ९–१२ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुने छ। केन्द्रले लोड व्यवस्थापन हुँदै जाँदा समयअगावै लाइन सुचारु हुन सक्ने पनि बताएको छ।

null