नेप्से परिसूचक १८ अंकले घट्दा साढे २६ अर्बको कारोबार

आइतबार नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० मा पुगे पनि २६ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भयो, जुन पछिल्लो ११ महिनाकै उच्च हो।

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको गिरावट देखिँदा कारोबार रकम भने साढे २६ अर्ब नाँघेको छ। नेप्से परिसूचक १८.४४ अंकले घटेर २९६४.२० को बिन्दुमा कायम भएको हो।

आज ३२३ कम्पनीको पाँच करोड ८६ लाख ५३ हजार ७६२ कित्ता शेयर दुई लाख तीन हजार ६५८ पटक खरिदबिक्री हुँदा २६ अर्ब ५७ करोड ७४ लाख ३८ हजार २३७ रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबार रकम पछिल्लो करिब ११ महिनाकै उच्च हो।

विकास बैंक समूह १.२३, उत्पादन तथा प्रशोधन १.०८, म्युचुअल फन्ड ०.३९ र व्यापार समूह १.४४ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।
बैंकिङ ०.७१, वित्त १.९९, होटल तथा पर्यटन १.७९, जलविद्युत् १.०९, लगानी १.६६, जीवन बीमा १.३५, निर्जीवन बीमा ०.६७ र अन्य समूह ०.८६ प्रतिशतले घटेको छ।
आजको कारोबारमा समता घरेलु लघुवित्त वित्तीय र ट्रेड टावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी नारायणी डेभलपमेन्ट बैंकको शेयर मूल्य ६.३४ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको एक अर्ब दुई करोड तीन लाख ३५ हजार ९२३ रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा सबैभन्दा बढी लक्ष्मी सनराइज बैंक प्रमोटरको शेयर २१ लाख २० हजार ९१२ कित्ता किनबेच भएको छ।