एनपीएल छानबिन प्रतिवेदन: राखेपको राय खोज्दै मन्त्री, सदस्यसचिवको बेवास्ता

खेलकुदमन्त्रीले राखेपसँग एनपीएल छानबिन प्रतिवेदनउपर राय मागेका छन्। तर सदस्यसचिवले राय दिनुको साटो मन्त्रालयको पत्र आफ्नै कार्यकक्षमा थन्काइदिएका छन्।

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल)मा भएको अनियमितताको छानबिन प्रक्रियामा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले असहयोग गरेको आरोप लागेको छ।

एनपीएलमा अनियमितताका सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले नेपाल क्रिकेट संघ (क्यान)को ‘पूर्ण असहयोग’का कारण निष्कर्षमा पुग्न नसकेको र थप छानबिन आवश्यक रहेको औँल्याएपछि युवा तथा खेलकुद मन्त्रालयले राखेपलाई राय माग्दै पत्र पठाएको थियो। तर, पत्र पठाएको एक साता बितिसक्दा पनि सदस्यसचिव घिसिङले जवाफ पठाएका छैनन्।

राखेपद्वारा गठित कार्यदलले असार २७ गते खेलकुदमन्त्री तेजुलाल चौधरीलाई प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा क्यानका पदाधिकारीले छानबिन प्रक्रियालाई प्रभावित पार्न खोजेको र आवश्यक कागजात उपलब्ध नगराएको उल्लेख गर्दै एनपीएलसँग सम्बन्धित विषयमा थप गहन अनुसन्धान गर्न सिफारिस गरिएको थियो।

सोही सन्दर्भमा खेलकुदमन्त्री चौधरीले राखेपलाई उक्त प्रतिवेदनउपर सदस्यसचिव घिसिङको राय मागेका थिए। तर, सदस्यसचिवले प्रतिवेदनउपर राय दिनुको साटो मन्त्रालयको पत्रलाई आफ्नै कार्यकक्षमा थन्काएको आरोप छ।

सदस्यसचिव घिसिङ भने मन्त्रालयको पत्र आन्तरिक र प्रशासनिक कुरा भएको भन्दै आफू यो विषयमा केही नबोल्ने बताए। “आन्तरिक र प्रशासनिक विषय भएको हुनाले सम्बन्धित निकायले सोधे भने मात्रै भन्छौँ,” उनले भने।

यो पनि – एनपीएल अनियमितताको ‘हिसाब मिलाउन’ मन्त्री र राखेप सदस्यसचिवलाई विदेश भ्रमण

यता, खेलकुदमन्त्री चौधरी भने राखेप सदस्यसचिव घिसिङ पूर्वाग्राही भएर एनपीएल अनियमितताको छानबिन गर्न नचाहेको बताउँछन्।

“एनपीएलमा राखेपले दिनुपर्ने सबै स्वीकृति उहाँले नै दिएको बुझिएको हुनाले राय मागिएको हो। तर आज पनि फलोअप गर्दा उहाँको चाँसो देखिएन,” मन्त्री चौधरीले उकालोसँग भने, “यसैबाट बुझिन्छ, ‘दालमे कुछ काला हे’। अनियमिततामा उहाँको पनि प्रत्यक्ष संलग्नता छ।”

राखेपले राय नपठाए अध्यक्षको हैसियतले आफै नै राय लेख्ने मन्त्री चौधरीको भनाइ छ। “के गर्ने त? म आफैले लेख्नुपर्ला अब,” उनी भन्छन्, “थप छानबिन गरिदिन अख्तियारलाई चाँडै नै पत्र लेख्छौँ।”