चितवनमा कहिले होला विद्युत‍्को समस्या समाधान?

पश्चिम चितवनको चनौली सबस्टेसनमा विद्युत् भार बढेपछि आलोपालो प्रणालीमार्फत व्यवस्थापन थालिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।

चितवन– रोपाइँको याममा खडेरी परेपछि मोटरबाट पानी तान्ने, गर्मीका कारण एयर कन्डिसन, पंखालगायत विद्युतीय सामग्रीको उपभोग अत्यधिक बढ्दा चितवनमा विद्युत् भार व्यवस्थापन गर्न कठिन भएको छ।

मुख्य गरी पश्चिम चितवनको चनौली सबस्टेसनमार्फत वितरण गरिएको विद्युत्मा बढी भार परेको हो। विद्युत् भार बढेसँगै नेपाल विद्युत् प्राधिकरणले व्यवस्थापनका लागि केही दिन आलोपालो विद्युत् मिलाएर भार व्यवस्थापनको काम थालेको छ।

नेपाल विद्युत् प्राधिकरण बागमती प्रदेश डिभिजन कार्यालयका प्रमुख जीतेन्द्रकुमार झाका अनुसार प्राविधिक काम भइरहेकाले साउन १५ गतेभित्र काम सम्पन्न गरी भारको समस्या समाधान हुने छ।

डिभिजन प्रमुख झाले पूर्वी चितवनको हर्दीमा रहेको २४ मेगावाट विद्युत् जडानको काम सोमबारसम्म सकिने जानकारी दिए। विद्युतको समस्या भरतपुर र माडीमा मात्रै नभएर पूर्वी चितवनका टाँडी, पर्सा भण्डारा लगायतका क्षेत्रमा रहेको उनले बताए। हर्दी स्टेसन चलेपछि चितवनका विभिन्न क्षेत्रमा देखिएको समस्याको धेरै समाधान हुने उनले जानकारी दिए।

“हामी हर्दी स्टेसनबाट विद्युत् दिएर भरतपुर, पर्साको लोड घटाउने र हर्दीबाट भरतपुरको  देवनगर सबस्टेसनमा विद्युत् पठाउने काममा लागि रहेका छौँ,” उनले भने। देवनगर स्टेसन ३३ केभिएबाट सिधैँ जगतपुरमा लाइन सप्लाइ गरेर अहिले भइरहेको चनौलीको लोडलाई कम गराउने उनले बताए।

यो तत्कालीन समस्या समाधान गरेर दीर्घकालीन रूपमा भरतपुर–चैनपुर ३३ केभिएको काम सम्पन्न गरेर समाधान गरिने झाले बताए। सो आयोजनाको ८० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै उनले ६ महिनाभित्रमा काम सम्पन्न भएर दीर्घकालीन समाधान हुने बताए।

“हामीले लोडसेडिङ गरेका होइनौँ, केही दिनका लागि लोड व्यवस्थापन र लाइन विस्तारका लागि आलोपालो मिलाएका हौँ,” उनले भने। 

तार तान्ने र मर्मतको काम भइरहेको भन्दै प्रमुख झाले अन्य विपत्ति नआएमा साउन १५ गतेबाट जिल्लाको विद्युत्को समस्या समाधान हुने बताए।

शनिबार नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा आलोपालो विद्युत् तालिका सार्वजनिक गरेपछि चौतर्फी आलोचना भएको छ। ‘लोडसेडिङको तालिका सार्वजनिक गरेको’ भन्दै सर्वसाधारणले विरोध जनाएका छन्।