गोसाइँकुण्डमा डुबेर २ जना बेपत्ता, खोज गर्न सुरक्षाकर्मी परिचालन

गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएकाहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ।

गोसाइँकुण्डमा डुबेर २ जना बेपत्ता, खोज गर्न सुरक्षाकर्मी परिचालन
फाइल तस्वीर

रसुवा– गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर दुई जना बेपत्ता भएका छन्। उनीहरूको खोजीका लागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन भएको छ।

सशस्त्र प्रहरीका सह–प्रवक्ता एवं सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार, मोरङका मनोज न्यौपाने र सुजन ढकाल आइतबार दिउँसो गोसाइँकुण्डमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

घटनाबारे जानकारी पाएलगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. २० गुल्म रसुवाबाट सशस्त्र प्रहरी नायब निरीक्षक मोहवीर नगालको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौजका साथै अन्य सुरक्षा निकायका टोली संयुक्त रूपमा बेपत्ताहरूको खोजीकार्यका लागि परिचालन भएको उनले बताए।