बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भइरहेको छ।

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहँदा काठमाडौँ उपत्यकासहित आसपासका भूभागमा वर्षा भइरहेको छ। साथै मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानमा तथा तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

विभागका अनुसार आज राति देशभर साधारणतया बदली रहनेछ। गण्डकीलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।