स्वर्णदेशः रंगमञ्चमा ‘डंकी रुट’

जति परिस्थिति असहज हुँदै जान्छ, त्यति सहयात्रीहरूमा आपसी विश्वास र सहयोग भंग हुँदै जान्छ। फेरि एक अर्कालाई भरोसा गर्नुको विकल्प पनि हुँदैन। नयाँ यात्री जोडिन्छन्। आफ्नै साथी छुट्न्छन्।

कयौँ लिखित दस्तावेज र विज्ञहरूको प्रवचनले बुझाउन नसक्ने कठोर यथार्थलाई एउटा ८० मिनेटको नाटकले सजिलै र गहिरो अनुभूतिसहित अवगत गराइदिएको छ। नाटक ‘स्वर्णदेश’ले नेपालीहरू अमेरिका पुग्ने सपना पूरा गर्न कसरी जीवनलाई दाउमा राखेर कठिन यात्रामा निस्किन्छन् भन्ने अवस्थालाई दर्शाएको छ।

थापागाउँस्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटकको लेखन सरिता कठायतले र निर्देशन आकाश नेपालीले गरेका छन्। नाटकको कथाले ‘डंकी रुट’ भनिने तल्लो बाटो अमेरिका जानेको यथार्थलाई समेटेको छ। नदी, दलदल र विकट पहाडहरू पार गर्दै, खतरनाक वन्यजन्तुको जोखिमको सामना गर्दै हिँड्नुपर्ने अवस्थालाई रंगमञ्चमा उतारिएको छ।

यो अवैध यात्रामा समुद्र छिचोल्नु पर्ने ठूलो जोखिम छ। बाटोमा नदी र समुद्रजस्ता विशाल जलराशि हुँदाहुँदै पिउने पानीको लागि भने तड्पिनु पर्छ। जब भोकले प्राणमाथि हमला बोल्न थाल्छ, तब घरको खानाको असीम महत्त्व उजागर भएर आउँछ।

बाटोमा अनेकथरी एजेन्टले पैसा असुल्छन्। विदेशको यात्रामा चाहिने पासपोर्ट यहाँ चाहिँदैन, चाहिन्छ केवल दुस्साहस। 

थकाइ, चोटपटक र बिरामले अघि बढ्न कठिन भइरहेको बेला भोक र प्यासले तड्पाउँछ। अनि त्यही समय अचानक आइलागेका लुटेराको समूहले लुटमार शुरू गरे भने अवस्था कस्तो होला? नाटक स्वर्णदेशले यही विषय देखाउँछ।

null

जति परिस्थिति असहज हुँदै जान्छ, त्यति सहयात्रीहरूमा आपसी विश्वास र सहयोग भंग हुँदै जान्छ। फेरि एक अर्कालाई भरोसा गर्नुको विकल्प पनि हुँदैन। नयाँ यात्री जोडिन्छन्। आफ्नै साथी छुट्छन्।

सघाउन आउने एजेन्टको भर पर्ने बाध्यता र यस्तो यात्राका लागि खर्च गर्नुपर्ने भारी धनराशिको हिसाब पनि नाटकले बुझाएको छ। यात्रामा बलात्कारको जोखिम मात्र हुँदैन, मृत्युको सामना पनि हुन्छ। स्वर्णदेशको सपनाको मूल्य यसरी प्रष्टिन्छ।

आफ्नै सहयात्रीको शव अनकन्टारमा छोडेर अघि बढ्नु जब निर्विकल्प हुन्छ, तब स्वर्णदेश पुग्ने सपना पनि फिक्का लाग्न थाल्छ। एउटा उन्नत जीवनको परिकल्पना र ऋणको भारी एकसाथ बोकेर हिँड्ने नेपाली मात्र होइन, अन्य देशबाट अवैध बाटो अमेरिका हिँडेका आप्रवासीहरूको साझा पीडा छ यसमा।

“देशमा पाइरहेको दुःख, अवसरको अभाव र बाध्यताको कथा बोकेर धेरै नेपाली विदेशी सपनाको पछि लाग्छन्। सुन्दर भविष्यको खोजीमा र गैरकानूनी रूपमा हिँडिरहेकाहरूको संवेदनशील कथामा आधारित नाटक हो स्वर्णदेश,” कलाकार सरिता साहले नाटक हेरेपछि प्रतिक्रिया दिइन्।

null

यति गम्भीर विषयलाई प्रस्तुत गरेको नाटकको प्रस्तुति पनि गम्भीर संवाद र दृश्यहरूले भरिएको हुनसक्ने लाग्ला। तर त्यस्तो एकदमै छैन। दृश्य र संवादमा जोडिएर आउने हाँस्यले बेलाबेला कुत्कुती लगाइरहन्छ। भावनात्मक गहिराइ, प्रेम र आपसी स्नेह अनि सम्बन्धको प्रतिबिम्बहरू नाटकमा छन्। मानवताको बोध पनि छ। 

नाटकको कथा सम्वादमाथि मात्र कथा निर्भर छैन, पात्रहरूको मुहारको अभिव्यक्ति र शरीरको भाषा पनि त्यतिकै सशक्त छ। प्रकाशलाई उज्यालोका लागि मात्र प्रयोग नगरेर अँध्यारोमाथि पनि कथा डोर्याउने जिम्मेवारी दिइएको छ। ध्वनिले संगीतलाई मात्र नभई मौनतालाई पनि साथ दिएको छ। 

नाटकले दर्शकलाई कुर्सीमा र तीनको आँखा, कान र चेतनालाई मञ्चमा बाँधेर राख्न समर्थ भएको छ। पहिलो निर्देशनमै सफल हुन आकाशलाई नाटकका कलाकारहरूको बेजोड अभिनयले सघाएको छ। त्यसैगरी, मल्टिमिडियाको प्रयोगले नाटकको दृश्यमा देखाइएका ठाउँ, समय र परिस्थितिलाई व्यक्त गर्न सघाएको छ।

नाटकमा कमजोरी हुँदै नभएका भने होइनन्। एकाध दृश्यमा समय व्यवस्थापनको पाटोमा थप ध्यान दिनुपर्ने देखिन्छ। विभिन्न देशको सीमाका सुरक्षाकर्मीहरूको पाटो अलिक समेट्न सकेको भए नाटक थप रोचक हुने थियो। यद्यपि, दर्शकले कथाको लयमा बग्दै गर्दा यी विषयमा ध्यान नपुग्न सक्छ। 

नाटकमा सुजन खतिवडा, सुज्यान सिलवाल, सन्तोष गिरी, भूपि लुहार, जर्निको ‘निक’ कल्मर, अनिल कुर्मी, उज्वल बान्तवा राई, सन्देश कार्की, चिराग पनेरू, परितोषिका पन्त, आरति गौतम र आदित्य मिश्रको अभिनय छ। नाटक सोमबारबाहेक साउन २५ सम्म प्रत्येक दिन बेलुका ६ः४५ बजेदेखि र शनिबार दिउँसो ३ः३० बजे मञ्चन हुनेछ।